काठमाडौं (संवाददाता) – नेपाल घुम्न आएर अन्नपूर्ण पदमार्ग क्षेत्रमा हराएका बाबुछोरीको शव फेला परेको छ । भारतको सूरतका ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई भण्डारी र उनकी १७ वर्षीया छोरी प्रियन्साकुमारी आइतबार मृत फेला परेका हुन् । सूरतको बर्दोली तहसीलस्थित कडोद गाउ“का उनीहरू कात्तिक ३ गतेदेखि सम्पर्कविहीन थिए ।
सशस्त्र प्रहरीका डीएसपी हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले मनाङको मनाङ ङिस्याङ–५ मा रहेको मिलेरेपा गुम्बाभन्दा करिब एक सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवैको शव फेला पारेको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिएका छन् ।
उनका अनुसार शवलाई जिल्ला अस्पताल मनाङ ल्याएर सोमबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाउने तयारी छ ।
मनाङ ङिस्याङ–४ स्थित ग्याल्सेन होटलमा बास बसेका जिग्नेसकुमार र प्रियन्सा कात्तिक ३ गते मिलेरेपा गुम्बा घुम्न गएका थिए । त्यसपछि उनीहरू होटलमा फर्किएका थिएनन् । होटल सञ्चालकले ‘गुम्बा घुम्न गएका दुई पर्यटक फर्केर नआएको’ सशस्त्र प्रहरी बल र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएपछि उद्धार टोलीले हिमपातले ढाकिएको क्षेत्रमा खोजी सुरु गरेको थियो ।
नेपाल भ्रमणका लागि जिग्नेसकुमार र प्रियन्सा गत असोज २८ मा भारतको सूरतबाट काठमाडौं आएका थिए । काठमाडौंबाट उनीहरु अन्नपूर्ण क्षेत्र गएका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अन्तिम पटक जिग्नेसकुमारले श्रीमती जाग्रुतिबेनसँग फोनमा कुरा गर्दा अन्नपूर्ण क्षेत्रमा भारी हिमपातका कारण बाटो अवरुद्ध भएको बताएका थिए । त्यसपछि उनीहरूबीच सञ्चार सम्पर्क टुटेको थियो ।
बाबुछोरी सम्पर्कविहीन भएपछि जाग्रुतिबेनले सूरतस्थित कडोद प्रहरी चौकीमा उजुरी दिँदै भारतको विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासमा सहयोग मागेकी थिइन् । घटनाबारे बर्दोलीका विधायक ईश्वर परमारले पनि मुख्यमन्त्री कार्यालय र प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेका थिए । उनका अनुसार भारतीय दूतावास निरन्तर नेपाली प्रहरी र परिवारसँग सम्पर्कमा थियो ।
पर्वतारोहणका सोखिन बाबुछोरी मृत भेटिएको खबरले कडोद गाउँ शोकमग्न छ । नेपाल प्रहरी र भारतीय दूतावासले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव भारत पठाउने तयारी गरिरहेका छन् ।