नेभिगेशन
प्रदेश

अग्निसाइर कृष्णासवरण गाउँपालिका अध्यक्ष भन्छन् ‘राजीनामा दिएको होइन्, षड्यन्त्र रचियो’

प्रवेशकुमार मिश्र 
सप्तरी, कातिक १८
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्षले आफूले राजीनामा नदिएको स्पष्ट गर्दै सामाजिक सञ्जालमा फैलिएका अफवाहप्रति तीव्र आपत्ति जनाएका छन् । उनले राजीनामाको विषयलाई ‘राजनीतिक षड्यन्त्र’ र ‘जालसाजीपूर्ण योजना’ को परिणाम भन्दै विज्ञप्ति जारी गरेका छन् ।

अध्यक्षले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा लेखेका छन्, ‘विपक्षी दलका केही सदस्यहरूले राजनीतिक निष्ठा र संस्कारबाट विचलित भई निम्नस्तरको षड्यन्त्र र जालसाजीको प्रयास गरेका छन् । सोही कारण मैले कुनै पनि हालतमा राजीनामा नदिने घोषणा गर्दै २०८२ असोज २५ गते प्रेस विज्ञप्ति जारी गरेको थिएँ ।’

उनका अनुसार आफूले कुनै पनि किसिमको राजीनामा पत्र पेश गरेका छैनन् । उनले भने, ‘यदि मैले स्वेच्छाले राजीनामा दिएको भए, म कार्यालयका बैठकहरूमा सहभागी हुने थिइनँ, न त सेवाग्राहीका काम सम्पादन भइरहन्थे ।’

अध्यक्षले आफ्नै सनाखत बिना राजीनामा स्वीकृत गरिएको विषयमा गम्भीर प्रश्न उठाएका छन् । ‘मेरो सनाखत विना कसरी राजीनामा स्वीकृत भयो? मैले तोकेको कर्मचारीको नाम चलानीमा परिवर्तन कसरी भयो? यी सबै घटनाले स्पष्ट रूपमा षड्यन्त्रको संकेत गर्छ,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

उनले राजीनामा पत्रमा किर्ते हस्ताक्षर गरिएको दाबी गर्दै यस विषयमा न्यायिक निकायमार्फत कानुनी उपचार खोज्ने बताएका छन् । अध्यक्षको दाबीअनुसार, राजीनामा ‘नक्कली’ हो भने गाउँपालिकाको प्रशासनिक प्रक्रिया नै प्रश्नमा पर्ने देखिएको छ । स्थानीय नेताहरूले यस घटनाको छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला