नेभिगेशन
दृष्टिकोण

प्रधानमन्त्रीको भ्रमण र जनस्तरको अपेक्षा

प्रधानमन्त्री बालेन्द्र शाह छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा गएका छन् । नेपाल र भारतबीच आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले परापूर्वकालदेखि नै सम्बन्ध हँुदै आएको छ । अझ जनस्तरमा त पारिवारिक सम्बन्ध झन् बाक्लो छ । खुला सिमाना, आवतजावत आदि कारणले सीमावर्ती नेपालको तराई मधेस र भारतको उत्तरी क्षेत्रका जनताबीचको सम्बन्ध प्रगाढ रहेको छ । खासगरीकन  छिमेकी देश हुनुको नाताले तथा एउटै धार्मिक सम्प्रदायका हिसाबले पनि दुई देशका जनताका परिवारबीच बिहाबारी हुने, धार्मिक तीर्थयात्रीको हिसाबले पनि एक अर्को देशमा तीर्थाटन गर्ने, रोजगारी तथा आर्थिक व्यवसाय गर्न पनि दुई देशका जनता एकअर्को देशमा आवतजावत र बसोबास गर्छन् । यस्तै बिरामी हँुदा औषधोपचार गर्न, विद्यार्थी तथा शिक्षकहरू अध्ययन–अध्यापन गर्न जानेआउने गरेका छन् । यसरी नेपाल र भारतबीच लामो समयदेखि जनस्तरमा सम्बन्ध हुँदै आएको छ । यस्तै राज्यस्तरमा पनि नेपाल भारतको ठूलो व्यापारिक साझेदार हो । भारतको पनि नेपाल व्यापारिक बजार हो ।  
पारस्परिक सम्बन्धले बाँधिएका दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन प्रधानमन्त्रीको यसपटकको  भारत भ्रमण कति सार्थक होला ? सर्वत्र चासोको विषय बनेको छ । नेपाल र भारतबीच परापूर्वकालदेखि प्रगाढ सम्बन्ध भए पनि केही उल्झन अर्थात् समस्याहरू पनि दशकौंदेखि थाती रहँदै आएका छन् । यस्ता समस्याहरू राजनीतिक एवं कूटनीतिकस्तरबाट समाधान हुनुपर्दछ । तर, राजनीतिकस्तरमा दुई देशका प्रधानमन्त्री, मन्त्री र सरकारी अधिकारीहरूको भ्रमणका अवसरमा यस्ता समस्यालाई छलफल तथा वार्ताका क्रममा प्रस्तुत गरेर समाधान गर्नुपर्दछ । तर, विगतमा यस्तो हुन सकेको छैन । राजनीतिकस्तरमा हुनुपर्ने छलफल, संवाद र निष्कर्षका विषयहरू कर्मचारीतन्त्रको  संयुुक्त संयन्त्रको छलफलमा सीमित हुँदै आएका छन् । असमान सन्धि सम्झौता, सीमा समस्या,  व्यापार समस्या, जलस्रोतसम्बन्धी समस्या र  दुवै देशका प्रबुद्ध वर्गको सहमतिमा बनेको इपिजी रिपोर्टलाई ग्रहण गर्ने र कार्यान्वयन गर्ने विषय पनि समाधान हुन सकेको छै । यसले गर्दा पनि भारतप्रति हेर्ने दृष्टिकोणमा स्वाभाविक रूपमा दरार उत्पन्न गरेको छ । 
प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई अझ नयाँ  आयामबाट अगाडि बढाउनुपर्दछ । नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र आर्थिक न्यायसम्बन्धी विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा नेपाल सरकारद्वारा भारतीय पक्षसमक्ष प्रस्तुत गर्नुपर्दछ ।
विगत  लामो समयदेखि दुई देशबीच सीमा, व्यापार, पारवहन, जलस्रोत, सुरक्षा, हवाई मार्ग तथा आर्थिक सम्बन्धका विषयमा विभिन्न समस्या र असमानताहरू रहँदै आएका छन् । विगतमा भएका कतिपय सन्धि तथा सम्झौताको कार्यान्वयनसमेत प्रभावकारी हुन सकेको छैन ।
यी समस्याहरूलाई अनिश्चितकालसम्म थाती राख्नु दुवै देशको हितमा छैन । अतः नेपाल–भारत सम्बन्धलाई नयाँ विश्वास, समानता र न्यायपूर्ण सहकार्यका आधारमा अगाडि बढाउन भ्रमणका अवसरमा भारतीय पक्षको राजनीतिक प्रतिबद्धता र ठोस निर्णयका लागि प्रस्तुत गर्नुपर्दछ ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायतका विवादित क्षेत्रको समस्या ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा प्रमाणका आधारमा समाधान गर्न प्रधानमन्त्रीस्तरीय राजनीतिक वार्ता सुरु गर्न प्रस्ताव गरिनुपर्छ । सीमा विवाद समाधान नहुँदासम्म विवादित क्षेत्रमा एकपक्षीय निर्माण तथा गतिविधि नगर्ने सहमति गरिनुपर्दछ । यस्तै नेपालको सार्वभौमिकतासँग जोडिएको लिपुलेक क्षेत्रबाट नेपालको सहमतिबिना सडक निर्माण तथा सञ्चालन गर्ने, व्यापारिक केन्द्र बनाउने काम  भएको छ । यो नेपालको भूमि भएकाले नेपालको सहभागिता हुनुपर्ने विषयलाई उठाउनुपर्दछ । कालापानी क्षेत्रमा रहेको भारतीय सुरक्षा फौजको उपस्थितिबारे राजनीतिक तहमा वार्ता गरी समाधानको समयतालिका निर्धारण गर्न प्रस्ताव गरिनुपर्दछ ।
यस्तै सीमा यकिन गर्न जंगे पलर र सहायक स्तम्भहरूको निर्माण गर्न, सीमा क्षेत्रमा बनाइएका २२ वटा अग्ला–अग्ला बाँंध र सडक निर्माणका कारणले नेपालबाट बग्ने नदीको बहाव रोकिँदा वर्षेनी नेपाली भूमिमा हुने गरेको कटान, डुबान, ठूलो जनधनको क्षति र क्षतिपूर्ति तथा नदीको पानी निकासका बारेमा गम्भीरतापूर्वक भ्रमणका क्रममा एजेन्डा प्रस्तुत गर्नुपर्दछ । सीमा नाकामा नेपालीहरू भारतलगायत  तेस्रो मुलुकबाट नेपाल आउँदा ठूलो दुःख, सास्ती र भारतीय प्रशासनका अधिकारीहरूबाट हेपिने गरेका छन् । यस्तै भारतमा विगत ६÷७ दशकदेखि बसोबास गरेका नेपाली नागरिकहरूले त्यहाँ अझैसम्म राजनीतिक अधिकार प्रयोग गर्न पाएका छैनन् । अन्तर्राष्ट्रिय मान्यताअनुरूप त्यहाँ बसोबास गर्ने नेपालीले पारस्परिक सिद्धान्तअनुसार भारतीय नागरिकता पाउने विषय र  भुटानी शरणार्थीको विषयमा पनि छलफलका लागि  एजेन्डा प्रस्तुत गर्नुपर्दछ ।
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि  सार्वभौमिकता, सुरक्षा, आर्थिक समानता आदिका कारणले  असमान भएकाले यसको पुनरावलोकन गरेर दुवै देशको सार्वभौमिक समानता र पारस्परिक सम्मानलाई सन्धिको मूल आधार बनाउन प्रस्ताव गरिनुपर्छ ।
यस्तै नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजिले तयार गरेको साझा प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा ग्रहण गरी त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्न उच्चस्तरीय राजनीतिक प्रक्रिया सुरु गर्न प्रस्ताव गर्नुपर्दछ । 
नेपालको उच्च व्यापारघाटा न्यूनीकरण गर्न भारतीय बजारमा नेपाली वस्तुको सहज, प्रतिस्पर्धी र अवरोधरहित पहुँच सुनिश्चित गर्न र  नेपाली उत्पादनमाथि लगाइने प्रतिकारात्मक शुल्क, अतिरिक्त कर तथा गैरभन्सार अवरोधको समीक्षा गरी नेपाली वस्तुलाई समान व्यवहार गर्न प्रस्ताव अगाडि सार्नुपर्दछ । नेपाल भूपरिवेष्ठित राष्ट्र हुनुका नाताले पारवहन अधिकार र ढुवानी लागत न्यूनीकरण गर्न, नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि समुद्री बन्दरगाह, सडक तथा रेलमार्गको सहज पहुँच हुन आवश्यक छ । यसका लागि नेपालले  पारवहन शुल्क, अतिरिक्त चार्ज, ढुवानी लागत र भन्सार प्रक्रियामा सहुलियत पाउनुपर्छ । पारवहन सन्धि तथा प्रोटोकललाई समयानुकूल पुनरावलोकन गर्ने प्रस्ताव अगाडि सार्नुपर्छ । 
विगतमा भएको  कोशी, गण्डक र शारदा जलस्रोत सम्झौताअनुसार नेपालले प्राप्त गर्नुपर्ने पानी, सिँचाइ, विद्युत् तथा अन्य लाभ  र क्षतिपूर्ति प्रदान गर्न र सीमा क्षेत्रमा बनेका उच्च  बाँध तथा ब्यारेजबाट हुने डुबान, कटान र अन्य क्षतिको निष्पक्ष मूल्यांकन गरी क्षतिपूर्ति तथा सुधारका उपाय अवलम्बन गर्न  प्रस्ताव गर्नुपर्दछ । यस्तै महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई तत्काल अन्तिम रूप दिई निर्माण प्रक्रिया सुरु गर्न र पानी, विद्युत्, सिँचाइ, बाढी नियन्त्रण तथा लागत–लाभ बाँडफाँटमा न्यायोचित व्यवस्था गर्न प्रस्ताव गर्नुपर्दछ । माथिल्लो कर्णाली, सेतीलगायतका आयोजनाको लामो समयदेखि होल्ड भइरहेको छ । यस्तो निर्माणको अनिश्चितता अन्त्य गरी आयोजना विकास सम्झौताअनुसारको प्रगति सुनिश्चित गर्न र अन्य जलविद्युत् आयोजनामा हुने लगानी तथा सम्झौता पारदर्शी, प्रतिस्पर्धी र नेपालको दीर्घकालीन राष्ट्रिय हितअनुकूल बनाउन प्रस्ताव गर्नुपर्दछ । नेपालमा उत्पादित विद्युत् भारतीय बजारमा सहज र सुनिश्चित पहुँच हुने, विद्युत् खरिद मूल्य निर्धारण, प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार तथा लगानीमा पारदर्शी र पारस्परिक लाभको व्यवस्था गर्नुपर्दछ र नेपालको विद्युत् व्यापारलाई राजनीतिक वा भूराजनीतिक पूर्वशर्तबाट मुक्त राख्नुपर्दछ ।
नेपालको  भैरहवा, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि आवश्यक थप अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्ग उपलब्ध गराउन र नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न भारतीय आकाशमार्गको प्रयोग सहज बनाउन, यस्तै नेपालका प्रमुख शहरहरू विराटनगर, नेपालगञ्ज आदि स्थानबाट पनि भारतका प्रमुख शहरमा हवाई यातायात सुरुवात गर्न प्रस्ताव अगाडि सार्नुपर्छ ।
नेपाल र भारतबीच डिजिटल वित्तीय कारोबारको भुक्तानी प्रणालीको अन्तरसम्बन्ध विस्तार गर्नका लागि दुई देशबीच वैधानिक रकम स्थानान्तरण, व्यापारिक भुक्तानी तथा डिजिटल कारोबारलाई सरल, सुरक्षित र कम खर्चिलो बनाउन आवश्यक छ । तेस्रो मुलुक हँुदै भारतबाट नेपाल आउने तथा भारत आवागमन गर्ने नेपाली नागरिक, श्रमिक, विद्यार्थी, बिरामी तथा व्यवसायीले सीमा क्षेत्रमा अनेकन समस्या भोग्ने गरेका छन् । यसरी भोग्नुपरेका अनावश्यक रोकटोक, दुव्र्यवहार र प्रशासनिक हैरानी अन्त्य हुन आवश्यक छ । दुई देशबीचको परम्परागत आवागमन र जनस्तरको सम्बन्धलाई सम्मान गर्दै नागरिकमैत्री सीमा व्यवस्थापन सुनिश्चित गरिनुपर्दछ ।
नेपाल र भारतबीचका उल्लेखित समस्याको कार्यान्वयन गर्न  तथा अनुगमन सम्बन्धमा नेपालबाट प्रधानमन्त्रीस्तरमा नेपाल–भारत उच्चस्तरीय राजनीतिक संवाद संयन्त्र स्थापना गर्न, परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगमार्फत् सबै द्विपक्षीय समस्याको नियमित समीक्षा गर्न, प्रत्येक विषयमा जिम्मेवार निकाय, कार्यसम्पादनको समयसीमा र अपेक्षित परिणाम निर्धारण गर्न र छ÷छ महिनाभित्र प्रगति समीक्षा गरी दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्ने व्यवस्था गरेमा नेपाल र भारतबीचको सम्बन्धमा थप सुधार आउने विश्वास लिन सकिन्छ ।
अन्त्यमा नेपाल भारतसँगको सम्बन्धलाई अझ सुदृढ, मैत्रीपूर्ण र दीर्घकालीन बनाउन दुई देशबीचको मित्रता समानता, सार्वभौमिकता, पारस्परिक सम्मान र न्यायपूर्ण व्यवहारमा आधारित हुनुपर्छ । नेपाल कुनै पनि मुलुकसँग शत्रुतापूर्ण सम्बन्ध चाहँदैन । तर आफ्नो भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, प्राकृतिक स्रोत र आर्थिक हितको संरक्षणमा दृढ हुनुपर्छ । तसर्थ नेपालको राष्ट्रिय हित, सार्वभौमिक समानता र पारस्परिक सम्मान नै नेपाल–भारत सम्बन्धको भविष्यको आधार निर्माण गर्ने दिशामा प्रधानमन्त्रीको भारत भ्रमण हुनुपर्छ भन्ने जनस्तरको अपेक्षा छ ।
(लेखक खनाल अर्थ–राजनीतिका जानकार छन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै