नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

संवादको वातावरण बनाउनु नै उपलब्धि

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लिएर अहिले नेपालमा निकै ठूलो चासो र अपेक्षा देखिएको छ । नयाँ राजनीतिक शक्तिको नेतृत्वमा बनेको सरकार, परिवर्तनको जनादेश बोकेका प्रधानमन्त्री र परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैलीको अपेक्षाले पनि यो भ्रमणलाई विशेष बनाएको छ । लामो समयदेखि थाँति रहेका नेपाल–भारत सम्बन्धका समस्या समाधान हुनेछन्, दुई देशबीचको सम्बन्धले नयाँ दिशा लिनेछ र नेपालको राष्ट्रिय हितका पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ भन्ने आशा स्वाभाविक छ । तर, यो भ्रमणबाट धेरै ठूलो अपेक्षा गर्नु उचित हुँदैन ।
कूटनीति कुनै एक व्यक्तिको लोकप्रियता, राजनीतिक इच्छाशक्ति वा भाषणले मात्र सञ्चालन हुने विषय होइन । यो राष्ट्रिय स्वार्थ, शक्ति सन्तुलन, पारस्परिक हित, संस्थागत तयारी र दीर्घकालीन संवादको परिणाम हो । प्रधानमन्त्री बालेन्द्र शाह नयाँ राजनीतिक परिवेशका प्रतिनिधि अवश्य हुन्, तर उनी भारतसँगको सम्बन्धमा नयाँ शक्ति सन्तुलन निर्माण गर्न सक्ने अवस्थामा पुगिसकेका छैनन् । भारतसँग नेपालको सम्बन्ध दशकौँदेखि स्थापित राजनीतिक, आर्थिक र रणनीतिक संरचनाभित्र सञ्चालन हुँदै आएको छ । त्यसैले प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण हुँदैमा त्यसको स्वरूप र चरित्र तत्कालै बदलिन्छ भन्ने अपेक्षा राख्नु यथार्थपरक हुँदैन ।
नेपाल र भारतबीचका समस्या नयाँ होइनन् । सीमा विवाद, व्यापार घाटा, पारवहन निर्भरता, जलस्रोतको उपयोग, हवाई प्रवेश मार्ग, बाढी तथा डुबान, सुरक्षा चासो र पुराना सन्धि–सम्झौताका विषय वर्षौँदेखि उठ्दै आएका छन् । यी विषयमा विगतका सरकारले पनि पटकपटक छलफल गरेका छन् । उच्चस्तरीय भेटघाट भएका छन्, संयुक्त वक्तव्य जारी भएका छन् र विभिन्न सम्झौतामा हस्ताक्षर पनि भएका छन् । तर, सम्झौता हुनु र त्यसको कार्यान्वयन हुनु फरक कुरा हो । नेपालको समस्या धेरैजसो सहमति नहुनुमा मात्र होइन, भएका सहमति कार्यान्वयन नहुनुमा पनि छ । यो पृष्ठभूमिमा एउटा भ्रमणबाट दशकौँदेखिका समस्या समाधान हुने विश्वास गर्नु अतिरञ्जना हुनेछ । त्यसैले प्रधानमन्त्रीको भ्रमणलाई चमत्कारको अपेक्षासहित हेर्नुभन्दा नेपालको कूटनीतिक क्षमताको वास्तविक परीक्षणका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।
अहिलेको भ्रमणको कार्यसूची हेर्दा पनि धेरै अपेक्षा गर्नुपर्ने आधार देखिँदैन । प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार हुने भेटवार्तामा आर्थिक सहयोग, ऊर्जा, व्यापार, पारवहन, हवाई सम्पर्क र पूर्वाधार विकासका विषयमा छलफल हुने तय भएको छ । नेपालले बाढीपछिको पुनर्निर्माणका लागि करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋणको प्रस्ताव गरेको छ । थप हवाई प्रवेश मार्गको विषय पनि नेपालको प्राथमिकतामा छ । तर, हवाई मार्गका विषयमा दुई देशबीच अझै सहमति जुट्न सकेको छैन । 
त्यस्तै, सीमा विवादको विषय पनि यो भ्रमणबाट तत्काल समाधान हुने सम्भावना न्यून छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका क्षेत्रमा रहेका समस्या दशकौँदेखि थाँति छन् । नेपालले आफ्नो नक्सा सार्वजनिक गरेर राजनीतिक तथा संवैधानिक रूपमा अडान स्पष्ट पारिसकेको छ । तर, भारतले त्यसलाई स्वीकार गरेको छैन । दुई देशबीच यस विषयमा अर्थपूर्ण वार्ता हुन सकेको छैन । नेपालले गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनसमेत अझै कार्यान्वयनको चरणमा पुग्न सकेको छैन । यस्तो अवस्थामा प्रधानमन्त्रीको एकदिने मुख्य वार्ताले सीमा विवादको गाँठो फुकाउँछ भन्ने विश्वास गर्न सकिँदैन । बरु यो विषयलाई वार्ताको निरन्तर एजेन्डा बनाउनु र संवादका लागि वातावरण तयार गर्नु नै अहिलेको उपलब्धि हुन सक्छ ।
जलस्रोतको विषयमा पनि नेपालको अपेक्षा र भारतको प्राथमिकताबीच ठूलो अन्तर छ । नेपाल जलविद्युत् उत्पादनको सम्भावना भएको मुलुक हो । भारत ठूलो विद्युत् बजार हो । दुवै देशले सहकार्य गर्दा आर्थिक लाभ लिन सक्ने सम्भावना प्रशस्त छ । तर, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको तीन दशक लामो अलमलले दुई देशबीच सहमति कार्यान्वयनको अवस्था कस्तो छ भन्ने देखाउँछ । महाकाली सन्धिपछि अघि बढ्नुपर्ने आयोजनामा अझै लाभको बाँडफाँट र पानीको उपयोगलगायतका विषयमा सहमति जुट्न सकेको छैन । 
यहाँनेर नेपालले आफ्नो कमजोरी पनि स्वीकार गर्नुपर्छ । भारतले सहयोग गरेन, बजार दिएन वा सहकार्य गरेन भनेर मात्र नेपालको आर्थिक समस्याको व्याख्या गर्न सकिँदैन । विगतमा भारतले अनुदान, ऋण, पूर्वाधार र प्राविधिक सहयोग उपलब्ध गराएको छ । तर, त्यसको सदुपयोग गर्न नेपालले सकेन । सरकार परिवर्तनसँगै प्राथमिकता बदलिने, आयोजना समयमा सम्पन्न नहुने, नीतिगत स्थिरता नहुने र उत्पादनभन्दा आयातमा निर्भर अर्थतन्त्र चलाउने प्रवृत्ति हाम्रै कमजोरी हुन् । भारतसँग राम्रो सम्बन्ध राख्नु आवश्यक छ, तर आफ्नो अर्थतन्त्र बलियो नबनाई भारतसँगको सम्बन्धबाट मात्र समृद्धि खोज्नु आत्मघाती सोच हो ।
प्रधानमन्त्री शाहको भ्रमणमा अर्को महŒवपूर्ण पक्ष उनको राजनीतिक छवि पनि हो । उनी परम्परागत दल र नेतृत्वप्रति असन्तुष्ट जनमतको प्रतिनिधित्व गर्दै सत्तामा पुगेका हुन् । त्यसैले उनीप्रति जनताको अपेक्षा पनि परम्परागत प्रधानमन्त्रीभन्दा फरक छ । उनीबाट पुरानै शैलीको कूटनीति होइन, नतिजामुखी र आत्मसम्मानयुक्त कूटनीतिको अपेक्षा गरिएको छ । तर, नयाँ राजनीतिक नेतृत्व हुनु र नयाँ कूटनीतिक क्षमता स्थापित हुनु फरक कुरा हुन् । कूटनीतिमा व्यक्तिगत लोकप्रियताभन्दा संस्थागत तयारी, विषयवस्तुको ज्ञान, वार्ताको रणनीति र राष्ट्रिय प्राथमिकतामा स्पष्टता महत्त्वपूर्ण हुन्छन् । प्रधानमन्त्रीले भारतसँग कस्तो सम्बन्ध राख्ने भन्ने विषयमा आफ्नो सरकारको दृष्टिकोण पनि स्पष्ट पार्नुपर्नेछ ।
भारतसँगको सम्बन्धमा अनावश्यक राष्ट्रवादी उत्तेजना पनि उचित होइन र राष्ट्रिय हितका विषयमा मौनता पनि उचित होइन । नेपालले भारतसँग मित्रवत् सम्बन्ध राख्नुपर्छ । तर, मित्रताको नाममा आफ्ना जायज माग र असहमतिका विषय छाड्नु हुँदैन । भारत ठूलो देश भएकाले नेपालले उसँग झुक्नुपर्छ भन्ने मानसिकता जति गलत हो, भारतसँगका सबै समस्या एकैपटक समाधान गर्न सकिन्छ भन्ने अतिरञ्जित अपेक्षा पनि त्यति नै गलत हो । परिपक्व कूटनीति भनेको आफ्नो सीमा र क्षमता बुझेर राष्ट्रिय हितका पक्षमा निरन्तर प्रयत्न गर्नु हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै