युक्रेनका ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले व्यापक भ्रष्टाचार आरोपपछि पदबाट राजीनामा दिएकी छन् । अनुसन्धानकर्ताहरूले उनीहरूविरुद्ध ठूलो आर्थिक हिनामिना गरेको आरोप सार्वजनिक गरेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए ।
अनुसन्धान अनुसार, ग्रिनचुक र पूर्व न्यायमन्त्री जर्मन गालुशेन्काले मिलेर करिब १०० मिलियन डलरको अनियमितता योजना बनाएको दाबी गरिएको छ । यो आरोपले युद्धग्रस्त युक्रेनको ऊर्जा क्षेत्रमा व्यापक हल्ला र सार्वजनिक आक्रोश उत्पन्न गरेको छ ।
रूसी आक्रमणका कारण लगातार बिजुली संकट झेलिरहेको युक्रेनमा यस्तो भ्रष्टाचार काण्ड बाहिर आउनु सरकारका लागि ठूलो धक्का मानिएको छ ।
जेलेन्स्कीले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्दै भने, ‘युक्रेनमा पारदर्शिता र जवाफदेहिताको सिद्धान्तप्रति हाम्रो प्रतिबद्धता अटल छ । जसले पनि जनताको विश्वास तोड्छ, उनीहरूले सरकारमा स्थान पाउँदैनन् ।’
अनुसन्धानकर्ताहरूका अनुसार, यो योजनामा राष्ट्रपति जेलेन्स्कीका निकट सहयोगी तैमुर मिन्डिच मुख्य योजनाकार हुन् । उनी सोमबार आरोप सार्वजनिक हुनुअघि नै देश छोडेर भागेका थिए ।
प्रधानमन्त्रीले बुधबार पत्रकार सम्मेलनमा भने, ‘किएभ प्रशासनले मिन्डिच र अर्का व्यापारी ओलेक्सान्डर सुकरम्यानमाथि व्यक्तिगत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।’
युक्रेन लामो समयदेखि भ्रष्टाचारविरुद्ध लडिरहेको देश हो, र पारदर्शिता कायम गर्नु युरोपेली संघमा सामेल हुने युक्रेनको प्रमुख सर्तहरूमध्ये एक मानिन्छ ।
ग्रिनचुकले गत जुलाईमा ऊर्जा मन्त्रालय सम्हालेकी थिइन् । उनले यसअघि राज्य परमाणु अपरेटर एनर्गोएटमसँग मिलेर ऊर्जा प्रणाली सुदृढीकरणको प्रतिबद्धता जनाएकी थिइन् । अहिले उनले अनुसन्धानमा सहयोग गर्ने बताउँदै औपचारिक रूपमा राजीनामा दिएकी हुन् ।