काठमाडौं । अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपअन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५औं वार्षिकोत्सव मनाएको छ ।
बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत समुदाय सशक्तीकरणतर्फ सार्थक योगदान पुर्याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भनिन, ‘३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौं । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पुर्याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौं । यो संस्था स्वास्थ्य सेवा प्रदान गर्ने मात्र नभई, आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्त्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’
त्यसैगरी काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्राडा भगवान कोइरालाले इन्स्टिच्युटमार्फत विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आइएको जानकारी दिए । उनले अग्नि ग्रुपले दिएको सहयोगले हजारौं बालबालिका लाभांवित हुने बताए ।
अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ । यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालका पीआईसियु र एनआईसीयू को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ ।