नेभिगेशन
नेपाल

चक्रे मिलन धरौटीमा छुटे

काठमाडौं, (संवाददाता) – गुन्डा नाइकेका रूपमा चिनिने मिलन गुरुङ उर्फ चक्रेमिलनलाई जिल्ला अदालत भक्तपुरले एक लाख दस हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परेका चक्रे मिलनलाई धरौटीमा छाड्न आदेश दिएको हो । साउन १५ गते राति काठमाडौंको एक होटलमा जन्मदिनको पार्टी मनाइरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

चक्रेविरुद्ध साउन २३ गते सरकारी वकिलको कार्यालयमा बयान गराइएको थियो भने आज अदालतमा बयान र थुनछेक बहस सकिएपछि धरौटीमा रिहा गरिएको हो । उनीमाथि २०८१ साल भदौ १० गते भक्तपुरको मध्यपुरथिमी–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेस्टुरेन्टमा आफ्नै भतिज मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको आरोप छ ।

रायमाझीका काका दिनेशकुमार रायमाझीले दिएको जाहेरीका आधारमा चक्रे मिलनसहित अन्य व्यक्तिहरूमाथि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरिएको हो । जाहेरीमा उल्लेखअनुसार, रायमाझीको दुवै कोखमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । 

यसअघि चक्रे मिलन अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दामा ३०हजार धरौटीमा रिहा भएका थिए । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो, किनभने सोही ठाउँमा अर्को मुद्दा विचाराधीन थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्