भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीग्रस्त बस्तीहरूमा बालिकाहरू बाँच्नका लागि दैनिक पानीको खोजी र विद्यालयमा उपस्थितिका बीच कठोर छनोट गर्न बाध्य भएका छन् । नासिक र नन्दुरबार जिल्लामा कुवाहरू सुक्दै गएपछि पानी संकलन बालिकामै केन्द्रित हुने क्रम तीव्र बनेको छ, जसका कारण उनीहरूको शिक्षा जोखिममा परेको छ ।
प्रत्येक बिहान १७ वर्षीया रमाती मंगला झर्ना गाउँबाट किलोमिटरौँ टाढासम्म नांगो खुट्टा हिँडेर पानी भर्न जान्छिन् । विद्यालय सुरु हुने समयमै उनी फर्किन नसक्दा पढाइमा निरन्तरता दिनै मुस्किल परेको उनले बताइन् । ‘मेरा पुस्तकहरू सुरक्षित राखेकी छु,’ उनले भनिन्, ‘तर कहिल्यै समयमै फर्कन नपाए भने भविष्य के हुन्छ भन्ने चिन्ता छ ।’
स्थानीय अधिकारीहरूका अनुसार यी क्षेत्रमा करिब २० लाख जनसंख्या दैनिक पानी संकटको चपेटामा छ । वर्षा अनियमित बन्दै जाँदा र विगतका कुवाहरू सुकेपछि परिवारका पुरुषहरू रोजगारी खोज्न सहरतिर जाने गरेका छन् । त्यसको प्रत्यक्ष असर किशोरीहरूमा परेको छ, जसले घर–परिवारका लागि पानी ल्याउने मुख्य जिम्मेवारी बोकेका छन् । घण्टौं समय लाग्ने यो कामले उनीहरूलाई विद्यालयदेखि क्रमशः टाढा बनाइरहेको शिक्षकहरूको गुनासो छ ।
युनेस्कोले सन् २०२१ मा प्रकाशित प्रतिवेदनमार्फत जलवायुजन्य अवरोधले विश्वभर लाखौं बालिकाको शिक्षा जोखिममा पार्ने चेतावनी दिएको थियो । भारतका ग्रामीण बस्तीतर्फ यसको प्रतिकूल प्रभाव अझै स्पष्ट हुँदै गएको छ । सुक्खा महिनामा विद्यालयमा बालिकाहरूको हाजिरी तीव्ररूपमा घटेको देखिन्छ । पारिवारिक आर्थिक संकटका कारण धेरै अभिभावक छोरीहरूलाई विद्यालय छोडाएर घरायसी काममा लगाउन वा समयअगावै विवाह गरिदिन बाध्य हुने गरेको स्थानीय संयन्ताहरू बताउँछन् ।
युनिसेफले जारी गरेको प्रतिवेदनले पनि सुक्खाग्रस्त क्षेत्रमा पानी ल्याउने दायित्व पाउने बालिकाहरूले विद्यालयमा नियमित हाजिर हुन अत्यन्तै कठिनाइ भोग्नुपर्ने उल्लेख गरेको छ । पानीको अभावका कारण पानी संकलन गर्न लाग्ने समय बढ्दै जाँदा उनीहरूको दिनचर्या नै अस्तव्यस्त बन्न पुगेको छ ।
यही कठोर यथार्थलाई फोटोग्राफर शेफाली रफीकले २०२५ माराई फोटो ग्रान्टका लागि तयार गरेको फोटोग्राफी शृंखलामार्फत उजागर गरेकी छन् । २५ वर्ष वा सोभन्दा कम उमेरका दक्षिण एसियाली फोटोग्राफरहरूका लागि खुला यो ग्रान्टको यस वर्षको मुख्य विषयवस्तु ‘जलवायु परिवर्तन’ र यसले दैनिक जीवन तथा फोटोग्राफरहरूको समुदायमा पारेको प्रभावलाई केन्द्रित थियो ।
एजेन्सी फ्रान्स–प्रेस (एएफपी) ले दिवंगत काबुल ब्युरो प्रमुख तथा अफगान फोटोग्राफर शाह माराईको सम्झना र सम्मानमा यो पुरस्कार स्थापना गरेको हो । ४१ वर्षका माराई २०१८ अप्रिल ३० मा काबुलमा भएको आत्मघाती आक्रमणमा रिपोर्टिङका क्रममा निधन भएका थिए ।
महाराष्ट्रका बालिकाहरूले भोगिरहेको दैनिकीले जलवायु परिवर्तन अब केवल वातावरणीय संकट मात्र नभई शिक्षा, समानता र भविष्यसँग प्रत्यक्ष जोडिएको सामाजिक चुनौती बनेको स्पष्ट देखाउँछ ।