एजेन्सी – ब्रिटेनको सार्वजनिक प्रसारक बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका छन् । उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणलाई ‘बीबीसी प्यानोरामा’ कार्यक्रममा सम्पादन गरी दर्शकलाई भ्रममा पारेको आरोप लगाइएपछि पदत्याग गरेका हुन् ।
पाँच वर्षदेखि महानिर्देशक रहेका डेभी पछिल्ला महिनामा पक्षपात, सम्पादकीय त्रुटि र राजनीतिक दबाबका कारण विवादमा तानिँदै आएका थिए ।
‘द टेलिग्राफ’ले सोमबार प्रकाशित गरेको एक गोप्य आन्तरिक मेमोमा बीबीसीको प्यानोरामा कार्यक्रमले ट्रम्पको जनवरी २०२१ को भाषणका दुई टुक्रा जोडेर सम्पादन गरेको दाबी गरिएको थियो । सम्पादनपछि ट्रम्पले क्यापिटल हिलमा दंगा भड्काएको जस्तो देखिएको बताइएको छ ।
बीबीसीको अनुसार, वास्तविक भाषणमा ट्रम्पले भनेका थिए – ‘हामी क्यापिटलसम्म जानेछौं र हाम्रा बहादुर सिनेटर तथा कांग्रेस सदस्यहरूलाई उत्साहित पार्नेछौं ।’
तर सम्पादित संस्करणमा यसलाई यसरी प्रस्तुत गरिएको थियो – ‘हामी क्यापिटलसम्म जानेछौं, म तिमीहरूसँग हुनेछु, र हामी पूरै शक्तिले लड्नेछौं ।’
यी दुई वाक्य बीच करिब ५० मिनेटको अन्तराल रहेको थियो ।
राजीनामा घोषणा गर्दै टिम डेभीले भने, ‘बीबीसी त्रुटिमुक्त संस्था होइन । पारदर्शिता र जवाफदेहिताको मापदण्ड कायम राख्नु हाम्रो जिम्मेवारी हो । हालको विवादले मेरो निर्णयलाई प्रभाव पारेको हो, र अन्ततः यसको जिम्मेवारी मेरो कन्धामा पर्छ ।’
समाचार प्रमुख डेबोरा टर्नेसले पनि वक्तव्य जारी गर्दै भनिन्, ‘प्यानोरामा विवादले बीबीसीको साखमा धक्का पुर्याएको छ । केही गल्तीहरू भएका छन्, तर संस्थागत पक्षपातका आरोप पूर्णरूपमा गलत हुन् ।’ बीबीसीका अध्यक्ष समीर शाहले यो घटनालाई ‘बीबीसीका लागि दुःखद दिन’ भनेका छन् । शाह सोमबार संसदको समितिसमक्ष उपस्थित हुँदै माफी माग्ने अपेक्षा गरिएको छ ।
डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, ‘बीबीसीका शीर्ष अधिकारीहरू फसकिएका छन् । उनीहरूले मेरो जनवरी ६ को भाषण तोडमोड गरेर प्रस्तुत गरे ।’ उनले बीबीसीलाई ‘लोकतन्त्रका लागि लाजमर्दो संस्था’ भन्दै आलोचना गरे ।
ब्रिटिश सांसदहरूको कल्चर, मिडिया र स्पोर्ट समितिकी अध्यक्ष डेम क्यारोलाइन डाइनेजले भने, ‘लगातार गल्ती र विवादको शृङ्खलाले बीबीसीको विश्वसनीयता गम्भीररूपमा प्रभावित गरेको छ ।’
फुटेको मेमोमा बीबीसीको ट्रान्सजेन्डर मुद्दा, इजरायल–गाजा कभरेज र सम्पादकीय निष्पक्षताबारे पनि चिन्ता व्यक्त गरिएको छ ।
त्यसैगरी, प्रस्तुतकर्ता मार्टिन क्रोक्सलसँग सम्बन्धित २० उजुरी सही ठहरिएपछि संस्थागत कमजोरी झन प्रस्ट भएको बताइएको छ ।
पूर्व बीबीसी न्यूज प्रमुख रोजर मोसीले भने, ‘ट्रम्पको भाषणलाई जसरी सम्पादन गरियो, त्यसलाई कुनै पनि हालतमा पत्रकारिताको मापदण्डले उचित ठहर्याउन सकिँदैन ।’
च्यानल ४ की पूर्व न्यूज प्रमुख डोरोथी बर्नले पनि बीबीसीको ढिलो प्रतिक्रियालाई ‘व्यावसायिक असफलता’ को संज्ञा दिइन् ।
टम डेभीले आफ्नो अन्तिम वक्तव्यमा भने, ‘बीबीसी अझै पनि विश्वस्तरको पत्रकारिताको ‘गोल्ड स्ट्यान्डर्ड’ हो । नयाँ नेतृत्वमार्फत आगामी महिनामा संस्थागत सुधारका योजना अघि बढाइनेछ ।’
बीबीसी बोर्डले नयाँ महानिर्देशकको योजना–बद्ध नियुक्ति प्रक्रिया सुरु गर्ने जनाएको छ ।