नेभिगेशन
प्रदेश

रानी जमरा आयोजनाप्रति स्थानीयबासी आक्रोशित

कैलाली । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको रानी जमरा कुलरिया सिँचाइ आयोजना कैलाली जिल्लाको पूर्वी क्षेत्रमा कृषिको आशा बनेको आयोजना हो । तर पछिल्ला वर्षमा यही आयोजना स्थानीय नागरिकका लागि त्रास र मृत्युको कारण बन्दै गएको छ ।

लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका करिब दुई लाख नागरिक लाभान्वित हुने भनिएको यो आयोजनाको नहरमा अहिलेसम्म ३५ जनाको डुबेर ज्यान गुमिसकेको छ । बालबालिका, विद्यार्थीदेखि युवासम्मले अकालमै जीवन गुमाउँदा स्थानीयहरू आयोजनाको लापरबाहीप्रति आक्रोशित बनेका छन् ।

बल्चौरस्थित बादी बस्तीका दुई जना, चौधरी बस्तीका दुई जना सहित अन्य बस्तीका नागरिकहरू पनि नहरमा डुबेर मृत्यु भएको स्थानीयहरूले बताएका छन् । आर्थिक वर्ष २०६६/६७ देखि निर्माण थालिएको यो आयोजना अझै पूर्णरूपमा सम्पन्न नभएसम्मै स्थानीय बासिन्दाको ज्यान लिँदै आएको छ ।

जोखिमयुक्त स्थानहरूमा तारजाली नगर्दा मानवीय क्षति बढेको स्थानीयवासीहरूको आरोप छ । लम्कीचुहा–३ का बादी र चौधरी बस्तीमा केही ठाउँमा मात्रै तारजाली गरिएको र बाँकी क्षेत्रमा आयोजनाले बेवास्ता गरेको स्थानीयहरूको गुनासो छ ।

बादी समुदायकी नेता रमा बादी भन्छिन्, ‘आयोजनाले सुरुमा हामीलाई खुसी बनायो, तर अहिले हाम्रो बस्तीका बालबालिकाको ज्यान जोखिममा छ । यदि सबै ठाउँमा तारजाली नलगाइए हामी आन्दोलनमा उत्रिन्छौं ।’

स्थानीय दीपक बादीले विद्यालय जाने बालबालिकाबारे हरेक दिन चिन्ता हुने गरेको बताए । ‘बालबालिका घर फर्किन ढिलो भए कि नहरमा केही भयो कि भन्ने डर लाग्छ ।’ उनले भने ।

यता आयोजना पक्षले भने जोखिमपूर्ण क्षेत्रहरूमा तारजाली गर्ने काम सुरु गरिएको जनाएको छ । आयोजना कार्यालयका वरिष्ठ समाजशास्त्री तथा सामाजिक वातावरण शाखा प्रमुख कृष्ण उप्रेतीका अनुसार, ‘बस्तीवरिपरिका क्षेत्रमा पशु र बालबालिकाको आवतजावत रोक्न नहरछेउ तारजाली सुरु गरिएको छ । साथै थप ४–५ किलोमिटर तारवारका लागि बजेट छुट् याइएको छ ।’

रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई कान्द्रा नदीसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । पथरैया नदीसम्म विस्तार भएपछि करिब ६ हजार हेक्टर, र कान्द्रासम्म पुगेपछि १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य रहेको छ ।

हाल आयोजनाले ३८ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने योजना सहित आर्थिक वर्ष २०८५/८६ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । तर, आयोजनाले सिँचाइभन्दा पहिले जीवनको सुरक्षामा ध्यान दिनुपर्ने स्थानीयवासीहरूको आग्रह छ । चेतावनी दिदैँ स्थानीयहरू भन्छन् ‘राष्ट्रिय गौरवको आयोजना अब नागरिकको ज्यानमार बन्न नदिन राज्यले तुरुन्त कदम चाल्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला