नेभिगेशन
प्रदेश

आन्दोलनले अस्पतालमा सेवा ठप्प, बिरामी रित्तै फर्किए

सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सक र कर्मचारीको आन्दोलनका कारण सोमबार उपचारका लागि आएका सेवाग्राहीहरू घर फर्किन बाध्य भएका छन् । अस्पतालका तथ्यांकअनुसार, औसतमा दैनिक तीन सय जना बिरामी ओपीडीमा जाँच गराउन आउने गरेका छन् ।

सप्तरीको रूपनी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय सिताराम मंडल उपचारका लागि राजविराजस्थित अस्पताल पुगे पनि, चिकित्सक नबस्ने भएपछि फर्किनु परेको बताए । उनले भने, ‘आइतबार जाँच गराए, रिपोर्ट सोमबार आउँछ र त्यसपछि औषधि लेखिन्छ भनियो । तर, आज आउँदा जाँच गर्ने कोही छैन, चिकित्सक ओपीडीमा बस्दैनन् ।’

त्यस्तै, महादेवा गाउँपालिकाका शिवनारायण यादव, अनिल यादव, र गितादेवी आफ्ना परिवारजनको उपचारका लागि अस्पताल पुगे पनि चिकित्सक नहुँदा निराश भएर फर्किनु परेको थियो ।

अस्पतालमा ओपीडी सञ्चालन हुन नसक्ने कारण आइतबार भएको घटनाक्रम रहेको छ । रूपनी गाउँपालिका वडा नम्बर ३ का रेखा यादवको नवजात शिशु एनआइसीयुमा भर्ना भएको थियो । अचानक बेडमा चिम खसेर आगो लाग्दा शिशुको टाउको र हातमा जलन भएको थियो । आक्रोशित आफन्त र केही युवाहरूले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए ।

अस्पतालका निमित्त मेसु डा. दिलिप साहले भने, ‘काम गर्न सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म कोही पनि कर्मचारी काममा फर्किँदैनन् ।’

प्रहरीले अस्पतालमा उपद्रव गर्ने राजविराज–४ का विनित चौहान, उदय ठाकुर, बिष्णुपुर–६ का परमेश्वर यादव र उनका छोरा रमण यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतम कुमार केसीले जानकारी दिएका छन् । घाइते नवजात शिशु हाल विराटनगरको अस्पतालमा खतरामुक्त अवस्थामा उपचाररत रहेको बुझिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला