नेभिगेशन
विश्व

कर्नाटकमा महिनावारी बिदा लागु

भारतको कर्नाटक सरकारले राज्यभर महिनावारी बिदा नीति लागु गरेको छ । महिनावारीको समयमा महिलाले भोग्नुपर्ने शारीरिक र मानसिक चुनौतीलाई ध्यानमा राख्दै सरकारले प्रत्येक महिना एक दिन विशेष बिदा उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारको आधिकारिक आदेशअनुसार यो नीति सरकारी कार्यालय, निजी कम्पनी तथा औद्योगिक क्षेत्रलगायत सबै क्षेत्रका कामकाजी महिलामा लागु हुनेछ । मुख्यमन्त्री सिद्धरामय्याको मन्त्रिपरिषद्ले गत महिना नीति कार्यान्वयनको प्रस्ताव अनुमोदन गरेको थियो । श्रम विभागका अनुसार नयाँ निर्णयबाट करिब ६० लाख कामकाजी महिलाहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । यसअघि गठित १८ सदस्यीय समितिले महिलालाई महिनावारीका बेला पर्ने कठिनाइबारे विस्तृत सुझाव दिएको थियो, जसलाई आधार बनाएर नीति अघि बढाइएको हो । यससँगै कर्नाटक पनि महिनावारी बिदा दिने भारतीय राज्यहरूको सूचीमा औपचारिकरूपमा समावेश भएको छ । हाल बिहारमा प्रत्येक महिना दुई दिन महिनावारी बिदा दिइन्छ भने ओडिशाले सरकारी कार्यालयमा कार्यरत महिलालाई एकदिन बिदा दिने व्यवस्था गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्