नेभिगेशन
प्रदेश

बहुविवाहमा पक्राउ एमाले नेता शेर्पा पैसा तिरेर थुनामुक्त

काठमाडौं (संवाददाता) – बहुविवाहमा पक्राउ परेर दोषी ठहर भई कारागारमा पठाइएका एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कैदबापतको रकम बुझाएर सोमबार छुटेका छन् । अदालतको आदेशबमोजिम एक वर्षको कैद र जरिवानाबापतको रकम बुझाई उनी रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले रकम बुझाएर छोडिदिन आदेश गरेको थियो । एक साता अघि पक्राउ परेका शेर्पाले ‘कैदबापतको रकम बुझाउन पाऊँ’ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए । मागबमोजिम अदालतले आदेश गरेपछि उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् । 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ मा कैदबापत रकम तिर्न सकिने सुविधा दिइएको छ । ‘कुनै कसुरमा पहिलो पटक कसुरदार ठहरी एक वर्ष वा एक वर्षभन्दा कम कैद सजाय भएको मुद्दामा कसुरदारको उमेर, कसुरको गम्भीरता, कसुर गरेको तरिका, आचरणसमेतलाई विचार गर्दा कारागारमा राख्न उपयुक्त नदेखिएमा तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा पुग्नेसमेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यसबापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठहर्‍याएमा कैदबापतको रकम तिरी कैद बस्नुनपर्ने गरी आदेश दिन सक्नेछ’ कानूनमा व्यवस्था छ ।

त्यस्तो व्यक्तिलाई कुनै प्रकारको कसुर नगरी राम्रो आचरण पालन गर्ने, रकम तिरी कैद बस्नुनपर्ने गरी आदेश भएको कसुरदारले कैदबापत बुझाउँदा एक दिन कैद बसे बराबर तीन सय रुपैयाँका दरले रकम बुझाउनुपर्ने कानूनी व्यवस्था छ । 

कानूनको यसै व्यवस्थाअनुसार अदालतले आदेश गरेको हो । अदालतले उनको मागबमोजिम नै आदेश गरेपछि उनी छुटेको कारागार प्रशासनले जानकारी गराएको छ । 

उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए । 

शेर्पालाई बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको थियो । काठमाडौं जिल्ला अदालतले गरेको फैसला उच्च अदालत पाटनले सदर गरेपछि उनलाई पक्राउ गरिएको थियो । 

शेर्पाकी पहिलो श्रीमती करिश्मा खरेल शेर्पासँग २०६२ असारमा विवाह गरेका थिए । त्यसपछि उनले २०६३ साल मंसिरमा कान्छी श्रीमती पूजा परियारसँग विवाह गरेका थिए । उनले दोस्रो विवाह गरेपछि जेठी श्रीमती करिश्माले काठमाडौं जिल्ला अदालतमा बहुविवाहको मुद्दा दर्ता गरेकी थिइन् । 

बहुविवाह ठहर भएपछि शेर्पालाइ १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । शेर्पासँग विवाह गरेकी पूजाको हकमा अदालतले सफाई दिएको थियो । 

शेर्पाकी जेठी श्रीमतीबाट एक छोरा र एक छोरी छन् । कान्छी श्रीमतीबाट पनि एक छोरी र एक छोरा छन् । ‘पासाङ शेर्पा र पूजा परियारबीच भएको विवाह मुलुकी अपराध संहिता, २०७४ को दफा १७६(३) बमोजिम बदर गरी पाऊँ भन्ने व्यहोरा अभियोगपत्रमा उल्लेख भए पनि निज प्रतिवादीहरूबीच भएको विवाह मुलुकी अपराध संहिता २०७४ लागू हुनुपूर्वको देखिँदा उक्त विवाह बदर गरी पाऊँ भन्ने दाबी पुग्न सक्दैन’ अदालतले भनेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला