नेभिगेशन
अर्थतन्त्र

एनपीएलको हरेक चौकाबापत एनसेलले शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौका वापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई चार वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ ।

एनसेलले गतवर्ष पनि दुई हजार ६१२ विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो । गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका एनसेलले दुई हजार ६१२ सहित एनसेलले देशभरका नौ हजारभन्दा बढी विद्याथीलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ ।

एनसेलले यो पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिएको छ ।

विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू, स्कूल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश रहने एनसेलले जनाएको छ । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ । ‘क्रिकेटले हामी सबैलाई जोडेको छ, एनपीएलसँगको यस सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूको उज्यालो भविष्यको लागि यो पहललाई अझै अगाडी बढाउन पाएकोमा हामी धेरै खुसी छौ,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

उनले खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीहरूले भविष्यमा प्राप्त गर्ने अवसर, सिकाइ र हुर्काइसँग जोडिने पनि बताइन् । एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ ।

यो पहलले क्रिकेट मैदानको उत्साह र खेलाडीका उत्कृष्ट प्रदर्शनमार्फत विद्यालयका कक्षाकोठासम्म पुगी पठनपाठनमा सुधार ल्याउन योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्