लन्डन (एजेन्सी) – शनिबार भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भयो । केही विश्लेषकहरूले विमानस्थलमा साइबर आक्रमण भएको र जीपीएस छेडछाड गरिएकाले विमानहरू उड्दा गलत ठाउँमा बस्ने सम्भावना भएको भन्दै विमान उडान र अवतरण रोकिएको थियो ।
केहीले यस घटनालाई भविष्यमा अन्तरिक्षबाट नियन्त्रण गरिने युद्ध अभ्यासको एउटा प्रक्रियाका रूपमा विश्लेषण गरिरहेका छन् ।
यसबीच जर्मनी र बेलायतले रुस र चीनका अन्तरिक्ष उपग्रहहरूबाट खतरा बढ्न थालेको टिप्पणी गरिरहेका छन् । पछिल्लो समय पश्चिमा मुलुकहरूले प्रयोग गर्ने उपग्रहहरूमा रुस र चीनले नियमित रूपमा जासुसी गरिरहेको उनीहरूको आरोप छ ।
रसियाले बेलायती र जर्मन उपग्रहहरूलाई पछ्याउने, जिस्क्याउने र अवरोध गर्ने प्रयासहरू नियमितरूपमा गरेको आरोप छ । ‘विशेषगरी अन्तरिक्षमा रसियाका गतिविधिहरू हामी सबैका लागि आधारभूत खतरा हुन् । यस्तो खतरा हामी अब बेवास्ता गर्न सक्दैनौं,’ जर्मन रक्षा मन्त्री बोरिस पिस्टोरियसले सेप्टेम्बरमा बर्लिनमा अन्तरिक्ष उद्योगका अगुवाहरूलाई बताए ।
सञ्चार उपग्रहहरूलाई लक्षित गर्दा उपग्रहका तस्वीर, टेलिकम र ब्रोडब्यान्ड इन्टरनेट पहुँच प्रभावित हुन सक्छ । नेभिगेसन र स्थान निर्धारण प्रणालीमा अवरोधले सैन्य अभियान र गैरसैनिक विमान संचालनमा असर पार्न सक्ने ग्लोबल थिंक ट्यांक र्यान्ड फाउन्डेशनले जनाएको छ । यो चेतावनी युक्रेनमा रुसले पूर्णरूपमा आक्रमण गरेको तेस्रो वर्ष सुरु भएपछि आएको हो । युक्रेनी अधिकारीहरूले मस्कोले चीनसँग सहकार्य बढाएको र बेइजिङले युक्रेनका क्षेत्रमा उपग्रह जासुसी गर्दै आएको बताएका छन् ।
रुसले के गर्दैछ ?
रक्षा मन्त्री पिस्टोरियसले हालै रसियाका दुई जासुसी उपग्रहले जर्मन सशस्त्र सेनाद्वारा प्रयोग गरिने दुई इन्टेल स्याट उपग्रहहरूलाई पछ्याएको देखिएको छ । इन्टेल स्याट एउटा व्यावसायिक उपग्रह सेवा प्रदायक हो । यसलाई अमेरिकी र युरोपेली सरकार तथा कम्पनीहरूले प्रयोग गर्छन् ।
‘रुस र चीनले पछिल्ला वर्षहरूमा आफ्नो अन्तरिक्ष युद्ध गर्ने क्षमता तीव्ररूपमा वृद्धि गरेका छन् । यसअन्तर्गत उनीहरूले उपग्रहहरूलाई जाम गर्ने, अँध्यारो पार्ने, हेरफेर गर्ने वा गतिशीलरूपमा नष्ट गर्न सक्छन्,’ पिस्टोरियसले भने । यस्ता समस्या निराकरणका लागि उनले जर्मन अन्तरिक्ष कार्यक्रमका लागि करोडौं डलरको बजेट घोषण गरेका छन् ।
बेलायत अन्तरिक्ष कमाण्ड प्रमुखले पनि रुसी उपग्रहहरूले ब्रिटिश सम्पत्तिहरूलाई नजर राख्दै गरेको आरोप लगाएका छन् । ‘साप्ताहिक’रूपमा तिनीहरूलाई जाम गर्ने काम गरिरहेको पनि उनले बताए ।
‘उनीहरूसँग त्यस्ता पेलोडहरू छन् जुन हाम्रा उपग्रहहरूलाई देख्न सक्छन् र सूचना संकलन गर्ने प्रयास गरिरहेका छन्,’ मेजर जनरल पाउल टेडमनले बीबीसीलाई भने । जामिङ सामान्यतया स्थल आधारभूत पूर्वाधार प्रयोग गरी गरिन्छ । युक्रेन युद्धको सन्दर्भमा रसियाले इलेक्ट्रोनिक युद्ध क्षमता विकास गरेको छ ।
अर्कोतर्फ, नेटोका महासचिव मार्क रुटेले यस वर्ष फेरि रसियाले उपग्रहहरू नष्ट गर्न अन्तरिक्षमा आणविक हतियार विकास गर्ने योजना भएको चेतावनी दिएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक रूपमा अन्तरिक्षमा आणविक हतियार ल्याउने योजना नभएको बताएका छन् । रसियाले सन् २०२४ मा अन्तरिक्षमा आणविक हतियार विकास नगर्न संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावमा भिटो लगाएको थियो । चीन भने मतदानबाट पन्छिएको थियो । तर उल्टो रुसले जे कुरामा भिटो लगाएको थियो, त्यही विकास गरिरहेको आरोप नेटोको छ ।
जासुसी उपग्रह कसरी पत्ता लगाइन्छ ?
साधारणतः अन्तरिक्ष सेनाहरूले विदेशी उपग्रहहरू पत्ता लगाउन र स्थान निर्धारण गर्न सजिलो हुन्छ तर तिनका क्षमताहरू र उद्देश्य थाहा पाउनु निकै गाह्रो छ । रुसी उपग्रहहरूको उद्देश्य अनुमान गर्न स्थान, नजिकको वस्तु र पूर्व अनुभव आधारमा अध्ययन गरिने सीएसआईएसका विशेषज्ञ क्लेटन स्वोप बताउँछन् ।
जस्तै, यदि रसियाको उपग्रह लामो समयसम्म युरोपेली संचार उपग्रह नजिकै रहन्छ भने त्यो जासुसीको संकेत हुन सक्छ । नजिकै गएर इन्टेलस्याट उपग्रहहरूलाई संकेत अवरोध गर्ने प्रयास रसियाले गरेको विश्वास गरिन्छ ।
अन्तरिक्षको तल्लो कक्षमा, रसियाले हतियार जस्ता वस्तु परीक्षण गरेको पनि पत्ता लागेको छ । यस्ता उपग्रहहरूले प्रोजेक्टाइलजस्तै वस्तु चलाउन सक्छन् । प्रोजेक्टाइल चाहिँ कुनै लक्ष्य भेदनका लागि पठाइएका वस्तु हुन् । तिनले अन्य देशका सम्पत्तिलाई हानि गर्ने लक्ष्य राखिएको हुन्छ ।
‘रुसले यस्तो उपग्रहलाई छायाँमा राख्ने गर्दै आएको छ । तिनलाई आवश्यक पर्दाका क्षणमा आक्रमण गर्न सक्छ,’ स्वोप बताउँछन् । ‘कतिपय बेला थाहा लगाउन गाह्रो हुन्छ कि कुनै उपग्रह हतियार हो कि सूचना संकलनको हो,’ उनले थपे ।
रुस र चीनको खतरा कति ?
जर्मनी र ब्रिटेन मात्रै होइनन्, अमेरिका र फ्रान्स पनि दशकौं पहिलेदेखि रसियाको उपग्रह जासुसी र सूचना संकलन गरिरहेको भनी चेतावनी दिएका थिए । सन् २०१५ मा अमेरिकी रक्षा विभागले रुसी सैनिक उपग्रहले दुई इन्टेलस्याट उपग्रह नजिकै पार्क गरेको सूचना दिएको थियो । त्यसलाई निकै ‘रहस्यमय’ मान्दै मस्कोसँग सम्पर्क गरिएको थियो । यसैगरी सन् २०१७ मा फ्रान्स र इटालीले संयुक्त रूपमा एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि रसियाका उपग्रहले सो उपग्रह नजिकै गएर जाँच गरिरहेका थिए ।
‘यी व्यवहारहरू नयाँ होइनन्, तर युक्रेन र नेटोको हवाई क्षेत्र उल्लंघनको सन्दर्भमा यो हेर्नु आवश्यक छ,’ सुरक्षा विज्ञ जुलियाना सुएसले सीएनएनलाई भनिन् ।
चीन पनि रसियाजस्तै वा त्योभन्दा बढी खतरनाक मानिन्छ । युरोपमा रसियाको खतरा नजिकै भएकाले बढी छ भने पनि, ‘चीन ठूलो अन्तरिक्ष शक्ति हो,’ सुएसको भनाइ छ । चीनले उपग्रहमा रोबोटिक हात परीक्षण गरेको छ । यसले अरू उपग्रहलाई फरक कक्षमा सार्न सक्दछ । चीनले अन्तरिक्षमा धेरै ठूलो लगानी गरेको छ, जबकि रसियाको संसाधन सीमित छ । चीनको गतिविधि धेरैजसो अस्पष्ट छन् र उपग्रहहरूलाई नियन्त्रित गर्ने उद्देश्य पनि प्रष्ट छैन ।
युरोपको तयारी कस्तो ?
जर्मनीले अगामी पाँच वर्षमा अन्तरिक्ष परियोजनाका लागि ३५ अर्ब यूरो (४०.२ अर्ब डलर) बजेट छुट्याउने योजना बनाएको छ । ‘यो ठूलो रकम हो र यो राजनीतिक इच्छालाई पनि देखाउँछ,’ सुएसले भनिन् । तर यो निरन्तर प्रक्रिया रहेको र युरोपलाई धेरै पछाडि परेको पनि उनले जोड दिइन् ।
जर्मन रक्षा मन्त्रालयका प्रवक्ताले २०२५ मा १.९ अर्ब यूरो (२.२ अर्ब डलर) बराबरको खरिद प्रक्रिया सुरु हुने र आगामी वर्षहरूमा बढ्ने बताए । बेलायती सरकारले रक्षा खर्च वृद्धि गर्न प्रतिबद्धता जनाएको छ र अन्तरिक्ष र साइबर क्षेत्रमा बढी ध्यान दिनुपर्छ भनी रणनीतिक समीक्षा प्रस्तुत गरेको छ । फ्रान्सले ‘शरीरका रक्षाकर्ता’ उपग्रहहरू आवश्यक भएकोमा जोड दिएको छ । तिनले अन्य उपग्रहहरूलाई सुरक्षा गर्ने काम गर्नेछन् ।
अमेरिकाले धेरै वैज्ञानिक लगानीका कारण अन्तरिक्षमा निकै ठूलो अग्रता बनाएको छ । युरोपेली देशहरूले नेटोलगायत गठबन्धनअन्तर्गत सहयोग गरिरहेका छन् । नेटोले २०१९ मा अन्तरिक्षलाई ‘सञ्चालन क्षेत्र’ घोषणा गरेको छ र ५औं कलम अन्तरिक्षमा पनि लागू हुने निर्णय गरेको छ । यसले आफ्ना सदस्य राष्ट्रमाथि हुने आक्रमणलाई सबै सदस्यमाथि आक्रमण भएको मानिन्छ । यसको अर्थ, यूरोपमाथि कसैले अन्तरिक्षबाट आक्रमण गरेको ठानिए, त्यो अमेरिकाविरूद्धको आक्रमण मानिदै आक्रमणकारी देशमाथि अमेरिकाले आफ्नो बल प्रयोग गर्न सक्नेछ ।