काठमाडौं । नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको बजार विस्तार, स्टार्टअप प्रवर्द्धन र अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारीलाई प्राथमिकता दिँदै शनिबारदेखि ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरिरहेका छन्। एक्स्पोको पहिलो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।
‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना गरिएको दुईदिने एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा, व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधिलगायतका क्षेत्रमा काम गरिरहेका कम्पनी सहभागी छन्।
यस वर्षको एक्स्पोमा पहिलोपटक स्टार्टअप प्याभिलियनसमेत समावेश गरिएको छ। युरोपेली संघको सहयोगमा स्थापना गरिएको उक्त प्याभिलियनमा नयाँ तथा प्रारम्भिक चरणका प्रविधि कम्पनीले आफ्ना नवीन उत्पादन, विचार र प्रविधिमा आधारित समाधान प्रदर्शन गरिरहेका छन्। यसले स्थापित कम्पनीसँगै नयाँ उद्यमीलाई पनि सम्भावित ग्राहक, लगानीकर्ता तथा व्यावसायिक साझेदारसमक्ष पुग्ने अवसर प्रदान गरेको छ।
नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि उद्योगमा आबद्ध कम्पनीका साझा समस्या समाधान, अवसरको पहिचान र बजार विस्तार गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए। करिब चार वर्षअघि स्थापना भएको नास–आईटीले नीतिगत सुधार, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र नेपाली प्रविधि कम्पनीको क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको उनले जानकारी दिए।
‘नेपाली सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीहरूले भोगिरहेका साझा चुनौती समाधान गर्ने र यस क्षेत्रमा रहेका अवसर पहिचान गरी उपयोग गर्ने उद्देश्यले नास–आईटी स्थापना गरेका हौँ। स्थापनाकालदेखि नै हामीले आईटी उद्योगलाई प्रभाव पार्ने नीतिगत विषयमा काम गर्दै आएका छौँ। त्यससँगै नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि स्विट्जरल्यान्ड, बेलायत, अमेरिका र अस्ट्रेलियालगायतका देशमा विभिन्न प्रवर्द्धनात्मक गतिविधि पनि सञ्चालन गरेका छौँ,’ उनले भने।
उनका अनुसार पछिल्लो समय सरकारी तथा निजी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ। यस्तो अवस्थामा नेपालमै विकास भएका सफ्टवेयर, प्रविधिजन्य उत्पादन तथा आईटी सेवाको प्रयोग र बजार विस्तार गर्न आवश्यक छ। त्यसका लागि उत्पादक कम्पनी र सम्भावित ग्राहकलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले गत वर्ष पहिलोपटक नास–आईटी एक्स्पो आयोजना गरिएको थियो।
पहिलो संस्करणमा प्रविधि कम्पनीका उत्पादन तथा सेवा र तिनको प्रयोग गर्न सक्ने सम्भावित ग्राहकबीच प्रत्यक्ष अन्तरक्रियाको अवसर सिर्जना गरिएको थियो। पहिलो संस्करणमा प्राप्त उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियापछि यस वर्ष दोस्रो संस्करण आयोजना गरिएको चापागाईंले बताए।
यस वर्षको एक्स्पोले पनि नेपाली प्रविधि कम्पनीलाई आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर दिनुका साथै बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, कर्पोरेट क्षेत्र, लगानीकर्ता र सम्भावित व्यावसायिक साझेदारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष चापागाईंले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले पछिल्ला वर्षमा अघि बढाएका नीतिगत सुधारलाई सकारात्मक रूपमा लिएको बताए। तर, नेपाली प्रविधि कम्पनीको विकास र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन आगामी दिनमा पनि थप उद्योगमैत्री नीति आवश्यक रहेको उनको भनाइ छ।
