नेभिगेशन
विश्व

१०० वटा राफेल लडाकु जहाजका लागि युक्रेन र फ्रान्सबीच सम्झौता

युक्रेनले रुसी आक्रमणहरूमा आफ्नो रक्षा–क्षमता बढाउन फ्रान्समा निर्मित १०० वटा राफेल एफ–४ लडाकु जहाज र स्तरीय वायुसुरक्षा प्रणालीहरू प्राप्त गर्न फ्रान्ससँग सम्झौता गरेको छ ।

पेरिसनजिकैको एक वायुसेना क्याम्पमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग आशयपत्रमा हस्ताक्षर गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस कदमलाई ऐतिहासिक बताएका छन् ।

राफेल एफ–४ को वितरण सन् २०३५ सम्म पूरा हुने योजना छ । ड्रोनको संयुक्त उत्पादन यही वर्षबाट सुरु हुँदै छ । सोमबार म्याक्रोनसँग संयुक्त ब्रिफिङमा जेलेन्स्कीले भने, ‘अर्को वर्षबाट सुरु हुने र दश वर्षसम्म चल्ने यो एक रणनीतिक सम्झौता हो ।’

उनले युक्रेनले धेरै नै शक्तिशाली फ्रान्सेली रडार, आठवटा वायुसुरक्षा प्रणाली र अन्य उन्नत हतियारहरू पनि प्राप्त गर्ने बताए ।

विगत केही महिनामा रुसले युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमणहरू बढाएको छ, जसको लक्ष्य ऊर्जा तथा रेल पूर्वाधा मा क्षति गर्नुका साथै देशभर विद्युत् सेवामा अवरोध गर्ने गरेका छन् ।

यी आक्रमणहरूमा थुप्रै नागरिकको मृत्यु भएको छ, जसलाई किभ र पश्चिमी सहयोगीहरूले युद्ध– अपराधका रूपमा वर्णन गर्छन् ।

कतारमा बोल्दै म्याक्रोनले भने, ‘हामी १०० राफेलहरूको योजना बनाइरहेका छौं । यो ठूलो कुरा हो । युक्रेनी सेनाको पुनरुत्थानका लागि यही आवश्यक छ ।’

युक्रेनी रक्षा विश्लेषक सेर्ही कुजानले बीबीसीलाई भने, ‘रुसले प्रतिमहिना ६ हजार ग्लाइड बमहरू प्रयोग गर्दै छन् । २०० किलोमिटरसम्म प्रहार गर्न सक्ने फ्रान्सेली हावाबाट हावामा प्रहार गर्ने प्रणाली हासिल गर्नु महत्त्वपूर्ण हुनेछ, रुसीहरूसँग २३० किलोमिटरसम्म प्रहार गर्नसक्ने आफ्नै प्रणाली छ ।’

किभ र पेरिसबीचको यो घोषणा ठूलो भए पनि रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका जस्टिन ब्रोन्क भन्छन्, ‘यी जहाजहरूले कति फरक ल्याउँछन् भन्ने कुरा यिनको वितरणको समयसीमा र यिनसँग आउने मिसाइल प्रणालीहरूमाथि निर्भर गर्नेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्