नेभिगेशन
विश्व

टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु

अजरबैजानमा एक मिशन सकेर फर्किरहेको टर्कीको एक सैन्य कार्गो विमान मंगलबार जर्जिया र अजरबैजानको सीमानजिक दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै २० जना सैनिकको मृत्यु भएको छ । टर्कीको रक्षा मन्त्रालयले विमानमा सवार सबैजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

जर्जियाको हवाई यातायात नियन्त्रण निकाय साकाएरोनाभिगेत्सिया का अनुसार सी–१३० हरक्यूलिस विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडारबाट हराएको थियो । विमान जर्जियाको सिघ्नाघी क्षेत्रमा, अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा खसेको बताइएको छ । टर्कीको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अजरबैजानबाट घर फर्किरहेको हाम्रो सी–१३० सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमामा दुर्घटनाग्रस्त भएको छ ।’ मन्त्रालयका अनुसार विमानमा रहेका सबै २० जना उडान दलका सदस्य रहेका थिए ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृतक सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ‘सहिदहरूका परिवारप्रति हार्दिक समवेदना’ प्रकट गरेका छन् । उनले टर्कीले जर्जियाली अधिकारीहरूसँग समन्वय गरेर दुर्घटनासम्बन्धी सम्पूर्ण विवरण बुझिरहेको जनाएका छन् । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभ र टर्कीका विदेशमन्त्री हाकान फिदानले पनि जर्जियाली पक्षसँग समन्वय गर्दै समवेदना प्रकट गरेका छन् ।

अजरबैजानको मिडियामा प्रसारित भिडियोहरूमा विमान जमिनमा खस्नुअघि अनियन्त्रितरूपमा घुमिरहेको र त्यसपछि ठूलो विस्फोटसहित कालो धुवाँको मुस्लो उठिरहेको देखिएको छ । दुर्घटनास्थलबाट प्राप्त दृश्यहरूमा खेतको बीचमा जलेको भग्नावशेष मात्र बाँकी देखिएको छ । टर्कीको रक्षा मन्त्रालयले सञ्चारमाध्यमहरूलाई दुर्घटनासम्बन्धी दृश्यहरू प्रकाशन नगर्न आग्रह गरेको छ ।

जर्जियाली एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूका अनुसार विमान अजरबैजानको गन्जा विमानस्थलबाट उडेको थियो र कुनै पनि आपत्कालीन संकेत पठाउनुअघि नै राडार सम्पर्क टुटेको थियो । सी–१३० हरक्यूलिस विमान अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित हो र विश्वका विभिन्न देशहरूमा सैन्य कार्गो सञ्चालनका लागि प्रयोग हुने सबैभन्दा विश्वसनीय विमानहरू मध्ये एक मानिन्छ ।

दुर्घटनाको कारण अहिले सम्म स्पष्ट भएको छैन । टर्की र जर्जियाली अधिकारीहरूले संयुक्त रूपमा घटनाको अनुसन्धान सुरु गरेका छन्, जसको प्रारम्भिक नतिजा केही हप्ताभित्र सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्