ताइवानलाई लिएर जापानको सम्भावित सैन्य संलग्नताको विषयमा जापान र चीन विवादमा फसेका छन् । जापानकी प्रधानमन्त्री सानी टाकाइचीले ताइवानमा आक्रमण भएर जापानलाई ‘अस्तित्वको खतरा’ निम्त्याएको अवस्थामा देशको आत्मरक्षा बल तैनाथ हुन सक्ने बताएकी थिइन् । त्यसपछि यस महिनाको सुरुवातमा नै बेइजिङले कडा प्रतिक्रिया जनाएको थियो ।
टाकाइचीले सामूहिक आत्मरक्षाको अधिकार प्रयोग गर्न सकिने (सहयोगी राष्ट्रलाई सहयोग पुर्याउने) बताएकी थिइन् । संसदीय समितिलाई सम्बोधन गर्दै उनले ताइवान द्वन्द्वमा युद्धपोत र बलको प्रयोगसहित सैन्य द्वन्द्व भए जापानको अस्तित्वको लागि सीधा खतरा हुने बताएकी थिइन् । यो स्थिति धेरै गम्भीर भएको उल्लेख गर्दै उनले जापानले सबैभन्दा खराब सम्भावित परिणामको लागि तयारी गर्नुपर्ने बताएकी थिइन् ।
चीनले भने ताइवानलाई कब्जा गर्न बल प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गरेको छैन । प्रधानमन्त्री टाकाइचीको ताइवानसम्बन्धी टिप्पणीका सन्दर्भमा ओसाकास्थित चिनियाँ कन्सुलर जनरल शुए जियानले सामाजिक सञ्जाल ‘एक्स’मा एउटा पोस्ट गरेपछि विवाद झनै चर्किएको थियो । कन्सुलर जियानले ‘एक्स’ मा भनेका थिए, ‘हामीमाथि बिनाहिचकिचाहट बढेको त्यो फोहोर घाँटी काट्नुबाहेक हामीसँग अरू कुनै विकल्प छैन । के तपाईं तयार हुनुहुन्छ ?’ शुएको उक्त पोस्ट पोष्ट गरेको केही समयपछि हटाइएको थियो । टोकियोका अधिकारीहरूले उक्त पोष्ट ‘अत्यन्तै अनुपयुक्त’ भन्दै निन्दा गरेका छन् । जापानका वरिष्ठ सरकारी प्रवक्ता मिनोरु किहाराले पत्रकारहरूलाई भने, ‘हामीले कडा विरोध जनायौँ र उक्त पोस्ट हटाउन आग्रह गर्यौं ।’ उनले शुएका अन्य धेरै अनुपयुक्त टिप्पणीहरूको पनि जानकारी भएको बताए ।
जापानले चीन र ताइवानबीचको सम्भावित द्वन्द्वमा आफ्नो भूमिका कसरी रहने भन्ने प्रश्नमा लामो समयदेखि संघर्ष गरिरहेको छ । ताइवान जापानको पश्चिमी टापु योनागुनीबाट करिब १०० किमि मात्र टाढा छ ।
जापानको संविधानले अन्तर्राष्ट्रिय विवादहरू समाधान गर्न बल प्रयोग गर्न निषेध गर्दछ । तर, सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको नेतृत्वमा पारित एक कानुनले जापानमाथि सीधा आक्रमण नभएको अवस्थामा निश्चित परिस्थितिमा सामूहिक आत्मरक्षा प्रयोग गर्न अनुमति भने दिन्छ । यस्ता परिदृश्यमा प्रायः अमेरिकी नेतृत्वमा हुने सैन्य कारबाहीमा जापानी सहयोग समावेश हुने सम्भावना रहन्छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुएको पोस्टलाई टाकाइचीका ‘गलत र खतरनाक’ टिप्पणीहरूको प्रतिक्रिया भएको बताए । उनले भने, ‘चीनले जापानलाई ताइवान मुद्दामा आफ्नो ऐतिहासिक जिम्मेवारीबारे सोच्न र ‘ताइवान स्वतन्त्रता समर्थक शक्तिहरू’लाई कुनै पनि गलत सन्देश दिन रोक्न कडा आग्रह गर्दछ ।’ ताइवानको राष्ट्रपतीय कार्यालयकी प्रवक्ता कारेन कुओले भने, ‘चिनियाँ अधिकारीहरूले जापानप्रति गरेका धम्कीपूर्ण टिप्पणीहरूलाई हामीले गम्भीरताका साथ लिएका छौँ । यस्तो व्यवहार स्पष्ट रूपमा कूटनीतिक शिष्टाचारको उल्लंघन हो ।’ त्यस्तै, जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले ‘एक्स’ मा लेख्दै चिनियाँ कूटनीतिक भाषाले टाकाइची तथा जापानी जनतालाई ‘धम्की’ दिएको टिप्पणी गरे ।