नेभिगेशन
प्रदेश

हिमशृंखला हेर्न मुल्डे

पाेखराबाट घान्द्रुकसम्म उकालो लागेका पर्यटकले हिमाल हेर्न धेरै कसरत पर्दैन । तर, हिजोआज दृश्यावलोकनका लागि मुल्डे भ्यू–पार्क पुगिरहेकाको जमात भेटियो भने नौलो नमाने हुन्छ । हिमाल हेर्न लोभ्याउने गन्तव्यमा पर्न थालेको छ मुल्डे ।

पोखराबाट पदयात्रामा निस्कनेहरूका लागि कास्कीको अन्नपूर्ण–११ मा पर्ने मुल्डे भ्यू–पार्क धेरै टाढाको गन्तव्य होइन । घुमन्तेको रोजाइमा पर्न थालेपछि हिजोआज यहाँ चहलपहल हुने गरेको छ ।

घुमन्ते आउन थालेसँगै मुल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिले यहाँ आवश्यक पर्यटकीय संरचना पनि बनाएको छ । स्थानीय राजमान गुरूङको नेतृत्वमा नौ सदस्यीय समिति गठन भएपछि अहिले समितिमार्फत दोबाटोदेखि करिब आधा घण्टाको पैदल दूरीमा रहेको मूल्डे भ्यू–पार्कलाई पर्यटनमैत्री बनाइएको हो ।

घान्द्रुकपारि चुइले गाउँमा जन्मिएका राजमान गुरूङ सानो छँदा बुबासँग दोबाटोहुँदै मुल्डे जान्थे। त्यहाँबाट देखिने दृश्यले उनलाई लोभ्याउँथ्यो । ‘दोबाटो–मुल्डेतिर गोठ ल्याउँदै गर्दा मुल्डेबाट देखिने दृश्यले मलाई रोमाञ्चित बनाउँथ्यो,’ उनी भन्छन्, ‘मैले मुल्डे भ्यु पदमार्ग चलाउने मनस्थिति बनाउँदै २०५८ सालमा दोबाटोमा होटल खोल्न अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)सँग अनुमति मागेको थिए।’

ठाउँ पर्यटक लोभ्याउने थियो, प्रचार भने भएको थिएन । मुल्डे पदमार्ग निर्माण एवं प्रवर्धन गर्न उनले दोबाटोमा २०५८ सालमै छाप्रो बनाएर व्यवसाय सुरू गरे। तर सुरुवातमा उनले सोचेजस्तो आम्दानी भएन। रोजगारीका लागि विदेश हान्निए। ५ वर्षपछि फर्के, फेरि मुल्डे आए। पुरानो छाप्रो मर्मत गर्दै मुल्डेमा पर्यटक भित्र्याउने अभियानमा कस्सिए। अहिले दोबाटोमा उनको माउन्ट लक्की होटल छ। राजमानकै पहलमा पदमार्गका अन्य ठाउँमा पनि होटल खुलेका छन् ।

‘विभिन्न ठाउँको अध्ययनपछि मुल्डेलाई भ्यूपार्ककारूपमा विकास गर्न सकिन्छ भनेर मेरै नेतृत्वमा अहिले समिति गठन भइ पार्कलाई व्यवस्थित बनाउने कामले सफलता पाइरहेको छ,’ उनले भने, ‘यहाँ भ्यू–टावर, पिङ, ढुंगाको सिँढी, शौचालय र टावर वरपर रेलिङ अनि ढुंगा बिछ्याएर चिटिक्क पारिएको छ ।’

उनी पाहुनालाई बाटो देखाउँछन्, खाना–बासको आतिथ्य गर्छन्। बिस्तारै बिस्तारै पर्यटक आगमन पनि बढिरहेको छ ।

यस क्षेत्रकै ३ हजार ६३७ मीटरको उचाइमा रहेको मुल्डे भ्यू–पार्कबाट गुर्जा, धौलागिरी, जिर्वाङ, टुकुचेपिक, धम्पुसपिक, निलगिरी साउथ र नर्थ, अन्नपूर्ण–१, अन्नपूर्ण साउथ, हिउँचुली, अन्नपूर्ण–३, गन्धर्वचुली, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो, मर्दी, लमजुङ, मिलचुली, बौद्ध, गणेश, मनास्लु लगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ ।

