नेभिगेशन
अर्थतन्त्र

पोखराबाट सिधै भुटानमा उडान

कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि भुटानमा सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि विभिन्न कारणले हुन नसकेको अवस्थामा मंगलबारदेखि उडान थालिएको हो ।

यसअघि असोज १२, १६, २० र २४ गते उडान गर्ने तालिका सार्वजनिक गरिएको थियो । भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिकरूपमा शुभारम्भ भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

भुटान एयर र नेपालस्थित प्रतिनिधि युनभर्सल टुर्स एण्ड ट्राभल्सको निमन्त्रणामा आफू पहिलो उडानमार्फत थिम्पु पुगेको महानगरपालिकाका प्रमुख आचार्यले जानकारी दिए । भुटानबाट पोखरा खाली आएको विमानले पोखराबाट नौ जना यात्रु बोकेर क्रु मेम्बरसहित पारो विमानस्थल पुगेको थियो ।

केही प्राविधिक कारणले पूर्वनिर्धारित टिमसहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने अपेक्षा राखेको आचार्यले बताए । बाँकी नियमित सिधा उडान २०२६ अप्रिलदेखि पुनः सुरु हुने छ ।

भुटान एयरलायन्स एक सय २६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानसहित ट्राभल्स प्याकेजसमेत बनाएको छ । सो प्याकेज चार रात र पाँच दिनको रहेको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडान सुरु हुनुले दुवै देशको पर्यटन प्रवर्धन सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । जसअनुसार यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नुपर्दैन ।

हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भुटान एयरलायन्सले सातामा चारवटा उडान भर्दै आएको छ । यसअघि गत असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । त्यस्तै सिचुवानले पोखरा–सिचुवान– अष्ट्रेलिया उडानको पहलसमेत गरिरहेको छ ।

हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौं– ल्हासा–पोखरा–ल्हासा–काठमाडौं जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो ।

हिमालयका साथै सिचुवान र भुटान एयरलाइन्सको उडान भएमा यसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्ने र विश्वका विभिन्न गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने विश्वास लिइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुस २०७९ मा उद्घाटन गरिएको थियो ।

तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल करिब २२ अर्ब लागतमा निर्माण भएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्