आफूले विश्वासको मत पाउन नसक्ने देखेपछि मुख्यमन्त्री पदबाट सोनारले दिए राजीनामा
जनकपुर (संवाददाता)– मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन पेस गरिएको प्रस्ताव सदनमा आफ्नो पक्षमा पारित नहुने देखिएपछि उनले प्रस्ताव फिर्ता लिँदै शनिबार पदबाट राजीनामा दिएका हुन् ।
उनी गत असोज २९ मा मात्रै नियुक्त भएका थिए । विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भन्दै पर्खिएका सोनलले २५ दिनमै सरकार छाड्नुपरेको हो ।
प्रदेशसभाको शनिबारको बैठकमा सोनारले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । तर, बैठक अघि र बैठककै क्रममा प्रमुख दलहरूले समर्थन नदिने स्पष्ट गरेपछि उनले अन्ततः पदबाट अलग हुने घोषणा गरे । राजीनामा दिएपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मत प्रस्ताव निर्णयार्थ पेस गर्नुपर्ने आवश्यकता नरहेको भन्दै बैठक स्थगित गरे ।
मुख्यमन्त्री सोनार मधेश प्रदेशमा नयाँ गठबन्धनको सम्भावनाका बीच सरकार सञ्चालनमा असहज बनेका थिए । एमाले र कांग्रेस दुवै दलका संसदीय दलका प्रमुख सचेतकहरूले सदनमा खुलेरै भने, ‘मुख्यमन्त्रीलाई विश्वासको मतमा समर्थन गर्न सकिँदैन ।’ त्यसपछि सत्ता समीकरण आफ्नो पक्षमा नबन्ला भन्ने निष्कर्षमा पुगेर सोनारले राजीनामा दिने निर्णय गरेका हुन् ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहवर अन्सारीले आफू तटस्थ रहने घोषणा गरे भने माओवादीकै सांसद माला कर्णले अन्सारीको भनाइमा समर्थन जनाइन् । यसले सोनारको समर्थन संख्या थप घटायो ।
जनमत पार्टीका प्रदेशसभा सदस्य एवम् पूर्व मुख्यमन्त्री सतीशकुमार सिंह र प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री त्रिभुवन साह बैठकमा अनुपस्थित थिए । यही अनुपस्थितिले पनि सत्ता समीकरणमा अनिश्चितता थपेको देखियो ।
मधेश प्रदेशसभामा हाल कुल १०७ जना सदस्य छन् । त्यसमा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्छ । तर, हाल तीन जना प्रदेशसभा सदस्य निलम्बनमा परेकाले प्रभावकारी सदस्य संख्या १०४ मा झरेको छ ।
मुख्यमन्त्री सोनारले विश्वासको मत ल्याउने सम्भावना कमजोर भएको ठहर गर्दै राजीनामा दिएपछि अब मधेश प्रदेशमा नयाँ सत्ता समीकरणको खोजी सुरु भएको छ ।
राजीनामा स्वीकृत भएपछि प्रदेशसभाले अब नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढाउनेछ । सम्भावित मुख्यमन्त्रीका दाबेदारका रूपमा एमाले, कांग्रेस र जनमत पार्टीका नेताहरूको नाम चर्चामा छन् ।
स्रोतहरूका अनुसार, एमाले नेतृत्वमा नयाँ गठबन्धनको सम्भावना बलियो देखिएको छ । एमालेले कांग्रेस र जनमत पार्टीस“ग संवाद अघि बढाइरहेको छ । तर कांग्रेसले प्रदेशमा साझा सहमतिको सरकारको पक्षमा रहेको जनाएको छ । माओवादी केन्द्र, जसमा विभाजित मत देखिएको छ, नयाँ सरकारको बनावटमा निर्णायक हुन सक्ने अनुमान गरिएको छ ।
लोसपाका नेता सोनारले राजीनामापछि उनले भने, ‘म राजीनामा दिएर नयाँ राजनीतिक सहकार्यका लागि बाटो खुला गर्न चाहन्छु । प्रदेशको स्थायित्व मेरो प्राथमिकता हो ।’ विश्वासको मतको तयारीका क्रममा दलहरूबीच सहकार्य अभाव रहेको उनले स्वीकार गरे ।