नेभिगेशन
नेपाल

सरकार आफैं छाप्दै लाइसेन्स

संवाददाता–काठमाडौं, कात्तिक २२
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मेसिनबाट छाप्न थालेको छ । सुरक्षण मुद्रण केन्द्रले शुक्रबारदेखि लाइसेन्स छाप्न थालेको हो । 

२८ लाख सवारी चालक अनुमति पत्र छाप्नुपर्ने गरी थुप्रिएका छन् । समयमै लाइसेन्स छापेर दिन नसक्दा सेवाग्राहीहरु चिर्कटो र कागजका भरमा हिँड्नु परेको छ । लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत छाप्ने काम विदेशी कम्पनीलाई ठेक्का दिएर गरिँदै आएको थियो । देशको रकम बाहिर जाने र नागरिकका व्यक्तिगत विवरणमा पनि सुरक्षा नहुने डर उत्तिकै थियो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेसिनबाट शुक्रबार लाइसेन्स छपाइको काम शुभारम्भ गरेका हुन् । कानूनी उल्झन, विविध कठिनाइका बाबजुद व्यवस्था मिलाएर लाइसेन्स छपाइको काम थालिएको मन्त्री खरेलले बताएका छन् । वर्षौंदेखि थन्किएर अलपत्र राखिएका धुलाम्मे मेसिनको काम थालिएको हो । 

‘वर्षौंदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिनहरु यत्तिकै थन्किएका थिए,’ मन्त्री खरेलले भने, ‘मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । धुलो टकटक्याएर छपाइको काम थालेका छौं ।’ अब आफ्नै मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने बताइएको छ । मेसिन ल्याएको लामो समयसम्म छपाइको काम हुन सकेको थिएन । 

सुरक्षित मुद्रणसम्बन्धी मेसिन खरिदबारे भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएपछि मुद्रण केन्द्रको ल्याइएको मेसिन अलपत्र परेको थियो । हाल केन्द्रको बेथिति, कानूनी अप्ठेरा छिचोल्दै नियमावली ल्याएर स्रोत साधन सुनिश्चित गर्दै जनशक्ति व्यवस्थापन गरी लाइसेन्स छाप्न थालिएको मन्त्री खरेलले दाबी गरेका छन् ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरु गरिएको बताएका छन् । 

पहिलो चरणमा १२ लाख प्रति लाइसेन्स छपाइको सम्झौता भएको छ । सुरुमा दैनिक पाँचसय र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । काभ्रेमा निर्माणाधीन भवनबाट कागजी छपाइको काम अबको छ महिनाभित्र सुरु गरिने बताइएको छ । ढुंगानाका अनुसार शुक्रबारबाटै नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म मेसिनका लागि तीन अर्ब रुपैयाँ लगानी गरिएको छ । 

जेनजी पुस्ताको आन्दोलनको क्रममा तोडफोड, आगजनी, लुटपाट भएपछि छापिँदै आएको ठाउँमा पनि सवारी चालक अनुमतिपत्र छपाइको काम रोकिएको थियो । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छाप्ने र वितरणको काम भैरहेको  सूचना प्रविधिसम्बन्धी प्रणाली बन्द भएपछि रोकिएको सूचना जारी गरेको थियो । विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी, लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध भएको थियो । 

जेनजी आन्दोलन हुनुभन्दा अघिसम्म देशभरिका ४३ वटा यातायात व्यवस्था कार्यालयबाट नयाँ लाइसेन्स लिन अनलाइन सेवा सुरु गरिएको थियो । विभागका अनुसार ती कार्यालयहरूबाट एक दिनमा २५ सयदेखि तीन हजारसम्म लाइसेन्स कार्डको लागि  आवेदन आउने गरेका थिए । त्यसयता सबै सेवा ठप्प बनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्