‘पछिल्लो दुई वर्षमा सूचना प्रविधि क्षेत्रलाई सहयोग पुग्ने गरी सरकारले विभिन्न नीतिगत सुधारका काम अघि बढाएको छ। अहिले पनि यस क्षेत्रलाई थप सहयोग पुग्ने नीतिगत सुधारका विषयमा काम भइरहेको जानकारी पाएका छौँ। आगामी दिनमा पनि आईटी उद्योगको विकास र विस्तारका लागि उद्योगमैत्री नीति तथा कार्यक्रम आवश्यक छन्। नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, अन्तर्राष्ट्रिय निकाय र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने।
स्वदेशी प्रविधिको बजार विस्तारमा जोड
नास–आईटीकी महासचिव श्रेया श्रेष्ठले नेपाली प्रविधि कम्पनीले अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाइरहे पनि स्वदेशी बजारमा तिनका उत्पादन तथा सेवाको प्रयोग अपेक्षाकृत कम रहेको बताइन्।
उनका अनुसार सन् २०२४ मा प्रकाशित एक प्रतिवेदनले नेपालको सूचना प्रविधि सेवा निर्यात करिब ४० करोड अमेरिकी डलर पुगेको देखाएको थियो। त्यस्तै, सन् २०२१ देखि २०२३ सम्म यस क्षेत्रमा ६४ प्रतिशत वृद्धि भएको तथ्यांकले नेपाली आईटी उद्योगको सम्भावना उजागर गरेको उनको भनाइ छ।
अमेरिका, युरोप, अस्ट्रेलिया र भारतलगायतका बजारमा नेपाली प्रविधि कम्पनी तथा जनशक्तिको पहिचान बढ्दै गएको भए पनि देशभित्रै नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनमा पर्याप्त ध्यान पुग्न नसकेको उनले बताइन्।
श्रेष्ठले सरकारले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई सूचना प्रविधि दशकका रूपमा अघि बढाउने लक्ष्यसहित सूचना प्रविधि सेवा निर्यात ३० खर्ब रुपैयाँ पुर्याउने र पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको प्रसंगसमेत उल्लेख गरिन्। यस्तो लक्ष्य हासिल गर्न स्वदेशी बजारको विकास र नेपाली प्रविधिको प्रयोग विस्तार आवश्यक रहेको उनको भनाइ छ।
एक्स्पोले नेपाली प्रविधि उत्पादनको प्रत्यक्ष प्रदर्शनमार्फत बजार सिर्जना गर्ने, प्रविधि कम्पनीलाई वास्तविक ग्राहक र लगानीकर्तासँग जोड्ने, घरेलु बजारमा स्वदेशी प्रविधिको प्रयोग बढाउने र नेपाललाई अन्तर्राष्ट्रिय प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने चारवटा उद्देश्य राखेको छ।
युरोप र बेलायतसँग प्रविधि साझेदारीमा जोड
नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई परम्परागत आउटसोर्सिङको दायराबाट माथि उठाउँदै अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यको प्रविधि साझेदारका रूपमा स्थापित गर्न कूटनीतिक र व्यावसायिक सहकार्य अपरिहार्य रहेकोमा विदेशी कूटनीतिज्ञ र नेपाली प्रविधि उद्यमीहरूले जोड दिएका छन् ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरेको ‘नास–आईटी एक्स्पो २०२६’ अन्तर्गत शनिवार भएको पहिलो दिनको प्यानलमा यस्तो धारणा व्यक्त गरिएको हो ।
‘पावरिङ नेपाल्स नेक्स्ट इकोनोमी’ मूल नाराका साथ सम्पन्न दुईदिने एक्स्पोमा ‘फ्रम नेपाल टु द वर्ल्ड’, ‘सेलेक्ट यूएसए’ र ‘स्ट्रङ्गर टुगेदर : बिल्डिङ नेपाल्स टेक इकोसिस्टम’ शीर्षकमा विभिन्न प्यानल छलफल भएका थिए । स्विट्जरल्यान्ड र युरोपेली संघका राजदूतदेखि अमेरिकी दूतावासका प्रतिनिधि तथा नेपाली प्रविधि उद्यमी सहभागी छलफलमा नेपालको सूचना प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय सम्भावना र घरेलु बजारको विकासका विषय उठाइएका थिए ।
एक्स्पोको पहिलो प्यानल ‘फ्रम नेपाल टु द वर्ल्ड : डिप्लोमेसी, टेक्नोलोजी एण्ड ग्लोबल ग्रोथ’मा नेपालका लागि बेलायतका राजदूत रोब फेन, स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानियल म्युली मोन्टेलियोनी र युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटली सहभागी थिए । नास–आईटीका उपाध्यक्ष विभूषण बिष्टले सहजीकरण गरेको सत्रमा प्रविधि, व्यापार र कूटनीतिबीचको अन्तरसम्बन्धबारे बहस भयो । उपाध्यक्ष बिष्टले नेपालको प्रविधि उद्योगलाई गुणस्तर र सेवामुखी ‘बुटिक टेक्नोलोजी हब’का रूपमा चिनाउँदै स्विट्जरल्यान्ड र बेलायतमा आयोजित रोड–शोबाट ३४ भन्दा बढी व्यावसायिक सम्पर्क स्थापित भई आम्दानीसमेत सुरु भएको जानकारी दिए ।
छलफलमा युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले युरोपमा नेपाली आईटी सेवा र दक्ष जनशक्तिको ठूलो माग रहेको बताए । युरोपको ‘डिजिटल डिकेड’ योजनाअन्तर्गत सन् २०३० सम्म २ करोड दक्ष आईटी जनशक्ति आवश्यक पर्ने भए पनि करिब ५० लाख जनशक्ति अभाव हुने अनुमान रहेको उल्लेख गर्दै उनले नेपाली कम्पनीहरूका लागि यो सुनौलो अवसर भएको धारणा राखे । तर २७ देश र ५० करोड उपभोक्ता रहेको युरोपेली बजारमा तथ्यांक सुरक्षा, एआई ऐन र साइबर सुरक्षा ऐनजस्ता कडा नियम रहेकाले लक्ष्य निर्धारण गरी बजार प्रवेश गर्न उनले सुझाव दिए ।
नेपाल र युरोपेली संघबीचको द्विपक्षीय व्यापार ५० करोड युरोभन्दा कम रहेको अवस्थामा नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा प्रविधि र डिजिटलाइजेसनमार्फत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनुपर्ने राजदूत ह्वाइटलीको भनाइ थियो । युरोपको ‘ग्लोबल गेटवे’ रणनीति हरित र ऊर्जा संक्रमण तथा शिक्षामा केन्द्रित रहेको र ती सबैमा प्रविधिको भूमिका बढेको उनले बताए । उनले परम्परागत आउटसोर्सिङभन्दा बाहिर निस्केर युरोपेली साना तथा मझौला उद्यमसँग ‘नियर–सोर डेलिभरी’ साझेदारी, संयुक्त लगानी (जोइन्ट भेन्चर), सह–उत्पादन विकास तथा एआई, साइबर सुरक्षा, डेटा सेवा, गुणस्तर परीक्षण र एनिमेसन क्षेत्रमा विशिष्टीकृत सहकार्य गर्न सकिने उल्लेख गरे । आगामी १० वर्षमा २२ अर्ब डलरको आईटी निर्यात र ५ लाख रोजगारी सिर्जना गर्ने नेपाल सरकारको लक्ष्य सार्थक बने युवा पलायन रोक्न मद्दत पुग्ने उनको विश्वास थियो ।
बेलायतका राजदूत रोब फेनले प्रविधि भर्चुअल क्षेत्र भए पनि विश्वास निर्माण र बजार विस्तारका लागि प्रत्यक्ष भेटघाट र रोड–शो अझै प्रभावकारी हुने बताए । लण्डनस्थित नेपाली दूतावास र नास–आईटीको सहकार्यले बेलायतका उत्कृष्ट क्षेत्रलाई नेपालको गतिशील आईटी क्षेत्रसँग जोड्न सफल भएको उनले उल्लेख गरे । राजदूत फेनले नेपाल अब केवल ब्याक–अफिस आउटसोर्सिङको गन्तव्य मात्र नरहेको स्पष्ट पार्दै बेलायती र नेपाली कम्पनीहरू एउटै विश्वव्यापी कार्यप्रवाहमा जोडिएर समयको अन्तरलाई अवसरमा बदलिरहेको बताए ।
बेलायतले नेपालको सार्वजनिक तथा निजी प्रविधि क्षेत्रसँग गरेका पाँच ठोस सहकार्य प्रस्तुत गर्दै उनले निर्वाचन आयोगसँग ‘टिङटिङ’ एपमार्फत तथ्य–जाँच, नेपाल विद्युत् प्राधिकरण र नामीसँग एआईमा आधारित ऊर्जा पूर्वानुमान, विश्व बैंकसँगको सार्वजनिक खरिद अन्तर–सञ्चालन प्रणाली, भोटेकोशी बाढीपछिको मोबाइल ‘सेल ब्रोडकास्टिङ’ पूर्वसूचना र युथ इनोभेसन ल्याबसँग ‘सूचक आईटी’मार्फत विपद् व्यवस्थापनमा काम भइरहेको जानकारी दिए । प्रविधि र एआईले भौगोलिक, वर्गीय र आर्थिक असमानता हटाउँदै समावेशिताको इन्जिनका रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानियल म्युली मोन्टेलियोनीले ज्युरिखमा सम्पन्न नास–आईटी रोड–शोले नेपालको बढ्दो डिजिटल प्रतिभा र स्विट्जरल्यान्डको नवप्रवर्तनशील प्रविधि तथा भेन्चर क्यापिटल इकोसिस्टमलाई जोड्ने पुलको काम गरेको बताइन् । नेपाल–स्विट्जरल्यान्ड कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको सन्दर्भमा परम्परागत विकास सहायताबाट आर्थिक साझेदारी, लगानी, सीप र बजार पहुँचतर्फ सहकार्य रूपान्तरण भइरहेको उनले उल्लेख गरिन् ।
राजदूत मोन्टेलियोनीले नास–आईटी, नेपाल खुला विश्वविद्यालय र स्विस कन्ट्याक्टको सहकार्यमा सञ्चालित ‘इन्डस्ट्री इन्टिग्रेटेड डिग्री’, ‘नेपाल इम्प्याक्ट इन्भेस्टिङ कम्युनिटी’ र ‘डिजी नेपाल’ परियोजनामार्फत दक्ष जनशक्ति उत्पादन, पुँजी पहुँच र स्विस कम्पनीहरूसँग सह–सिर्जनालाई प्रोत्साहन गरिएको बताइन् । साथै, कोइराला इन्स्टिच्युट र जेनेभा विश्वविद्यालयको सहकार्यमा सर्पको टोकाइ पहिचान गर्ने एआई एप र विपद् पूर्वसूचना प्रणालीमा भइरहेको कामको चर्चा गर्दै उनले सन् २०२६ जुनमा जेनेभामा हुने एआई शिखर सम्मेलन ‘ब्रिजिङ इनोभेसन एण्ड ट्रस्ट’मा नेपाली प्रविधि कम्पनीहरूलाई सक्रिय सहभागी हुन आह्वान गरिन् । नेपालले प्रविधि र साइबर सुरक्षाका नीतिगत आधार मजबुत बनाए विश्व बजारमा आफ्नै एआई समाधान निर्यात गर्न सक्ने विश्वास उनले व्यक्त गरिन् । कार्यक्रममा युरोपेली संघको सहयोगमा सञ्चालित ‘स्टार्टअप प्याभिलियन’मा स्वदेशी नवप्रवर्तनहरूको प्रदर्शनीसमेत गरिएको थियो ।
दुई प्यानल छलफल
आइतवार दोस्रो दिन ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विदिन’ शीर्षकमा दुईवटा प्यानल छलफल सञ्चालन हुनेछन्। ‘सेलेक्ट यूएसए’ सत्रमा नेपाली व्यवसाय तथा प्रविधि कम्पनीका लागि अमेरिकी बजारमा उपलब्ध अवसरबारे छलफल हुनेछ भने ‘बिल्डिङ फ्रम विदिन’ सत्रमा नेपालभित्रै प्रविधि बजार विकास, स्वदेशी उत्पादनको प्रयोग र आन्तरिक सम्भावनाको उपयोगबारे विमर्श हुनेछ।
एक्स्पोका दुवै दिन प्रविधि कम्पनी तथा स्टार्टअपले आफ्ना उत्पादन, सेवा र समाधान प्रस्तुत गर्ने पिच सत्रसमेत सञ्चालन गरिनेछ। यसले नयाँ उद्यमीलाई आफ्नो व्यावसायिक योजना प्रस्तुत गर्न र सम्भावित लगानीकर्ता तथा साझेदारसँग जोडिन अवसर प्रदान गर्नेछ।
गत नोभेम्बर २०२५ मा आयोजित पहिलो नास–आईटी एक्स्पोमा २ हजार ५०० भन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए। पहिलो संस्करणको अनुभवका आधारमा यस वर्ष स्टार्टअप प्याभिलियन, विषयगत छलफल र व्यावसायिक सहकार्यलाई थप प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
यस वर्षको एक्स्पोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ। सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्टर एआई रहेका छन्। डिसहोम इन्टरनेट साझेदारका रूपमा जोडिएको छ भने किङ्स कलेज, आर्क र बिजक सहयोगी संस्थाका रूपमा रहेका छन्।
एक्स्पो मंसिर ६ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। इच्छुक अवलोकनकर्ताले https://tinyurl.com/NASITEXPO2026 मार्फत दर्ता गरी एक्स्पोमा सहभागी हुन सक्नेछन्।
नास–आईटी नेपालका सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूको गैरनाफामूलक संस्था हो। नेपाली प्रविधि उद्योगको विकास, अन्तर्राष्ट्रिय विस्तार र नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित संस्थाले काम गर्दै आएको छ।