काठमाडौं । बिज् एजुकेशनको प्रस्तुति तथा रियल ड्रीम्स एजुकेशनको सहयोगमा निर्माण गरिएको ‘डेस्टिनेशन युके – सिरिज २’ कार्यक्रम आगामी २०७९ मंसिर २५ गते काठमाडौंको होटल एभरेस्टमा आयोजना गरिने भएको छ । जुपिटर मिडिया प्रालिको उत्पादनमा तयार भई न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुँदै आएको यस कार्यक्रमले बेलायतमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीलाई विश्वसनीय तथा व्यावहारिक जानकारी प्रदान गर्दै आएको छ ।
जुपिटर मिडियाका निर्देशक सुनील आचार्यको नेतृत्वमा तयार गरिएको सिरिज २ ले बेलायतका चार प्रतिष्ठित विश्वविद्यालय– युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, बैंगोर विश्वविद्यालय, युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड (पैस्ले क्याम्पस) र यर्क स्ट जोन विश्वविद्यालय (यर्क तथा लन्डन क्याम्पस)का शैक्षिक दर्शन, पूर्वाधार, विद्यार्थी अनुभव तथा भविष्यका सम्भावनालाई समेटेको छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरूका लागि प्रत्यक्ष अन्तरक्रिया, सूचनात्मक सत्र र विशेषज्ञहरूसँग भेटघाटको अवसर रहनेछ । सहभागीहरूले विज्ञान, इञ्जिनियरिङ, आर्किटेक्चर, व्यवस्थापनलगायत विषयमा यी विश्वविद्यालयहरूले प्रदान गर्दै आएको शिक्षाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । सिरिजमा समेटिएका नेपाली विद्यार्थीहरूका अनुभव तथा विश्वविद्यालयका वरिष्ठ अधिकारीका धारणा कार्यक्रमका आकर्षण बनेका छन् ।
बैंगोर विश्वविद्यालयका उपकुलपति प्रोफेसर ओलिभर टर्नबुलले नेपाली विद्यार्थीहरूको प्रतिबद्धता र उत्कृष्टताले नेपाल–बेलायत शैक्षिक सहकार्यलाई अझ सुदृढ बनाएको बताएका छन् । बिज् एजुकेशनका प्रमुख कार्यकारी हरी कार्कीले विदेश अध्ययनमा शैक्षिक, आर्थिक र मानसिक तयारी अनिवार्य रहेको उल्लेख गरे । रियल ड्रीम्स एजुकेशनका प्रबन्ध निर्देशक बसन्त नेपालका अनुसार, ‘डेस्टिनेशन युके’ नेपाली विद्यार्थीका लागि यथार्थ बुझाउने महत्त्वपूर्ण मार्गदर्शक बनेको छ ।
डेस्टिनेशन युकेको सफलतापछि जुपिटर मिडियाले ‘स्टडी इन नेपाल’ अभियान पनि सुरु गरेको छ, जसले नेपालमै गुणस्तरीय अध्ययनपछि अन्तर्राष्ट्रिय उच्च शिक्षातर्फ अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको छ । दुई दशकदेखि शैक्षिक पत्रकारिता र अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय जुपिटर मिडियाले विभिन्न माध्यममार्फत हजारौं नेपाली विद्यार्थीलाई विश्वसनीय जानकारी प्रदान गर्दै आएको छ ।आगामी मंसिर २५ गते हुने कार्यक्रम सूचनाप्रद, अन्तरक्रियात्मक र सहभागितामूलक हुने अपेक्षा गरिएको छ, जसले नेपालदेखि बेलायतसम्मको शैक्षिक यात्रालाई अझ नजिक ल्याउने विश्वास गरिएको छ ।