नेभिगेशन
प्रदेश

शनिबारे स्वरोजगार मेलाले महिलामा उत्साह

कैलाली । महिला उद्यमीहरूलाई बजारसँग जोडने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सुरु गरेको शनिबारे मेलामा महिलाहरू उत्साहित भएका छन् । सीप सिकेका तर कहीँकतै व्यवसाय नगरेका महिलाहरूलाई निःशुल्क बजारको अवसर दिने उद्देश्यले धनगढी उपमहानगरपालिकाले शनिबारे बजार सुरू गरेको हो ।

मेलामा हरेक शनिबारको दिन धनगढी पार्कअगाडि जेनजी मार्गमा घरमै बसेका महिला उद्यमीहरूलाई बजारसँग जोड्न यस्तो मेला आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

शनिबारे मेला हरेक शनिबारको दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुँदै आएको छ । मेलामा खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्था गरिएको छ ।

यहाँ धेरैको रोजाइमा रैथाने परिकारहरू पर्ने गरेका छन् । महिला उद्यमीहरूले मेलाले आफूहरूका लागि स्वरोजगार अवसर सिर्जना गरेकोमा उत्साहित भएको बताएका छन् ।

मेलाले आम्दानीसँगै स्थानीय परिकार संरक्षण र प्रवद्र्धन गर्नमा समेत टेवा पुग्ने महिला उद्यमीहरूले बताएका छन् । घरमा बसेर मोबाइल चलाउनुभन्दा आफूले जानेको सीप प्रयोग गरेर स्थानीय परिकार बिक्रीबाट आम्दानी पनि हुने भएकाले मेला राम्रो भएको महिला उद्यमी नन्दकली रानाले बताइन् ।

महिला मात्र सहभागी हुन पाउने यो मेलामा आफूले जानेका परम्परागत खानाहरू, सीपहरू, उत्पादन गरेका वस्तुको बिक्री– वितरण गर्ने, विभिन्न संघ/संस्थाले दिएका तालिमबाट सीप पाएका महिला सहभागी हुन पाउने व्यवस्था रहेको उपमहानगरपालिकाकी उपप्रमुख नन्दकला रानाले बताइन् ।

व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई भने शनिबारको बजारमा स्थान दिइने छैन । घरमा बस्दै आएका र सीप भएका महिलाहरूलाई मात्र व्यवसायमा प्रोत्साहित गर्ने नीतिअनुसार यो निःशुल्क अवसर दिइएको उपमहानगरले जनाएको छ ।

मेलामा सुदूरपश्चिमका नेवारी खाजादेखि थारुका परिकार ढिकरी, गंगटाको मासु, लोकल कुकुराका परिकार, घोंगी, पहाडी समुदायका सेलरोटी, कोदोको माडा, कोदोको सेल, फाउने माडा, बटका, निस्सोसे, मासका पुरी लगायतका थुप्रै परिकारहरू बिक्रीका लागि राख्ने गरिन्छ । मेलामा महिला उद्यमीहरूले घरमै बनाएका झोला, चप्पल, हातले बनाएका सामान, कपडा, दुना–टपरी, फाइबरका घर सजावटका फूलहरू मेलाका आकर्षण रहेका छन् । मेलाका लागि ७५ वटा स्टल बनाइएको छ । शनिबारीय मेला आफूले सिकेका सीप देखाउने र अर्थोपार्जन गर्ने माध्यम बनेको छ । मेलाको माध्यमबाट महिलाहरूको जीवनस्तरमा केही सुधार आउने अपेक्षा धनगढी उपमहानगरपालिकाले गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला