नेभिगेशन
प्रदेश

गुगलले ल्यायो जेमिनी ३.०

जेमिनीले अब टेक्स्ट मात्र होइन, फोटो, भिडियो, अडियो र कोडलाई एकैपटक बुझ्न र प्रशोधन गर्न सक्छ । प्रयोगकर्ताले लामो भिडियो, त्यससँग सम्बन्धित थुप्रै कागजात र अडियो फाइल एकैपटक अपलोड गरेर प्रश्न सोध्न सक्छन् ।

काठमाडौं । सूचनाप्रविधि क्षेत्रको अग्रणी कम्पनी गुगलले आर्टिफिसियल इन्टेलिजेन्स नयाँ मोडल जेमिनी ३.० बुधबार सार्वजनिक गरेको छ । गुगलको डीपमाइन्ड टिमले विकास गरेको यो नयाँ प्रणालीलाई अहिलेसम्मकै उच्चतम क्षमताको एआईको रूपमा हेरिएको गुगलले जनाएको छ । यसले प्रयोगकर्ताका लागि काम गर्ने र सिक्ने तरिकामा धेरै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

यस्ता सेवामा गुगलका मुख्य प्रतिस्पर्धी ओपनएआइको च्याटजीपीटी, एक्सएआइको ग्रोक र माइक्रोसफ्टको कपीलट छन् । यी सबै प्लेटफर्महरूले प्रयोगकर्तालाई एआइको सेवा क्षेत्रमा विभिन्न विशेषतासहितका सुविधा दिइरहँदा गुगल आफ्नो बजार पकड खस्कन नदिन दबाबमा छ । त्यसैले नयाँ खोज तथा अनुसन्धानलाई तीव्रता दिइरहँदा जेमिनीको अझ विकसित संस्करण ल्याएको हो ।

जेमिनी ३.० को विशेषता यसको बहु–क्षमता हो । यसको अर्थ जेमिनीले अब पाठ (टेक्स्ट) मात्र होइन, फोटो, भिडियो, अडियो र कोडलाई एकैपटक बुझ्न र प्रशोधन गर्न सक्छ । उदाहरणका लागि, प्रयोगकर्ताले कुनै लामो भिडियो, त्यससँग सम्बन्धित कागजात र अडियो फाइल एकैपटक अपलोड गरेर प्रश्न सोध्न सक्छन् । जेमिनीले ती सबै जानकारीलाई संश्लेषण गरेर सटिक जवाफ दिनेछ ।

यसमा प्रयोगकर्ताले लामो ‘मेमोरी’ र गहिरो सोचको सेवा पाउने गुगलले जनाएको छ । यो नयाँ मोडलले एक पटकमा एक मिलियन (१० लाख) टोकनको कन्टेक्स्ट विन्डोसम्म ह्यान्डल गर्न सक्छ । यसको मतलब यो हो कि जेमिनीले एकैचोटि हजारौं पृष्ठका दस्तावेजहरू, पूरै किताब वा घण्टौं लामो भिडियोहरूलाई बुझेर सारांश निकाल्न सक्छ । यसले प्रयोगकर्तालाई जटिल अनुसन्धान र डाटा विश्लेषणमा सहयोग पुर्‍याउँछ । त्यस्तै, यसमा डीप थिंक नामक एक नयाँ सुविधा पनि थपिएको छ, जुन जटिल वैज्ञानिक अनुसन्धान, गहन विश्लेषण र जटिल कोडिङ कार्यहरूको लागि डिजाइन गरिएको छ । जेमिनी ३.० को पहुँच प्रयोगकर्ताले कसरी प्रयोग गर्न चाहन्छन् भन्नेमा निर्भर गर्दछ । गुगलले निःशुल्क र सशुल्क गरी दुईवटा विकल्प दिएको छ । जेमिनी एपको आधारभूत संस्करण गुगल अकाउन्ट भएका जो कोहीले पनि जेमिनी एपको स्ट्यान्डर्ड तह प्रयोग गर्न सक्छन् । यसमा जेमिनी ३.० का कोर क्षमताहरू उपलब्ध हुन्छन् र यो पूर्ण रूपमा निःशुल्क छ । गुगल सर्च र सामान्य कार्य, सामान्य सोधपुछ, छोटो लेखन र दैनिक कार्यहरूका लागि जेमिनीको पहुँच निःशुल्क रहने जनाइएको छ ।

गुगल एआइ प्रो/अल्ट्रा भने सितैं छैन । जेमिनीको सबैभन्दा शक्तिशाली र उच्च क्षमताहरू थ्री प्रो मोडल प्रयोग गर्नका लागि गुगल एआइ प्रो वा अल्ट्राको सब्स्क्रिप्सन लिनुपर्छ । यसमा प्रयोगकर्ताले उच्च प्रयोग सीमा (हाइयर लिमिट), लामो कन्टेक्स्ट विन्डोमा सहज पहुँच र जीमेल, डक्स, ड्राइभ जस्ता अन्य गुगल वर्कस्पेस एपहरूमा जेमिनीको प्रत्यक्ष उपयोग गर्न पाउँछन् ।

गुगलले नेपाललगायतका देशहरूमा गुगल एआइ प्लस जस्ता कम लागतका योजनाहरू पनि ल्याएको छ, जसले प्रयोगकर्तालाई सीमित रूपमा उच्च मोडलहरू र अन्य सुविधाहरू (जस्तैः गुगल वन स्टोरेज उपलब्ध गराउँछ । जेमिनी ३.० ले एआइको क्षमतालाई नयाँ उचाइमा पुर्‍याएको छ। सामान्य प्रयोगकर्ताका लागि आधारभूत क्षमताहरू निःशुल्क छन् भने उन्नत अनुसन्धान र व्यावसायिक कामाका लागि थप सुविधाहरू लिन सेवा सशुल्क छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश