नेभिगेशन
मनोरञ्जन

क्रिकेट, संगीत र नेवारी संस्कृति एउटै मञ्चमा जोडिँदै

भक्तपुर । नेवारी मौलिक खानपान, कला, संस्कृति र आतिथ्यको प्रवर्धन गर्दै आएको नेवा ननीले खेलकुद, संगीत र सांस्कृतिक मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेवा ननीको आयोजनामा आगामी शनिवार भक्तपुरमा एनपीएल ग्रायन्ड फाइनल स्क्रिनिङ एन्ड म्युजिक नाइट आयोजना हुन लागेको हो । कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलको विशेष प्रदर्शनसँगै लोकप्रिय कबवेब ब्यान्डको लाइभ सांगीतिक प्रस्तुति रहनेछ ।
‘कार्यक्रममा क्रिकेटप्रेमीले एनपीएलको फाइनल खेल सामूहिक रूपमा हेर्दै आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न पाउनेछन् । खेलको रोमाञ्चकता सकिएपछि हुने सांगीतिक प्रस्तुतिले सहभागीलाई थप मनोरञ्जन प्रदान गर्ने आयोजकको अपेक्षा छ ।’, नेवा ननीका सञ्चालक आशाराम फाँजुले भने । 
नेवा ननीले आफूलाई नेवारी परिकार उपलब्ध गराउने परम्परागत खाजा घरमा मात्र सीमित नराखी नेपाली कला, संगीत, खेलकुद र सांस्कृतिक गतिविधिलाई जोड्ने पहिचानयुक्त गन्तव्यका रूपमा विकास गर्न खोजेको जनाएको छ ।

व्यवसायको सफलता आर्थिक कारोबारमा मात्र सीमित हुन नहुने र त्यसले समाज, संस्कृति तथा स्थानीय समुदायमा पनि सकारात्मक योगदान दिनुपर्ने मान्यताका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । विशेषगरी नेपाली संगीतकर्मीलाई दर्शकसँग जोड्ने, खेलप्रेमीलाई सामूहिक मनोरञ्जनको अवसर प्रदान गर्ने र नेवारी खानपान तथा आतिथ्यलाई नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्य कार्यक्रमले राखेको छ ।
सहभागीको सुविधाका लागि आयोजकले दुई प्रकारका प्रवेश टिकटको व्यवस्था गरेको छ । २०० रुपैयाँको टिकट खरिद गर्नेले निःशुल्क कफी पाउनेछन् भने ५०० रुपैयाँको टिकटमा निःशुल्क बियर उपलब्ध गराइनेछ । कार्यक्रममा नेवारी मौलिक परिकार तथा विशेष आतिथ्यको व्यवस्थासमेत रहनेछ ।
नेवा ननीले यो कार्यक्रमलाई एक दिनको मनोरञ्जनात्मक गतिविधिमा मात्र सीमित नराखी भक्तपुरमा खेलकुद, संगीत, संस्कृति र स्थानीय व्यवसायलाई एकैसाथ प्रवर्धन गर्ने प्रयासका रूपमा लिएको छ । यस्ता कार्यक्रमले स्थानीय स्तरमा सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि विस्तार गर्नुका साथै नेपाली कला र संगीतको प्रवर्धनमा समेत योगदान पुग्ने आयोजकले विश्वास गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्