नेभिगेशन
उपत्यका

नेपाल ट्रस्टमा ठगीको जालो, पाँच अर्बको ‘डिल’ अनुसन्धानमा

थामसेर्कुले ल्याएको चिठीका भरमा ट्रस्टका तत्कालीन सहसचिव कार्कीले आर्थिक प्रस्ताव मूल्यांकन समितिको निर्णय लत्याउँदै एक अर्ब ४० करोड १० लाख ८६ हजार रुपैयाँमा गरेका थिए जग्गा भाडामा दिने सम्झौता 

भाषा शर्मा
काठमाडौं कात्तिक २३
नेपाल ट्रस्टको कार्यालयले नौ वर्षअघि जग्गा भाडामा दिँदा गरेको अनियमितताको गरेको आरोपमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘ठगी तथा आपराधिक विश्वासघात’को कसुरमा सेवाबाट अवकाश लिइसकेका कार्की पक्राउ गरेपछि आइतबार काठमाडौं जिल्ला अदालतबाट एक साताको अनुमति लिएर अनुसन्धान थालिएको हो । 

ट्रस्टको विवादित जग्गामा काठमाडौंको दरबारमार्गमा हाल साततले व्यापारिक भवन छ । राजदरबार अगाडिको ठूलो भवन बनेको पाँच वर्ष भइसकेको छ । कर्मचारीको मिलेमतोमा लिजमा जग्गा दिँदा राज्यलाई पाँच अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको कार्यालयले निजी कम्पनीलाई जग्गा भाडामा दिएको थियो । 

जग्गा यसरी भाडामा दिइएको थियो
२०७१ साउन २८ मा बसेको ट्रस्ट सञ्चालक समितिको ३१औं बैठकले करिब एक रोपनी १४ आना जग्गा भाडामा दिने स्वीकृत गरेको थियो । जग्गा भाडामा दिन ट्रस्टले बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा ६ वटा फर्मले भाडामा लिने प्रस्ताव गरेका थिए, जसमा तीन फर्म छनोटमा परेका थिए । बोलपत्रबाट आएका तीनवटा फर्ममध्ये थामसेर्कु ट्रेकिङ प्रालिले ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय ९४ मा सम्झौता प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावका आधारमा सचिव कार्कीसमेतले प्रालिलाई दिने निर्णय गर्दै ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजारमा सम्झौता गर्न बोलाइएको थियो । ट्रस्टका तर्फबाट २०७३ फागुन १८ मा तत्कालीन शाखा अधिकृत ऋषिकेश तिम्सिनाले प्रालिलाई सम्पूर्ण संरचनाको ढाँचा पेस गर्न निर्देशनात्मक पत्र पठाएका थिए । 

त्यो पत्र पठाएको एक सातापछि थामसेर्कु ट्रेकिङ प्रालिले सम्झौतापत्र लिएर ट्रस्ट पुगेको थियो । थामसेर्कु ट्रेकिङ प्रालिका तर्फबाट २०७३ फागुन २४ मा रामचन्द्र रानाले हस्ताक्षर गरेका छन् । ट्रस्टका तर्फबाट तत्कालीन सहसचिव लेखबहादुर कार्कीले पाँच अर्ब कम मूल्य कायम गर्दै प्रालिलाई एक अर्ब ४० करोड १० लाख ८६ हजार रुपैयाँमा जग्गा भाडामा दिने सम्झौता गरेको देखिन्छ ।

सचिवस्तरबाट भएको निर्णय सहसचिवले कम मूल्यमा सम्झौता गर्नु कानूनविपरीत भएको भन्दै अनियमितता गर्नेलाई तुरुन्त छानबिन गरी कानूनको दायरामा ल्याउन महालेखाको प्रतिवेदनले समेत सुझाएको छ ।

त्यस सम्बन्धमा २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको बताएको थियो । कार्यालयका कर्मचारीको मिलेमतोमा राज्यलाई ठूलो रकम घाटा भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीउपर छानबिन गरेको थियो । 

ट्रस्टको आर्थिक मूल्यांकन समितिको निर्णयविपरीत कम मूल्यमा जग्गा लिजमा लिएको कम्पनीले दरबारमार्गस्थित जग्गामा भवन निर्माणलगायत काम अख्तियारले अनुसन्धान गर्दा भवन बनाइरहेको थियो । त्यति बेला पनि भवन बन्न रोकिएन । 

ट्रस्टको कार्यालयले आफैंले निर्धारण गरेको निर्णय लत्याउँदै थामसेर्कु ट्रेकिङ प्रालिले  प्रस्ताव गरेको भाडादर स्वीकृत गरिदिँदा राज्यले पाँच अर्ब रुपैयाँ गुमाएको थियो । सार्वजनिक सम्पत्ति भाडामा दिँदा सहसचिव कार्कीले आर्थिक प्रस्ताव मूल्यांकन समितिको निर्णयविपरीत हस्ताक्षर गरिदिँदा राज्यको ठूलो रकम गुमेको हो ।

थामसेर्कु ट्रेकिङ प्रालिले ल्याएको चिठीको भरमा ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीले आर्थिक प्रस्ताव मूल्यांकन समितिको निर्णय लत्याउँदै एक अर्ब ४० करोड १० लाख ८६ हजार रुपैयाँमा जग्गा भाडामा दिने सम्झौता गरेका थिए ।

थामसेर्कुले बोलपत्रमा लेखिएभन्दा कम मूल्यमा भाडामा लिएर सोहीअनुसार संरचना बनाएको थियो । ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गालाई आर्थिक प्रस्ताव मूल्यांकन समितिले २०७३ असोज १९ मा निर्माण र लिज भाडामा दिँदा ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँ प्रस्ताव स्वीकार गरेको थियो । तर, प्रालिलाई एक अर्ब ४० करोड १० लाख रुपैयाँमा लिजमा दिइएको छ ।

थामसेर्कु ट्रेकिङ प्रालि आफैंले पहिले प्रस्ताव गरेभन्दा पाँच अर्ब रुपैयाँ कम गरी सम्झौतापत्र लिएर आउँदैमा सहसचिवले त्यसमै हस्ताक्षर गरिदिएका थिए । ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्कीको निर्देशनमा सहसचिव लेखबहादुर कार्कीले प्रालि आफैंले ल्याएको सम्झौतापत्रमा हस्ताक्षर गरेको देखिन्छ । सचिवले सहसचिवलाई अधिकार प्रत्यायोजन गर्ने भएकाले सचिवको अनुमतिमा हस्ताक्षर गरेको भेटिएको थियो । 

मूल्यांकन समितिको बैठकमार्फत सम्झौता दिनुपर्ने भए पनि फर्मले मनोमानीमा भनेबमोजिमकै मूल्यमा जग्गा भाडामा दिनुलाई महालेखा परीक्षकको ५५औं प्रतिवेदनले सहसचिवलाई कारबाही गर्न सुझाव दिएको छ ।

ट्रस्ट सञ्चालक समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ । गृहमन्त्रीको अध्यक्षतामा मुख्य सचिव उपाध्यक्ष, गृहसचिव, कानून न्याय तथा संसदीय मामिलासहित विभिन्न मन्त्रालयका सचिवसहितको १० सदस्यीय सञ्चालक समिति हुने व्यवस्था छ ।

टेन्डर पनि कानूनविपरीत
भाडामा कम मूल्यमा त्यही प्रालिलाई दिन समय गुजारेको भेटिएको छ । सूचना जारी गरिएपछि प्राविधिक तथा आर्थिक प्रस्ताव ट्रस्टमा परेका थिए । प्रस्ताव मागिएको १५ दिनपछि ६ वटा संस्थाले दर्ता गरेका थिए । असार २८ सम्ममा परेका प्रस्ताव दुई महिनापछि भदौ २६ मा खोलिएको थियो । लिज डकुमेन्टअनुसार प्रस्ताव पेश गरेको ३ महिनालाई वैधता मानेको थियो ।

तर, असार २८ भित्र पेस भएको आर्थिक प्रस्ताव २०७४ वैशाख ५ मा ‘थामसेर्कु ट्रेकिङ प्रालि’लाई स्वीकृत गरिएको थियो । त्यसपछि जेठ १४ मा म्याद गुजारी कानूनविपरीत थामसेर्कुसँग सम्झौता गर्नु समय अवधि सकिएपछि दिनु महालेखाले कानूनविपरीत ट्रस्टले जग्गा भाडामा दिएको ठहर गरेको थियो । 

महालेखाको किटानी – ‘घोटाला भएको हो’
नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ घोटाला गरेको २०७४ सालको महालेखा परीक्षकको प्रतिवेदनले ठहर गरेको थियो । 

सहसचिव कार्कीको मनोमानीमा साढे १ अर्ब रुपैयाँमा यससम्बन्धी सम्झौता भएको थियो । सचिवस्तरबाट भएको निर्णयभन्दा फरक निर्णय सहसचिवले गर्नु कानूनविपरीत भएको ठहरसहित महालेखाको प्रतिवेदनमा अनियमितता गर्नेलाई तुरुन्त छानबिन गरी कानूनको दायरामा ल्याउन सुझाइएको थियो । तर, निर्णय गर्ने सचिव र सहसचिव को थिए भन्ने भने महालेखाले प्रतिवेदनमा खुलाइएको छैन ।

अवकाश लिएका सहसचिव कार्की 
६६ वर्षीय लेखबहादुर कार्की सहसचिवबाटै अवकाश भएका थिए । चितवनको भरतपुर–१५ का उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको हो । दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीले जानकारी दिएका छन् । 

संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको बताएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्