काठमाडौं । सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेसँगै नाम, जन्ममितिलगायतका व्यक्तिगत विवरण सच्चाउन मिल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको थियो ।
कुनै पनि नेपाली नागरिकले नाम, जन्ममितिसहित व्यक्तिगत पाँचवटा विवरण एकपटकका लागि सच्चाउन पाउनेछन् । जन्म, विवाह, सम्बन्धविच्छेद, मृत्यु र बसाइँसराइका व्यक्तिगत घटना दर्ताको
क्रममा त्रुटी भएका विवरण सच्चाउन पाइने भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता नियमावली संशोधन गर्ने सरकारको निर्णयले व्यक्तिगत घटना विवरण सच्याउने प्रक्रिया सहज हुने बताएकी छन् । ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६’ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरूका हकमा मात्रै लागू थियो । छोराछोरीको जन्म दर्ता गरेर त्यसपछिका अन्य कागजपत्र नबनाइदिँदा उनीहरूका सन्तानले दुःख पाएका थिए । यो झण्झटलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधन गरी फुकाइएको हो ।
प्रधानमन्त्री कार्कीले पहिले जन्म दर्ता अनिवार्य नभएको र एसएलसी परीक्षाको फारम भर्ने बेलामा मात्रै विद्यार्थीको उमेर १६ वर्ष लेख्ने गरिने स्मरण गरिन् ।
‘जन्ममिति जहिले भए पनि, नागरिकता विद्यालयका सर्टिफिकेटको आधारमा बनाइन्थ्यो । त्यसकारण जन्ममिति र नागरिकतामा एकरुपता नहुने समस्या आउने गरेको थियो’ उनले भनिन् ।
फरक विवरणका कारण कतिपयको जन्मदर्ता र नागरिकताको विवरण नमिल्दा वैदेशिक अध्ययन प्रक्रिया, रोजगारीलगायतका काममासमेत अप्ठ्यारो परेको थियो । नागरिकता, शैक्षिक प्रमाणपत्रमा फरकफरक व्यक्तिगत विवरण हुँदा सरकारी सेवा सुविधा लिने क्रममा नागरिकले सास्ती पाउने गरेका छन् । व्यक्तिगत घटना विवरण दर्ता गर्न वा सच्याउने काम सम्बन्धित वडा कार्यालयले गर्दै आएको छ ।
सरकारले यस अघि नै व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्नेगरी ऐन बनाएको थियो । ऐनमा स्पष्ट नहुँदा बिग्रेका नाम, थर, जन्ममितिलगायतका विवरण सच्चाउन असहज भएको गुनासो सर्वसाधारणको थियो । अघि नै बनेको कानून अनुसार नियमावली संशोधन गरेर एकपटकका लागि सहजै व्यक्तिगत विवरण सच्चाउनसक्नेगरी व्यवस्था गरिएको हो ।