नेभिगेशन
दृष्टिकोण

सानो मस्तिष्क, ठूलो बुद्धिः भमराले खोलिदिएको चेतनाको रहस्य

पशुजगत्को बुद्धिमत्ताबारे वैज्ञानिकहरूको एउटा पुरानो मान्यता रहँदै आएको छ । त्यो के भने, जटिल सोचाइ र चलाखीका लागि ठूलो मस्तिष्क नै चाहिन्छ । तर, भमरा (बम्बल बी) माथि गरिएका पछिल्ला अध्ययनहरूले यो धारणालाई नै चुनौती दिएका छन् । दस लाखभन्दा पनि कम स्नायु कोषिका (न्युरोन) भएको सानो मस्तिष्कले अनपेक्षित समस्याको नयाँ समाधान निकाल्न सक्छ । अझ रोचक कुरा त, भमराहरूले सिकेको सीप र आफ्नो भावनात्मक अवस्थासमेत अरू साथीहरूमा सार्न सक्छन् । यी खोजहरूले विज्ञानसामु एउटा गहिरो प्रश्न उभ्याइदिएको छ कि आखिर बुद्धिमत्ताका लागि मस्तिष्कको न्यूनतम संरचना कस्तो हुनुपर्छ ?
यसको उत्तर खोज्न वैज्ञानिकहरू अहिले कीराहरूको मस्तिष्कको सूक्ष्म नक्साङ्कनमा जुटेका छन् । फलफूलमा लाग्ने झिँगा (फ्रुट फ्लाई)को मस्तिष्कको पूर्ण स्नायु सञ्जाल अर्थात् ‘कनेक्टोम’ तयार भइसकेको छ । अहिले तीन प्रजातिका मौरी र भमराको मस्तिष्कको केही भागको नक्साङ्कन पनि भइरहेको छ । प्रविधिको तीव्र विकासलाई हेर्दा आगामी एक दशकभित्रै भमराको सिङ्गो मस्तिष्कको नक्सा तयार हुने देखिन्छ । विभिन्न प्रजातिको मस्तिष्कको तुलनात्मक अध्ययनबाट कुन सानो फेरबदलले जीवमा नयाँ बौद्धिक क्षमता जन्माउँछ भन्ने रहस्य खुल्ने अपेक्षा गरिएको छ ।

भमराको सामाजिक सिकाइ
बुद्धिमत्ता भनेको जन्मजात स्वभाव वा अन्दाजको भरमा नभई, सोचेर नयाँ परिस्थितिअनुसार व्यवहार बदल्नु हो । पहिले चिम्पान्जीहरूमा गरिएको एउटा प्रयोगमा उनीहरूले झुन्ड्याइएको केरा टिप्न बाकसहरू सारेर त्यसमाथि चढेका थिए । भमरामा पनि यस्तै प्रयोग गरियो । उड्न नमिल्ने गरी होचो छत भएको भाँडोमा भमराहरूलाई राखियो र छतको तल्लो भागमा रस भएका कृत्रिम फूलहरू झुन्ड्याइयो । हिँडेर मात्र पुग्न सम्भव नभएको त्यो फूलसम्म पुग्न भमराहरूले एउटा सानो बल गुडाएर ल्याए र त्यसमाथि चढेर रस खाए । अझ, लक्ष्य नदेखिने अवस्थामा पनि उनीहरूले बललाई सही दिशातिर गुडाउन सके । यसले भमराहरू सिकेको ज्ञानलाई नयाँ र जटिल परिस्थितिमा लचिलो ढङ्गले प्रयोग गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको छ ।
भमराको यो चलाखी व्यक्तिगत स्तरमा मात्र सीमित छैन, सामाजिक सिकाइबाट अरूमा पनि फैलिन्छ । एउटा प्रयोगमा रस निकाल्नका लागि पजल बक्सका चुकुलहरू निश्चित क्रममा खोल्नुपर्ने थियो । कुनै पनि भमराले एक्लै प्रयास गरेर यो पजल सुल्झाउन सकेन । तर, सिपालु भमराले त्यो काम गरेको हेरेपछि तालिम नपाएका अरू भमराहरूले पनि सहजै सिके । एक्लै सिक्न नसकिने जटिल व्यवहार अरूलाई हेरेर सिक्ने क्षमता यसअघि मानिस र चिम्पान्जीमा मात्र देखिएको थियो ।
सीप मात्र होइन, भमराहरूमा भावनाजस्तै अवस्था पनि एकअर्कामा सर्छ । आधा भरिएको गिलासलाई आशावादीले आधा भरिएको र निराशावादीले आधा खाली देखेजस्तै प्रयोग भमरामा गरियो । अचानक मीठो पुरस्कार पाउँदा भमराहरूमा एक किसिमको ‘आशावादी’ भाव देखियो र उनीहरूले अन्योलपूर्ण सङ्केतलाई पनि सकारात्मक रूपमै लिए । अचम्मको कुरा, पारदर्शी पर्दापछाडि बसेर ती आशावादी भमरालाई हेर्ने अरू भमराहरूमा पनि उस्तै सकारात्मक सोच देखियो । यसका लागि खानाको आदानप्रदान वा गन्धको आवश्यकता परेन, हेराइबाटै यो भाव स¥यो । यो सहानुभूतिको एउटा प्रारम्भिक रूप हो । यसले भावनाको सामाजिक विस्तार प्रकृतिमा निकै पुरानो र व्यापक रहेको सङ्केत गरेको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।
सानो मस्तिष्कको अद्भुत बनावट
भमराको यो बौद्धिक क्षमताको रहस्य उनीहरूको मस्तिष्कको विशेष बनावटमा लुकेको छ । फलफूलमा लाग्ने झिँगामा करिब १ लाख ४० हजार स्नायु कोषिका हुन्छन्, तर भमराको मस्तिष्क त्योभन्दा निकै विकसित छ । कीराहरूको मस्तिष्कमा ‘मसरुम बडी’ नामक भाग हुन्छ । त्यहीँ स्मरणशक्ति बन्छ । झिँगाको तुलनामा भमरामा स्मरणशक्ति जोगाउने ‘केन्योन कोषिका’ करिब ५० गुणा बढी हुन्छ । यही कारण भमराले एकअर्कासँग नजुध्ने गरी धेरै कुरा सम्झन सक्छन् । साथै, आँखा, गन्ध र स्वादबाट प्राप्त जानकारीलाई मिसाएर साझा धारणा बनाउन सक्छन् । यसको काम गर्ने शैली स्तनधारी जीवको मस्तिष्कको ‘हिप्पोक्याम्पस’ सँग मिल्दोजुल्दो छ । यसले अधुरो सङ्केतबाटै पुराना घटनाहरूको पूर्ण सम्झना ताजा गर्न मद्दत गर्छ ।

मस्तिष्कको अर्को महŒवपूर्ण भाग ‘सेन्ट्रल कम्प्लेक्स’ हो । यसले परिस्थितिअनुसार निर्णय लिन र बाटो पहिल्याउन सघाउँछ । यसले जीव कुन दिशामा जाँदैछ र उसको लक्ष्य के हो भन्ने कुराको तुलना गर्छ । भमराको यो भागमा धेरै वटा उडान मार्ग र दूरीलाई एकैसाथ सम्झेर राख्ने विशेष सञ्जाल हुन्छ । विभिन्न फूलहरूमा रस खोज्दै जाँदा सबैभन्दा छोटो र सहज बाटो तय गर्न उनीहरूले यही क्षमता प्रयोग गर्छन् । वैज्ञानिकहरूका अनुसार, बाटोको दिशा र दूरी तुलना गर्ने यही प्रणालीलाई भमराहरूले अमूर्त लक्ष्यहरू तुलना गर्न र जटिल निर्णय लिन पनि प्रयोग गरिरहेका हुन सक्छन् ।
जीवको भित्री अवस्था— जस्तै थकान, निद्रा वा सुगन्धको आकर्षणले पनि उनीहरूको निर्णयमा प्रभाव पार्छ । मस्तिष्कमा हुने ‘न्युरोमड्युलेटर’ नामक रसायनहरूले जीवको व्यवहारलाई कुन दिशातर्फ मोड्ने भन्ने तय गर्छन् । झिँगाको तुलनामा भमरामा यस्ता रासायनिक सञ्जालहरू निकै जटिल र समृद्ध हुन्छन् । यसले गर्दा भमराहरूले उस्तै देखिने तर फरक परिस्थितिबीचको सूक्ष्म भिन्नता छुट्याउन सक्छन् । अर्को भमराको व्यवहार हेरेर आफ्नै भित्री भावना बदलिनुमा पनि यही रासायनिक प्रणालीको भूमिका हुन सक्छ ।
बुद्धिमत्ताको विकास र आगामी बाटो
यी सबै तथ्यले के देखाउँछ भने, भमरामा उच्च बुद्धिमत्ता विकास हुन प्रकृतिले कुनै नितान्त नयाँ जैविक सूत्र बनाउनुपरेको थिएन । बरु, प्राचीन कीराहरूमा पहिलेदेखि नै रहेको मस्तिष्कको क्षमतालाई नै क्रमविकासले अझ फराकिलो बनाइदिएको हुन सक्छ । यसबाट उच्च बौद्धिक क्षमता जीवजगतमा एकैपटक नभई धेरैपटक अलग–अलग ढङ्गले विकास भएको अनुमान गर्न सकिन्छ ।
हुन त, कुनै प्रजातिमा खास बौद्धिक क्षमता छ कि छैन भनी ठोकुवा गर्न अझै चुनौतीपूर्ण छ । किनभने बाँच्ने परिवेश फरक भएकाले कुनै कीरा एउटा काममा पोख्त र अर्कोमा कमजोर देखिन सक्छ । वा, भमराको ठूलो मस्तिष्क केवल तेज दृष्टि र चुस्त शारीरिक सन्तुलनका लागि मात्र पनि विकसित भएको हुन सक्छ । आगामी दिनमा विभिन्न प्रजातिका कीराहरूको मस्तिष्कको नक्सा तुलना गरिएपछि मेरुदण्ड भएका र नभएका सबै जीवहरूमा बुद्धिमत्ता कसरी जन्मियो भन्ने साझा सिद्धान्त पत्ता लाग्नेछ । (साइन्स म्यागेजिनबाट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्