नेभिगेशन
विश्व

इस्लामाबाद अदालतबाहिर विस्फोट, १२ जनाको मृत्य

पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालतबाहिर मंगलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले स्थानीय सन्चार माध्यमलाई जानकारी दिएका छन् । उनले आत्मघाती विस्पोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको बताए । प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ । घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार आक्रमणकारीहरू न्यायिक परिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसके पछि अन्ततः परिसर बाहिर प्रहरीको गाडीमा आक्रमण गरेको जनाइएको छ । विस्फोटको कारण केही गाडीहरूमा आगो लाग्नुका साथै केही क्षतिग्रस्त भएको जनाइएको छ । घटनास्थलबाट आत्मघाती आक्रमणकारीले शरीरका अङ्गहरू बरामद गरेको प्रहरीले जनाएको छ भने फरेन्सिक टोलीले आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ ।

जिल्ला प्रशासनले अदालत परिसर खाली गरेको छ भने सुरक्षा विभागले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरेको जनाइएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ ।

यद्यपि, सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै सिन्ह्वाले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित संगठन तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)ले आक्रमण गरेको जनाएको छ । विस्फोटपछि अदालत परिसर र वरपरका क्षेत्रमा सुरक्षाकर्मीको ठूलो उपस्थिति देखिएको छ । प्रहरी र फोरेन्सिक टोलीहरूलाई घटनास्थलमा खटाइएको छ र प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ ।विस्फोटको कारण, सम्भावित लापरबाही र अन्य कारकहरूबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन् । सुरक्षा कारण अदालतका सबै सुनुवाइ र कार्यवाहीहरू तत्कालका लागि स्थगित गरिएको छ । प्रहरीले सर्वसाधारणलाई सचेत रहन र भीडभाड क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्