नेभिगेशन
राजनीति

कांग्रेस अझै अनिर्णीत

गगन समूहको मागलाई जसरी पनि रोकेर महाधिवेशनलाई पछि धकेल्ने संस्थापन रणनीति

काठमाडौं । केन्द्रीय समिति बैठक अझै निष्कर्षमा पुग्न नसक्दा नेपाली कांग्रेसभित्र संस्थापन र सुधारवादी धारबीचको रस्साकस्सी अझ बढेको छ । महाधिवेशन कि विशेष महाधिवेशन, संसद् पुनःस्थापना कि निर्वाचनजस्ता मुद्दामा टुंगोमा पुग्न नसक्दा कांग्रेसभित्र चरम गुटबन्दी देखिएको छ ।

अनिर्णयको बन्दी बनिरहेका कांग्रेसका नेताहरूले केन्द्रीय समितिको बैठक भन्दा पनि गुटको बैठकलाई बढी महत्व दिइरहेका छन् । एक महिनायता जारी केन्द्रीय समितिको बैठक निष्कर्षतिर पुग्ने अझै छाँटकाँट देखिएको छैन । महमन्त्री गगन थापाको समूहले जसरी पनि निर्वाचन अगाडि महाधिवेशन र त्यसपछि मात्रै निर्वाचन भन्नेमा अडान राखिरहेको छ । तर, पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू भने निर्वाचनपछि महाधिवेशन गर्नुपर्छ भनिरहेका छन् ।

कांग्रेसमा अर्काे तेस्रो धार पनि बलियो बन्दै गइरहेको छ जसले संसद् पुनःस्र्थापना र नियमित महाधिवेशनको मुद्दा चर्काइरहेको छ । कांग्रेसमा अहिले पाँचवटा गुट देखिएका छन् । गगन थापा, डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, शंकर भण्डारी र राजन केसीसँगै अर्जुन जोशीलगायतका नेताहरू फरक–फरक समूहको भेला र बैठक गरिरहेका छन् । ‘सानो–सानो झुण्डमा बसेर केन्द्रीय सदस्यहरूले फरक–फरक मत अगाडि बढाएकै कारण बैठक निकर्षमा पुग्न नसकिरहेको हो,’ एक नेताले भने । उनका अनुसार निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने गगन समूहको मागलाई संस्थापन पक्षधर दोस्रो तहका नेताहरू जसरी पनि टार्ने मनस्थितिमा देखिएका छन् । तटस्थ देखिएका नेताहरूसँग संवाद बढाउँदै एकै ठाउँमा उभिएर केन्द्रीय समिति बैठकमा त्यसको पक्ष वा विपक्षमा मतदान गर्न लगाउने गरी अगाडि बढ्ने तयारी संस्थापनको छ । जसमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका नेताहरूले समेत साथ दिएका छन् ।

‘गगन समूहले राखेको प्रस्तावमा मतदान गर्ने हो भने बहुमत सदस्यबाट अस्वीकृत हुने निश्चित छ,’ ती नेताले भने । यसलाई गगन समूहले संस्थापनको भन्दा फरक मत राख्नेहरूलाई पार्टीबाट निष्कासनको रणनीति र पार्टी फुटको संकेतका रूपमा लिएको छ ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार अझै पार्टी कसरी अगाडि बढ्छ भन्ने प्रष्ट छैन । ‘पछाडि सरेर समस्या समाधान हुने होइन । यथास्थितिमा रहेर निर्वाचनमा जानु गम्भीर गल्ती हुन्छ । नेताहरूले यो कुरा बुझ्नुपर्छ,’ उनले भने ।

मुलुकको विद्यमान संकट कसरी टार्ने भन्ने तर्फ कांग्रेसको ध्यान हुनुपर्नेमा नेताहरू असक्षम हुँदा कांग्रेस आफैं दुर्घटनातर्फ अगाडि बढेको तरुण दलका सभापति विद्वान् गुरुङको भनाइ छ । ‘नेताहरूलाई पदमात्रै चाहिएको देखियो । हामीले यही अवस्थामा पार्टीलाई जनतामाझ कसरी लैजान्छौं ? जनताले के भन्छन् ?,’ उनले भने ।

जेनजी आन्दोलनलगत्तै देउवा समूह तीन गुटमा विभाजित थियो । तर अहिले तीनतर्फ फर्किएका नेताहरू पुनः एकै समूहमा छन् । शनिबार मात्रै पनि उनीहरू ललितपुरस्थित हिमालय होटलमा छलफलमा बसेका थिए । निर्वाचनपछि महाधिवेशन भन्ने मुद्दा बोकेर अगाडि बढ्ने वा पहिला संसद् पुनःस्थापना गरेर महाधिवेशन गर्ने भन्ने विषयमा उनीहरूले छलफल गरेका थिए । ‘छलफलबाट कुनै निष्कर्ष त आएन । तर, गगन पक्षले अगाडि सारेको निर्वाचनअघि महाधिवेशन भन्ने मुद्दामा समर्थन नगर्ने सहमति बनेको छ,’ बैठकका सहभागी एक नेताले भने ।

पार्टीको महाधिवेशनको मिति तत्काल टुंगो गर्नुपर्ने नत्र विशेष महाधिवेशन गर्नुपर्ने भनिरहेको गगन समूह अहिले पार्टीभित्र चेपुवामा परेको छ । उनीहरूले उठाएको मुद्दा केन्द्रीय समितिको बैठकमा पक्षमा वा विपक्षमा मतदान गर्नेतर्फ संस्थापन पक्ष अगाडि बढे त्यसले पार्टीलाई विभाजनमा ल्याउने र कांग्रेसमा फुट आउने गगन समूहको दाबी छ ।

उपचारका लागि सिंगापुर गएका देउवा फर्किएपछि सक्रियता बढाएका छन् । उनले नेताहरूसँग भेटघाट बढाएपछि संस्थापन पक्षको सक्रियता बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति