नेभिगेशन
विश्व
नयाँ दिल्ली

दिल्लीमा विस्फोट, ८ को मृत्यु

नयाँ दिल्ली (एजेन्सी) – भारतको राजधानी नयाँ दिल्लीको भीडभाडयुक्त क्षेत्रमा अवस्थित ऐतिहासिक लाल किल्ला नजिक भएको एक विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लाल किल्ला नजिकै पार्क गरिएको एक कारमा विस्फोट भएको थियो । विस्फोटको वास्तविक कारण भने तत्काल पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

स्थानीय टेलिभिजन च्यानलहरूले कम्तीमा ११ जना घाइते भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यममा सार्वजनिक दृश्यहरूमा धेरै सवारीसाधनमा आगो लागेको देखिन्थ्यो । आगलागी भएको क्षेत्र पुरानो दिल्लीको भीडभाडयुक्त सडकमा, मेट्रो स्टेशन नजिक रहेको बताइएको छ ।

विस्फोटका कारण कम्तीमा छ वटा सवारीसाधन र तीन वटा अटोरिक्सामा आगो लागेको थियो । दमकलका टोलीले आगो नियन्त्रणमा लिएका थिए ।

‘हामीले ठूलो आवाज सुन्यौं, हाम्रो घरका झ्याल नराम्रोसँग हल्लिए,’ एक जना स्थानीय वृद्धले स्थानीय टेलिभिजनसँग कुरा गर्दै बताए ।

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर भीड हटाएको छ । मुगलकालीन १७औँ शताब्दीमा निर्माण गरिएको ऐतिहासिक गढ लाल किल्ला पुरानो शहरी क्षेत्रमा पर्दछ । यहाँ वर्षभरि हजारौँ पर्यटकहरूले भ्रमण गर्ने गर्छन् । यसअघि भारतको उत्तर प्रदेश र हरियाणाका विभिन्न ठाउँमा तीन चिकित्सकसहित ८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट २९ सय किलो विस्फोटक बरामद गरेको घटनाको पृष्ठभूमिमा दिल्ली विस्फोट आतंकवादी आक्रमण भएको केहीको आशंका छ ।

प्रहरीले भने अनुसन्धान जारी रहेकाले तत्कालै केही बताउन नसकिने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्