कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ। जेनजी आन्दोलनमा जलेको सुदूरपश्चिम प्रदेशसभा भवन अझै मर्मत भइरहेको छ । बैठक कहिले बस्ने टुंगो छैन । आवश्यक उपकरणका लागि दातृ निकाय युएनडिपी र युएनएफपिएले प्राविधिक सामग्री सहयोग गरिरहेका छन् । २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनसहितका संरचना जलाइएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
प्रदर्शनकारीले प्रदेश सभा भवन, प्रशासनिक भवन, विषयगत समिति, संसदीय दलका कार्यालय र सवारी साधनहरूमा आगजनी गर्दै ठूलो क्षति पुर्याएको थिए । त्यसपछि अनिश्चितकालका लागि स्थगित गरिएको बैठक कहिले बस्ने भन्ने टुंगो अझै छैन । प्रतिपक्ष दलले तत्काल वैकल्पिक भए पनि प्रदेश सभा बैठक संचालन गर्नुपर्ने बताएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार युएनडिपी र युएनएफपिएले बैठक हलमा आवश्यक पर्ने माइक, टिभी, क्यामेरा लगायतका उपकरणको लागि ४३ लाख रुपैयाँ सहयोग गर्ने भएका छ । यस्तै, फल्ससिलिङका लागि सहरी विकासले १० लाख बराबरको लागत आकलन गरेको छ । बाँकी संरचना मर्मत तथा पुनर्निर्माणका लागि सचिवालयले फर्निचर बाहेक ५१ लाख रुपैयाँको इस्टिमेट निकालेको छ । भवनभित्र रहेका फर्निचर, प्राविधिक उपकरणलगायत सबै सामग्री जलेका कारण तत्काल उक्त भवनमा बैठक सञ्चालन गर्न सकिने अवस्था छैन । आगजनीमा जलेर ध्वस्त भएका संरचनाको पुनर्निर्माण तथा मर्मतमा समय लाग्ने भएकाले बैठक तत्काल सम्भव नभएको बताएका छन् । प्रदेशसभा हल पुनर्निर्माणमा काम अहिले चलिरहेको छ ।
प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार, क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माण र मर्मत सम्पन्न गर्न अझै कम्तीमा एक महिना लाग्ने देखिन्छ । पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको बैठक हल पुनर्निर्माणका लागि विभिन्न संघ–संस्थाको सहकार्यमा प्रक्रिया अघि बढाइरहेको बताइएको छ ।
आगजनी र तोडफोडबाट प्रदेशसभाको ९० प्रतिशत संरचना नष्ट भएको छ । मर्मत नगरी बैठक सञ्चालनको अन्य कुनै विकल्प नरहेका कारण प्रदेशसभा बैठकको सम्बन्धमा अझै एक महिना लाग्ने बताएको छ । मंसिरभित्रै पुनर्निर्माण काम पूरा गरी बैठक बोलाउने लक्ष्य राखिएको बोगटी बताउँछन् ।
सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीका अनुसार बैठक अवरुद्ध हुँदा प्रदेशको नीति निर्माण र निर्णय प्रक्रियामा गम्भीर असर परेको छ । प्रदेश सभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो । सबै काम समयमै पूरा भए प्रदेशसभा मंसिरभित्रै सञ्चालनमा आउने सम्भावना रहेको भण्डारी बताउँछन् ।