नेभिगेशन
उपत्यका

पूर्वमन्त्री खड्काको ब्यांकेटमा महानगरको डोजर

काठमाडौं । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले चलाएको ब्यांकेट र कम्पनीका संरचना काठमाडौं महानगरपालिकाले भत्काइदिएको छ ।

बिहीबार बिहान डोजरसहित पुगेको नगर प्रहरीको टोलीले लैनचौर ब्यांकेट भत्काएको हो । नेपाल स्काउटको स्वामित्वमा रहेको उक्त जग्गा खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडामा लिएर प्रयोग गर्दै आएको थियो ।

स्काउटका अनुसार कम्पनीले लामो समयदेखि भाडा नतिरी करिब ७ करोड रुपैयाँ बक्यौता राखेको छ । संस्थाले कात्तिक २० गते सार्वजनिक सूचना जारी गरी सात दिनभित्र सम्पूर्ण भाडा र जरिवाना बुझाउन अन्तिम म्याद दिएको थियो । उक्त म्याद सकिएलगत्तै महानगरले स्काउटलाई सहयोग गर्दै संरचना भत्काएको हो ।

स्काउटको कामपा–२६ लैनचौरमा रहेको ३ रोपनी जग्गा खड्का ल्यान्ड डेभलपमेन्टले २०६५ सालमा १० वर्षका लागि भाडामा लिएको थियो । सम्झौता अवधि २०७५ सालमा सकिए पनि कम्पनीले जग्गा फिर्ता नगरेको स्काउटको भनाइ छ ।

उक्त विवादमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटन दुवैले नेपाल स्काउटको पक्षमा फैसला गरिसकेका छन् । अदालतको आदेश र पटक–पटकको पत्राचारको अवज्ञा गर्दै कम्पनीले जग्गा नछोडेपछि स्काउटले ३५ दिने र त्यसपछि सात दिने गरी दुईपटक सार्वजनिक सूचना जारी गरेको थियो ।

स्काउटले सूचनामा भवन तथा सामग्री जफत गरी बक्यौता असुलउपर गर्ने चेतावनी दिएको थियो । तोकिएको समयसम्म रकम नतिरेपछि बिहीबार संरचना भत्काइएको हो ।

खड्काले राजनीतिक पहुँच प्रयोग गर्दै लामो समयसम्म संस्थालाई दबाबमा राखेका थिए । तर हाल सरकार परिवर्तनसँगै उनी शक्तिहीन बनेपछि हटाउने निर्णय कार्यान्वयन गर्न स्काउटलाई सहज भएको हो।

स्काउटले बक्यौता रकम खड् का ल्यान्ड डेभलपमेन्ट प्रालिका अन्य सम्पत्तिबाट समेत असुल गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्