नेभिगेशन
विश्व

अन्तरिक्षबाट फर्कियो चार मुसासहित वैज्ञानिक नमूना

बेइजिङ । अन्तरिक्षमा जीवन– विज्ञान परीक्षणका लागि पठाइएका चारवटा मुसासहितका वैज्ञानिक नमूनाहरूको नवौं ब्याच चीनको अन्तरिक्ष स्टेसनबाट शुक्रबार सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ । यी नमूनाहरू शेन्झोउ–२१ अन्तरिक्ष यानमार्फत ल्याइएका हुन् ।

नमूनाहरू शनिबार बिहानै चिनियाँ वैज्ञानिकको टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको ग्लोबल टाइम्सले जनाएको छ । फिर्ता भएका नमूनामा जीवन विज्ञान, सामग्री विज्ञान र दहन विज्ञानसँग सम्बन्धित २६ वटा परियोजना छन् । यसअन्तर्गत नौ प्रकारका जीवन विज्ञान, ३२ प्रकारका सामग्री विज्ञान तथा तीन प्रकारका दहन विज्ञान नमूना छन्, जसको तौल करिब ४६.६७ किलो छ ।

वैज्ञानिकहरूले मुसाहरूको व्यवहार, शरीरका प्रमुख संकेतक र जैव–रासायनिक तत्वहरूको प्रारम्भिक परीक्षण गर्दै अन्तरिक्ष वातावरणले जीवहरूमा पार्ने असर बुझ्ने तयारी गरेका छन् । यसले अन्तरिक्षमा शरीरले कसरी तनाव झेल्छ र कसरी अनुकूल हुन्छ भन्ने विषयमा महत्वपूर्ण जानकारी दिनेछ । मुसाहरूसँगै जेब्राफिस, हर्नवोर्ट, स्ट्रेप्टोमाइसेस, प्लानेरियन तथा मस्तिष्क अर्गनोइड्सजस्ता अन्य नमूनाहरू पनि बेइजिङस्थित स्पेस एप्लिकेसन इन्जिनियरिङ एन्ड टेक्नोलोजी सेन्टरमा पुर्‍याइएको छ ।

सामग्री तथा दहन विज्ञानका नमूनाहरू पनि चरणबद्ध रूपमा चीनमा ल्याइदैछन् । पछि यी सबै नमूनामा उन्नत परीक्षण, जस्तै ट्रान्सक्रिप्टोमिक सिक्वेन्सिङ र प्रोटिओमिक्स विश्लेषण गरिनेछ । अध्ययनले माइक्रोग्राभिटीले शरीर तथा सामग्रीमा पार्ने सूक्ष्म प्रभाव पत्ता लगाउन मद्दत गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्