नयाँ दिल्ली (एजेन्सी) – ब्राजिलकी एक हेयरड्रेसर लारिसा नेरी यो साता भारतमा अनायासै चर्चामा रहिन् । उनको एउटा तस्वीर हालै भारतमा कथित निर्वाचन धोखाधडीको आरोपसँग जोडिएर समाचारमा प्रकाशित भएको थियो । नेरीले बीबीसीसँग कुरा गर्दै भनिन्, ‘सुरुमा मलाई लाग्यो, यो कुनै गल्ती हो वा कुनै मजाक!’
तर त्यसपछि उनको सोशल मिडिया पेजमा प्रतिक्रियाको बाढी नै आयो । धेरै मानिसहरूले उनलाई इन्स्टाग्राममा ट्याग गर्न थाले ।
नेरी भन्छिन्, ‘पहिले केही अनौठा सन्देशहरू आए । मैले सोचे – उनीहरूले मलाई कुनै अर्कै व्यक्ति ठानेका हुन् । त्यसपछि कसैले मलाई एउटा भिडियो पठायो, जसमा मेरो अनुहार ठूलो स्क्रिनमा देखिन्थ्यो ।’
उनले भनिन्, ‘मलाई लाग्यो यो एआई हो वा कुनै ठट्टा । तर जब धेरै मानिसहरूले एकैसाथ सन्देश पठाउन थाले, यो त साँच्चैको घटना रहेछ भन्ने थाहा पाएँ ।’
दक्षिणपूर्वी ब्राजिलको मिनास गेरैस प्रान्तको राजधानी बेलो होरिजोन्तेकी निवासी नेरी कहिल्यै भारत पुगेकी छैनन् । के भइरहेको छ भन्ने बुझ्न उनले गुगलको सहारा लिइन् ।
घटना यस्तो रहेछ — बुधबार भारतीय कांग्रेस नेता राहुल गान्धीले पत्रकार सम्मेलन गर्दै भारतीय जनता पार्टी (भाजपा) र निर्वाचन आयोगमाथि गत वर्ष हरियाणा विधानसभामा ‘मत चोरी’ गरेको आरोप लगाएका थिए । भाजपाले ती सबै आरोप अस्वीकार गरेको थियो ।
त्यस प्रेस सम्मेलनका केही घण्टापछि, एक्स (पूर्व ट्विटर) मा हरियाणाका मुख्य निर्वाचन अधिकृतले एउटा पत्र सार्वजनिक गर्दै बताए — अगस्ट महिनामै राहुल गान्धीलाई पत्र पठाइएको थियो, जसमा उनले अयोग्य मतदाताहरूको सूचीबारे शपथपत्रमा हस्ताक्षर गर्न अनुरोध गरिएको थियो ताकि आवश्यक कारबाही गर्न सकियोस् ।
राहुल गान्धीले यसअघि पनि निर्वाचन आयोगमाथि ‘मत चोरी’का धेरै आरोप लगाउँदै आएका छन् ।
उनका ताजा दाबीअनुसार, उनको टिमले मतदाता सूचीको तथ्याङ्क जाँच गर्दा करिब दुई करोड मतदातामध्ये २५ लाख प्रविष्टि अनियमित भेटिएका छन् । तिनमा दोहोरो नाम, एउटै व्यक्तिका धेरै मतदाता परिचयपत्र र अमान्य ठेगानाहरू समावेश गरिएका छन् ।
गान्धीले हरियाणा निर्वाचनमा कांग्रेसको हारका लागि यिनै ‘कथित हेराफेरी र नक्कली प्रविष्टि’लाई जिम्मेवार ठहराएका छन् । पत्रकार सम्मेलनमा उनले ठूलो पर्दामा स्लाइडहरू देखाउँदै उदाहरण प्रस्तुत गरे । एक स्लाइडमा राहुल गान्धी नेरीको ठूलो तस्वीर अगाडि उभिएका थिए, अर्को मा २२ मतदाताको कोलाज थियो — जसमा सबैको नाम र ठेगाना फरक तर तस्वीर एउटै थियो, अर्थात्
लारिसा नेरीकै अनुहार ।
राहुल गान्धीले भने, ‘यो महिला को हो? उमेर कति हो? यसले हरियाणामा २२ पटक मतदान गरिन् ।’
उनले देखाएको तस्बिर वास्तवमा ब्राजिलका फोटोग्राफर माथियस फेरेरोले खिचेका थिए । राहुल गान्धीले भनेका थिए — एउटै फोटो विभिन्न नाममा बारम्बार प्रयोग गरिएको छ ।
गान्धीले नेरीलाई ‘मोडेल’ भन्दै परिचय दिएका थिए । मतदाता सूचीमा नेरीको नाम सीमा, स्वीटी, सरस्वतीजस्ता नाममा देखिएका थिए ।
२९ वर्षीया नेरीले बीबीसीसँग भनिन्, ‘हो, त्यो तस्वीर मेरै हो । अलि जवान उमेरको तस्बिर हो, तर त्यो म नै हुँ । म पेशाले हेयरड्रेसर हुँ, मोडेल होइन ।’
उक्त तस्बिर सन् २०१७ को मार्च महिनामा उनको घर बाहिर खिचिएको रहेछ ।
‘फोटोग्राफरले भन्यो, म राम्रो देखिरहेकी थिएँ, त्यसैले तस्बिर लिन माग्यो,’ नेरीले भनिन् । यतिबेला वर्षौँपछि, भारतका मानिस र पत्रकारहरूबाट आएका प्रतिक्रियाले उनलाई डर लाग्न थालेको छ ।
उनले भनिन्, ‘म अत्तालिएकी छु। मेरो तस्वीर कसले किन र कसरी प्रयोग गर्यो मलाई थाहा छैन । म कसैलाई पनि चिन्दिनँ ।’
नेरीका अनुसार, उनलाई आफ्नो सैलुनको काममा असर पर्न थालेपछि उनले सोशल मिडिया प्रोफाइलबाट सैलुनको नाम हटाउनुपर्यो ।
फोटोग्राफर माथियस फेरेरो पनि अचानक फैलिएको यो प्रतिक्रियाबाट चकित भएका छन् । उनले भने, ‘मलाई धेरैले सन्देश पठाए । मैले आफ्नो सोशल मिडिया बन्द गर्नुपर्यो । गुगल गरेपछि मात्र बुझें, भारतमा के भइरहेको रहेछ ।’
फेरेरोका अनुसार, ती तस्बिरहरू नेरीको सहमतिमा सार्वजनिक गरिएका थिए, तर अहिले ती गलत सन्दर्भमा प्रयोग भइरहेको कारण उनले हटाइदिएका छन् ।
नेरी भन्छिन्, ‘मैले ब्राजिल बाहेक कहिल्यै कुनै चुनाव हेरेकी छैन, अरू देशको चुनावको कुरा त परै रहोस् ।’