नेभिगेशन
राजनीति

‘एमाले चुनावबाट भाग्ने पार्टी होइन’

लुम्बिनी । एमाले महासचिव शंकर पोखरेलले एमाले कहिल्यै चुनावबाट नभाग्ने बताएका छन् । आफ्नो पार्टी सबैभन्दा बढी जनताको ‘म्यान्डेट’ मा विश्वास गर्ने दल भएको दाबी उनले गरे ।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा सोमबार आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले फागुन २१ का लागि घोषित निर्वाचन गराउन सरकारको काम र क्रियाकलाप चुनाव केन्द्रित हुनुपर्ने तर त्यसो नदेखिएको बताए । देशले सामना गरिरहेको राजनीतिक संकट समाधानको सबैभन्दा उचित उपाय संसद् पुनःस्थापना भएको जिकिर उनले गरे ।

महासचिव पोखरेलले निर्वाचनका लागि सरकारले राजनीतिक दलसँग पर्याप्त छलफल र संवाद गरेर राजनीतिक सहमतिको ‘म्यान्डेट’ सहित संविधान अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । ‘चुनावमा महत्वपूर्ण भूमिका भएको प्रहरीको हतियार खोसिएका छन् । फरार कैदीबन्दी र लुटिएका हतियारका कारण समाज त्रसित छ, जसले गर्दा प्रहरी र नागरिकको मनोबल कमजोर छ,’ उनले भने, ‘प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कदासम्म चुनाव सम्भव कसरी हुन्छ ?’

देशलाई संवैधानिक बाटोमा हिँडाउनका लागि प्रतिनिधिसभा पुनःसंस्थापना, संविधान संशोधन गरेर युवाका माग सम्बोधन गरी ‘अर्ली’ चुनावमा जान सकिने उनको धारणा थियो । भदौ २३–२४ का घटनालाई नियोजित षडयन्त्रको उपज भन्दै उनले त्यसको तथ्यगत छानबिन हुनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले विचारका आधारमा मुलुक धुव्रीकृत नहुँदासम्म देशमा अस्थिरता रहिरहने बताए । एमालेको आगामी महाधिवेशनले सहमतिकै आधारमा सक्षम नेतृत्व चयन गर्नेसमेत उनले बताए । ‘पार्टीको नीति र विचारका विषयमा दोस्रो विधान अधिवेशनले टुंगो लगाइसकेको छ । जेनजी प्रदर्शनका विषयमा पनि केन्द्रीय समितिमा पर्याप्त छलफल भएर पार्टीले धारणा सार्वजनिक गरिसकेको छ । अब आगामी महाधिवेशनले सहमतिमै सर्वसम्मत नेतृत्व चयन गर्ने छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्