नेभिगेशन
विश्व

१५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा डेनमार्कको प्रतिबन्ध

एजेन्सी – डेनमार्क सरकारले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले लिएको यो निर्णयलाई युरोपियन संघ (ईयु)भित्रको सबैभन्दा कडा डिजिटल सुरक्षा कदमका रूपमा हेरिएको छ ।

सरकारले जनाएको छ कि डिजिटल संसारमा बालबालिकाहरूलाई बिना निगरानी छोड्नु ‘गम्भीर गल्ती’ हो, जहाँ हानिकारक सामग्री र व्यावसायिक स्वार्थहरूले उनीहरूको मानसिक र सामाजिक विकासमा नकारात्मक प्रभाव पारिरहेका छन् ।

सामाजिक मामिला मन्त्रालयका अनुसार, बालबालिका र किशोर– किशोरीहरूमा निद्रामा अवरोध, ध्यान केन्द्रित गर्न कठिनाइ र डिजिटल सम्बन्धको दबाब तीव्र रूपमा बढेको छ । मन्त्रालयले वयस्कहरू सधैं उपस्थित नहुने यस्तो डिजिटल वातावरणले बालबालिकाको वास्तविक सामाजिक जीवनलाई असर गरिरहेको चेतावनी दिएको छ ।

सरकारले अभिभावकहरूको भूमिकालाई पनि महत्त्व दिँदै, विशेष छानबिनपछि १३ वर्षसम्मका बालबालिकालाई अनुमति दिन सकिने जनाएको छ । तर यसको लागि अभिभावकको प्रत्यक्ष स्वीकृति र निगरानी अनिवार्य हुनेछ ।

यससँगै डेनमार्क सामाजिक सञ्जाल प्रयोगमा कानूनी उमेर सीमा तोक्ने पहिलो ईयु देश बन्नेछ ।

यसअघि, अष्ट्रेलियाली संसदले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको थियो । सो विधेयकअनुसार एक्स , टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले बालबालिकालाई खाता खोल्नबाट रोक्न असफल भएमा ३२.५ मिलियन अमेरिकी डलरसम्म जरिवाना हुन सक्छ ।

डेनमार्कको यो नयाँ नीति लागू भएपछि अन्य युरोपेली देशहरूले पनि डिजिटल उमेर सीमा र बालसुरक्षा नीतिमा पुनर्विचार गर्न सक्ने विश्लेषकहरूको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्