नेभिगेशन
उपत्यका

ग्लोबल आइएमईको आठ प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश वार्षिक साधारणसभाबाट पारित भएको छ । बुधबार बसेको बैंकको १९औं वार्षिक साधारणसभाले कर सहित सो लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।

साधारणसभामा आफ्नो मन्तब्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन् । साथै, बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे ।

साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरू, शेयरधनी, संस्थागत शेयरधनीका प्रतिनिधिहरू, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधिहरू, कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकका देशभर ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्