नेभिगेशन
मनोरञ्जन

जेम्स बोन्डको नयाँ अवतारमा प्याटिन्सन

बेलायतको गुप्तचर संस्था एमआई–६ का चर्चित जासुस जेम्स बोन्डको भूमिका अब हलिउड अभिनेता रोबर्ट प्याटिन्सनले निर्वाह गर्ने भएका छन् । अमेजनले फिल्म शृङ्खलाको स्वामित्व लिएपछि पहिलोपटक छनोट गरिएको नयाँ जेम्स बोन्डका रूपमा प्याटिन्सनले अभिनय गर्ने भएका हुन् । एक दशकभन्दा लामो समयदेखि चलिरहेको नयाँ बोन्डको खोजी पनि यससँगै टुंगिएको छ ।
निर्देशक डेनिस भिलेन्युभको निर्देशनमा बन्न लागेको जेम्स बोन्ड शृङ्खलाको २६औं आधिकारिक फिल्मबाट प्याटिन्सन एजेन्ट ००७ का रूपमा पर्दामा देखिनेछन् । ‘ड्युन’ फिल्मका निर्देशक भिलेन्युभले नयाँ बोन्डको जिम्मेवारी पाएका हुन् ।
प्याटिन्सनलाई नयाँ जेम्स बोन्डका रूपमा छनोट गरिएको जानकारी इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको थियो । भूमिका पाएकोमा प्रतिक्रिया दिँदै प्याटिन्सनले यसलाई जीवनकै सबैभन्दा ठूलो सम्मान भनेका छन् । उनले भनेका छन्, ‘यो भूमिका पाउनु सपना साकार भएसरह हो भन्नु पनि कम हुन्छ ।’
४० वर्षीय प्याटिन्सन ‘ट्वाइलाइट’ फिल्म शृङ्खलामा देखिएपछि चर्चामा आएका थिए । उनको दोस्रो ‘ब्याटम्यान’ फिल्म पनि निर्माणको क्रममा छ । जेम्स बोन्डको भूमिकामा उनको छनोटले विश्वकै चर्चित चलचित्र पात्रमध्ये एकलाई अमेजन एमजीएम स्टुडियोले कसरी नयाँ स्वरूप दिन खोजिरहेको छ भन्ने स्पष्ट संकेत गरेको छ ।
यसअघि जेम्स बोन्डको भूमिका प्रायः त्यति धेरै चर्चित नभएका अभिनेताले पाउँदै आएका थिए । तर प्याटिन्सन स्थापित स्टार हुन् । उनको छनोटले बोन्ड फिल्ममा उनका पहिलेदेखिका प्रशंसकलाई आकर्षित गर्न सक्नेछ । साथै, ठूला चलचित्र शृङ्खलामा काम गर्दा पर्दाभित्र र बाहिर दुवैतर्फ आउने दबाब सामना गरेको अनुभव पनि उनीसँग छ ।
‘ब्याटम्यान’ जस्तो ठूलो चलचित्र शृङ्खलाको मुख्य भूमिकामा अभिनय गरिसकेको कलाकारलाई जेम्स बोन्डको भूमिकासमेत दिनु असामान्य मानिन्छ । यसअघि निर्माताहरूले जेम्स बोन्डका रूपमा छनोट हुने कलाकारलाई मुख्यतः यही पात्रसँग जोडिएको पहिचान दिलाउने रणनीति अपनाउँदै आएका थिए ।
सन् २०२२ मा अमेजनले ६ अर्ब ५० करोड अमेरिकी डलरमा एमजीएम स्टुडियो खरिद गरेपछि बनेको अमेजन एमजीएम स्टुडियोलाई नयाँ युगअनुसार अन्तर्राष्ट्रिय जासुस जेम्स बोन्डलाई पुनः पर्दामा स्थापित गर्नुपर्ने चुनौती छ । ६० वर्षभन्दा बढी समयदेखि यस फिल्म शृङ्खलाको नियन्त्रण गर्दै आएको निर्माता परिवारसँगको विवादका कारण नयाँ फिल्म निर्माणको प्रक्रिया नै लामो समय रोकिएको थियो । बोन्डको भविष्यबारे भएको गतिरोधले यो पात्र पर्दामा नदेखिएको अवधिलाई अहिलेसम्मकै लामो बनाएको थियो ।
यसअघि बोन्ड बनेका ड्यानियल क्रेगको स्थान कसले लिने भन्ने बहस अहिले सुरु भएको होइन । एक दशकभन्दा अघिदेखि नै विभिन्न कलाकारको नाम चर्चामा आउने गरेको थियो । त्यतिबेला इद्रिस एल्बाको नामसमेत सम्भावित बोन्डका रूपमा चर्चामा आएको थियो । उनी बोन्ड बनेमा पहिलो अश्वेत अभिनेता यो भूमिकामा देखिने सम्भावना थियो । यद्यपि, एल्बाले फिल्म शृङ्खलाका निर्मातासँग यस भूमिकाबारे छलफल भएको कुरा मात्र स्वीकार गर्दै आएका थिए ।
कलाकार छनोटको विषय यस फिल्म शृंखलाले लामो समयदेखि भोगिरहेको अन्योलको अन्तिम ठूलो अवरोध थियो । अमेजनले ६ अर्ब ५० करोड डलरमा मेट्रो–गोल्डविन–मेयर (एमजीएम) कम्पनी खरिद गर्दा जेम्स बोन्डलाई स्टुडियोको सबैभन्दा मूल्यवान सम्पत्तिका रूपमा पाएको थियो । तर त्यसपछि कम्पनीका चलचित्रसम्बन्धी अधिकारीहरू र जेम्स बोन्डमाथि निर्णय गर्ने अधिकार कायमै राखेको निर्माता परिवारबीच नयाँ फिल्म कहिले र कसरी अघि बढाउने भन्ने विषयमा मतभेद उत्पन्न भयो ।
निर्माता बारबरा ब्रोकोली र उनका सौतेनी भाइ माइकल विल्सनले तीन दशकदेखि जेम्स बोन्ड फिल्म शृङ्खलाको नेतृत्व गर्दै आएका थिए । उनीहरूले बारबराका पिता अल्बर्ट ‘कबी’ ब्रोकोलीबाट यसको नियन्त्रण प्राप्त गरेका थिए । कबी ब्रोकोलीको इयोन प्रोडक्सन्सले सन् १९६२ मा ‘डा.नो’ फिल्ममार्फत पहिलोपटक जेम्स बोन्डलाई ठूलो पर्दामा ल्याएको थियो ।
सन् १९९५ मा ‘गोल्डेनआई’ मार्फत पियर्स ब्रोसनन जेम्स बोन्ड बनेदेखि नै बारबरा ब्रोकोलीले यस फिल्म शृङ्खलाको नेतृत्व गर्दै आएकी थिइन् । तर, अमेजनसँग जेम्स बोन्डजस्तो प्रतिष्ठित पात्रलाई अघि बढाउने पर्याप्त क्षमता छ कि छैन भन्नेमा उनी विश्वस्त थिइनन् । 
प्याटिन्सन जेम्स बोन्डका सर्जक लेखक इयान फ्लेमिङले सिर्जना गरेको यो पात्रको भूमिका निर्वाह गर्ने सातौं आधिकारिक अभिनेता हुन् । सन् १९६२ मा सीन कोनेरीबाट सुरु भएको यो भूमिकामा उनले ड्यानियल क्रेगको स्थान लिनेछन् । क्रेगले पाँचवटा फिल्ममा बोन्डको भूमिका निर्वाह गरेका थिए । सन् २०२१ मा प्रदर्शन भएको ‘नो टाइम टु डाइ’मा उनको पात्रको मृत्यु भएपछि क्रेगको बोन्ड यात्रा समाप्त भएको थियो ।
लन्डनमा जन्मिएका प्याटिन्सनले अहिलेसम्म निर्वाह गरेका सबैभन्दा चर्चित पात्रमध्ये अधिकांश अमेरिकी थिए । अब भने उनले विश्वभरका दर्शकले आफ्नो ठानेको तर बेलायती पहिचानसँग गहिरो रूपमा जोडिएको प्रतिष्ठित पात्रलाई जीवन्त बनाउनुपर्नेछ । नयाँ जेम्स बोन्डको खोजी लामो समयसम्म चलेको स्वीकार गर्दै निर्देशक भिलेन्युभले भनेका छन्, ‘हामी असाधारण प्रतिभा भएका कलाकारहरूको बीचमा थियौं, तर ००७ भने एउटै मात्र हुन सक्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्