काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा स्मार्टफोन ब्रान्ड भिभोले पुनः क्यानसँग सहकार्य गर्दै आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ । एनपीएल ‘फेस्टिभल अफ द हिमालयज’ आज मंसिर १ गतेदेखि औपचारिकरूपमा सुरु हुँदैछ ।
भिभोले एनपीएलसँग भएको साझेदारीको घोषणा आफ्नो र एनपीएलको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू — फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । यस सहकार्यबाट क्रिकेटप्रेमीहरूमा थप ऊर्जा, रोमाञ्च र अपेक्षा भरिदिएको विश्वास भिभोले गरेको छ ।
पहिलो संस्करणको उल्लेखनीय सफलता पछि, यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मकताका साथ भोलिदेखि नै प्रारम्भ हुँदैछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले यी २७ दिन नेपाली क्रिकेटको इतिहासमा नयाँ उत्सवका रूपमा हेरिने अपेक्षा गरिएको छ ।
भिभोले यस साझेदारीमार्फत नेपालमा खेलकुद, विशेष गरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता पुनः दोहोर्याएको छ । अत्याधुनिक प्रविधि, नवाचार र फ्यान–केन्द्रित गतिविधिहरूका माध्यमबाट भिभोले यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ सशक्त, नजिक र जीवन्त बनाउन लक्ष्य लिएको छ ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, ‘एनपीएलको रोमाञ्चक यात्राको पुनः हिस्सा बन्न पाउँदा अत्यन्त उत्साहित छौं । क्रिकेट नेपालीहरूलाई एकै थलोमा जोड्ने खेल हो र भिभोले हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य लिएको छ । यस साझेदारीले हामीलाई फ्यानहरूलाई खेलसँग अझ नजिक ल्याउन प्रेरित गर्छ ।’
नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्काले एनपीएलमा भिभो जस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्यले नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन उर्जा मिलेको बताए ।
प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित विविध डिजिटल र ग्राउण्ड एक्टिभेशन कार्यक्रमहरू सञ्चालन गर्नेछ, जसले फ्यानहरूको संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको लगावलाई थप मजबुत बनाउनेछ । यी गतिविधिहरूले नेपाली क्रिकेटको लोकप्रियतालाई नयाँ र उत्साहजनक स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।