कास्की । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली दर्ता तीव्र बन्दै गएको छ । सरकारले राष्ट्रिय परिचयपत्र भएका नागरिकका लागि अनलाइनमार्फतै दर्ता प्रक्रिया सुरु गरेपछि निर्वाचन कार्यालयको भीड घटेको छ भने कास्कीमा मात्रै ९ हजारभन्दा बढीले नयाँ नाम दर्ता गराइसकेका छन् ।
केही दिनअघिसम्म निर्वाचन कार्यालयमै गएर नामावली दर्ता गराउनुपर्ने व्यवस्थालाई सरकारले शुक्रबारदेखि राष्ट्रिय परिचयपत्र भएका व्यक्तिको दर्ता अनलाइनबाटै गर्न सकिने प्रक्रिया अगाडि बढाएसँगै अहिले निर्वाचन कार्यालयमा भने भीड कम भएको हो । प्रदेश निर्वाचन कार्यालय गण्डकीमा केही दिनअगाडिसम्म बाक्लो भीड रहे पनि आइतबारदेखि भने कम हुन थालेको छ । यसले गर्दा सेवाग्राहीलाई पनि सहज भएको छ ।
निर्वाचन कार्यालयले मतदाता नामावली दर्ताको समय कार्तिक ३० सम्म राखेको थियो । तर दर्ता गर्नेको संख्या बढेको र सर्भरमा बढी लोड भएका कारण शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले मंसीर ५ गतेसम्मलाई समयसीमा तोकेको थियो ।
निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ताका लागि सरकारले तोकेको समय अझै पाँच दिन बाँकी छ । निर्वाचन मिति घोषणाले आफूले चुन्ने नेता तथा पार्टीलाई भोट हाल्नको लागि मतदाता नामावली दर्ता गर्ने नागरिकहरू भने निकै उत्साहित देखिन्थे ।
गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार दैनिक १ हजार नागरिक मतदाता नामावालीमा नाम दर्ता गरिरहेका छन् । दर्ता गर्ने नागरिकमध्ये १५ प्रतिशत अन्य पुस्ताका छन् भने ८५ प्रतिशत जेनजी पुस्ताका रहेका प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
प्रदेश निर्वाचन कार्यालय पोखराको तथ्यांकका आधारमा हेर्ने हो भने आगामी फागुन २१ मा हुने निर्वाचनमा मतदान गर्नका लागि जेन्जी पुस्ता आतुर भएको देखिन्छ । कास्की जिल्लामा हालसम्म १२ वटा दल दर्ता प्रक्रियामा आएका र असार मसान्तसम्म २ लाख ९४ हजार मतदाता रहेकोमा अहिले ९ हजार भन्दा बढीले नाम दर्ता गराएका प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
राष्ट्रिय परिचयपत्रको डाटालाई आधार मानेर अनलाइन सेवा सुरु भएपछि मतदाता नामावली दर्ता अझ सहज र छरितो बनेको छ । अनलाइन तथा कार्यालय दुवैतर्फ दर्ता हुँदै गरेको बढ्दो सहभागिताले विशेषगरी जेनजी पुस्ताको निर्वाचनप्रति आकर्षण झनै बढेको देखिन्छ ।
मतदाताले निर्वाचन आयोगको इलेक्सन डट जिओभी डट एनपीको वेबसाइटमा गएर प्रारम्भिक जानकारी पेस गरेर नजिकैको निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक, फोटो र औंठाछाप दिनुपर्ने वा राष्ट्रिय परिचयपत्र भएकाहरूले अनलाइनबाटै सबै काम गर्न सकिने छ ।