नेभिगेशन
प्रदेश

फतुवा विजयपुर नगरपालिकाले ५६ करोडको बजेट प्रस्तुत

रौतहट, ३० साउन – रौतहटको फतुवा विजयपुर नगरपालिकाले शुक्रबार ५६ करोड ३२ लाख ९५ हजार १५१ रूपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक कारणले ढिलो भएको बजेट अधिवेशन शुक्रबार नगरपालिका कार्यालयमा सम्पन्न भएको हो ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि, पोषण तथा रोजगारीलाई बजेटको प्राथमिकतामा राखिएको बताइन् । उनले चालु आर्थिक वर्षलाई समृद्ध नगरपालिका निर्माणको आधार वर्ष बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

वडाध्यक्ष राकेश यादव ‘पप्पु’ले आय–व्यय विवरण प्रस्तुत गर्दै वडा नं. ९, १० र ११ का ८४ जना भूमिहीन सुकुम्बासीलाई जग्गाको प्रमाण–पूर्जा वितरण गर्ने कार्यक्रम समावेश गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार तथा वरिष्ठ नेता महम्मद सेराजले बजेटलाई सन्तुलित भन्दै योजनाहरू समयमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नीति तथा कार्यक्रमले नगरपालिका समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासीका लागि व्यवस्था, पोषण तथा रोजगारी प्रवर्द्धन र लघु उद्यम कार्यक्रमका लागि बजेट छुट्याइएको जानकारी दिए ।

लेखा अधिकृत कामेश्वर सहनीले बजेट केही ढिलो सार्वजनिक भए पनि योजनाहरू समयमै कार्यान्वयन हुने वातावरण बनेको बताए । उनले चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रमका उद्देश्य पूरा हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्