पहाडी यात्राका कारण थाकेको ज्यानलाइ चिसो मौसम तथा छिन–छिनमा कुहिरोले लुकामारी खेल्ने मौसमसँगै यहाँबाट देखिने मनोरम दृश्यले पदयात्रीको थकाइ मेटाइदिन्छ। हिमाल नजिकैबाट नियाल्न रमाउनेलाई मुल्डे भ्यू–पार्कको यात्रा अविस्मरणीय अनुभव दिन सक्छ ।

मुल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिका कोषाध्यक्ष मीना गुरूङले एकैपटक दर्जनौ हिमालहरू हेर्ने सबैभन्दा उपयुक्त स्थानका रूपमा यतिबेला मूल्डे भ्यू–पार्क रहेको बताउँछिन् । ‘यसले जति चर्चा पाउनुपर्ने हो त्यो भने पाइरहेको छैन्,’ उनले भनिन्, ‘मुल्डे भ्यू–पार्कलाई प्रचार गर्न सके धेरै पर्यटक आकर्षित गर्न सकिन्छ ।’

मुल्डे भ्यू–पार्कबाट हिमशृंखला र मनोरम दृश्य हेर्दै पर्यटक नजिकैको हिडन भ्याली पुग्न सक्छन् । समुद्र सतहबाट करिब ४ हजार २ सयको उचाइमा रहेको यो फाँट मोहक छ । दोबाटोबाट करिब ८ किलोमिटरको दूरीमा रहेको पदमार्गका दृश्यहरूले पदयात्रीको थकान बिर्साइदिन्छ । भिरालो पदमार्गको साँघुरा ठाउँमा रलिङको व्यवस्था गरिएको समितिका सहसचिव रामकाजी गुरूङले बताए ।

‘करिब ४ घण्टाको यात्रापछि पुगिने हिडनभ्यालीको फराकिलो फाँटमा चरिरहेका चौरी, भेडा र घोडा देख्ता नरमाउने को होला ?,’ उनले भने ‘यहाँ हिडनलेक भनिने त्रिवेणी ताल छ । तालमा गुरूङ समुदायको त्रिवेणीदेवी मन्दिर छ, मन्दिर एरियामा जनैपूर्णिमामा मेला लाग्छ ।’ हिडनभ्यालीको यात्रा केवल हिमाल हेर्ने माध्यम मात्र होइन यो प्रकृति र आत्मशान्तिको अनौठो संगम पनि बन्नसक्छ । यहाँबाट छोमरोङ पुग्न सकिन्छ ।

काठमाडौंबाट घुम्न जानेका लागि पोखराको बागलुङ बसपार्कबाट घान्द्रुकका लागि जीपहरू पाउन सकिन्छ । यहाँबाट करिब ५८ किलोमीटरको जीप यात्रापछि घान्द्रुक पुगिन्छ । घान्द्रुकमा बस्न र खानका लागि एक सयको हाराहारीमा होटल–लज छन् । घान्द्रुकबाट मुल्डे भ्यू–पार्कका लागि यात्रा गर्दा पदमार्गमा पर्ने कोर्मोडाँडामा ५ वटा होटल छन् भने मेलाँचेमा एउटा, चुइलेमा ६, सिप्रुङमा एउटा र टाडापानीमा १० वटा होटल–लज छन् ।

घान्द्रुकबाट सिधै टाडापानीको पैदलमार्ग पनि जान सकिन्छ । यो बाटो हिँड्दै गर्दा भैँसेखर्कमा दुईवटा लज छन् । टाडापानीबाट अघि बढ्दै गर्दा मेसारमा पुगेपछि तीनवटा होटल छन् भने इसारूमा पनि तीनवटा होटल छन् । त्यसपछि पुग्ने गन्तव्य दोबाटोमा तीनवटा होटल छन् । दोबाटोमा आराम गरपछि करिब आधा घण्टाको यात्रापछि मुल्डे भ्यू–पार्क पुगिन्छ । अनि यहीँबाट खोप्रो, त्रिवेणी ताल, घोरेपानी–पुनहिल, अन्नपूर्ण आधार शिविर, उत्तर र दक्षिणलगायत पदयात्रा पनि गर्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला