नेभिगेशन
प्रदेश

मधेसका सभामुख मण्डल पदमुक्त

महाभियोग प्रस्ताव प्रदेश सभामा दुई तिहाइले पारित

जनकपुरधाम । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग प्रस्ताव दुई तिहाइले पारित भएको छ । जनकपुरधाममा बुधबार बसेको बैठकमा महाभियोग पारित भएपछि सभामुख मण्डललाई पदमुक्त भएका छन् ।

प्रदेशसभा बैठकमा ७८ जना प्रदेश सांसदको उपस्थिति थियो । तिनमा ७६ जनाले महाअभियोगको प्रस्तावको पक्षमा मत दिएकाले दुई तिहाइले पारित भएको हो ।

दुई तिहाइका लागि ७२ जना प्रदेशसभा सदस्य चाहिएकामा त्यसभन्दा बढी भएकाले उक्त प्रस्ताव पारित भएको छ । प्रस्तावका विपक्षमा कुनै पनि मत नपरेको बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता राउत ईशरले प्रदेशसभाको बैठकमा घोषणा गरिन् । मण्डलले पदअनुसारको आचरण नगरेको भन्दै सात दलका ६४ जना प्रदेशसभाका सदस्यले गत कात्तिक २७ मा प्रस्ताव दर्ता गराएका थिए । कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति सभामुख मण्डलको विपक्षमा थिए ।

मत विभाजनका आधारमा महाअभियोग प्रस्तावमाथि छलफल तथा प्रदेशसभाको बैठकले निर्णय लिएका कारणले बुधबारकै मितिदेखि प्रदेशसभा नियमावली तथा नेपालको संविधानअनुसार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सभामुख पदबाट पदमुक्त भएको घोषणा उपसभामुख ईशरले गरिन् ।

सभामुख मण्डललाई पदमुक्त गर्ने प्रस्ताव कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले पेस गरेका थिए । सभामुख मण्डलले पदअनुसारको आचरण नगरेको भन्दै कात्तिक २७ गते उपसभामुख ईशरको तोक आदेशमा प्रदेशसभाका सचिव होमनाथ पहाडीले उक्त प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए । मधेस प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेशसभाका सदस्यहरूले प्रदेशसभाको बैठक बोलाउनका लागि मंगलबार उपसभामुखलाई आग्रहसहितको पत्र बुझाएका थिए । त्यसपछि बुधबार दिउँसोका लागि उपसभामुख ईशरले बैठक बोलाएकी थिइन् ।

बैठकमा धारणा राख्नेमा कांग्रेसका जीवछी यादव, जसपाका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, उपेन्द्र महतो, जवाहरलाल कुशवाहासहितका प्रदेशसभाका सदस्यहरू थिए ।

यसैगरी, बैठकमा प्रदेशसभाका पाँच जना सदस्यलाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बैठकको अध्यक्षता गरेकी उपसभामुख ईशरले पढेर सुनाएकी थिइन । मण्डलले प्रदेशसभाका ५ सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेका थिए । उक्त निर्णय कार्यान्वयनमा सर्वोच्चले रोक लगाएको थियो ।

प्रदेशसभा सचिव वासुप्रसाद कोइरालाद्वारा जारी सूचनामा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० बमोजिमको प्रस्ताव सोही नियमावलीको नियम १८२ को उपनियम (४) बमोजिम सभाको दुई तिहाइ बहुमतबाट पारित भई नेपालको संविधानको धारा १८२ को उपधारा (६) को खण्ड (ग) र नियमावलीको नियम १८२ को उपनियम (४) बमोजिम सभामुख रामचन्द्र मण्डल स्वतः पदमुक्त भएको उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश