नेभिगेशन
विश्व

चीन–जापान तनाव चुलिँदा फिल्म प्रतिबन्ध

बेइजिङ । चीनले जापानमाथि आर्थिक र प्रशासनिक दबाब बढाउँदै सरकारी स्वामित्व भएका कम्पनीहरूका कर्मचारीलाई जापान नजान आदेश दिएको छ । चीनले जापान भ्रमण नगर्न सरकारी कर्मचारी र अन्यलाई सुझाव दिएको छ भने चिनियाँ सिनेमा हलमा रिलिजका लागि ठिक्क पारिएका जापानी फिल्महरूको प्रदर्शनमा समेत लगाइएको छ ।

चीनले पछिल्ला दिनमा यो कठोर कदम चाल्नुका पछाडि जापानी प्रधानमन्त्री सानाए ताकाइचीको भनाइबाट क्रुद्ध भएर हो । उनले ताइवानका विषयमा व्यक्त गरेको अभिव्यक्तिको प्रतिक्रिया स्वरूप यस्तो कदम चाल्न चीन बाध्य भएको समाचार पोर्टलहरूले जनाएका छन् । ताकाइचीले गत साता चीनले ताइवानमाथि आक्रमण गरे जापानले सैन्य हस्तक्षेप गर्न सक्ने संकेत दिएकी थिइन्। चीनले उक्त भनाइलाई ‘गम्भीर उक्साहट’ र ‘अस्तित्वगत खतरा’ सूचक टिप्पणी भनेको थियो ।

यो अवस्थालाई चीन–जापान सम्बन्धमा पछिल्ला वर्षहरूको सबैभन्दा नाजुक मोड मानिएको छ। पाँच वर्षअघि जापानी नेता सिन्जो आबेले पनि ताइवानको सुरक्षालाई ‘जापानका लागि खतरा’ भन्दै अभिव्यक्ति दिएका थिए । त्यो बेला पनि दुवै देशबीच कटुता चुलिएको थियो। यो संघर्षको केन्द्रमा ताइवान छ । यसलाई चीनले आफ्नै भूभाग माने पनि जापानले प्रष्ट रूपमा ‘रणनीतिक असमानता’का रूपमा हेर्दै आएको छ। ताइवान जलडमरूमा कुनै पनि अस्थिरता जापानका लागि सुरक्षा जोखिममा परिणत हुने जापानको तर्क छ। चीन भने ताइवानलाई आफूमा गाभ्न बल प्रयोग गर्नसमेत तयार रहेको बारम्बार बताउँदै आएको छ ।

हालै शाङ्घाइ, झेजियाङ र हूनान प्रान्तका चार अलग– अलग सरकारी स्वामित्वका कम्पनीका कर्मचारीहरूले सबै जापान भ्रमण रद्द गर्न निर्देशन पाएको पुष्टि गरेका छन्। गत हप्ता आएको सरकारी चेतावनीपछि माथिल्लो व्यवस्थापनले कुनै पनि भ्रमणको स्वीकृति नदिने बताएका छन् । झेजियाङस्थित एक कम्पनीले ‘दुवै देशबीच बढ्दो तनाव’ लाई औपचारिक कारण बताउँदै सबै व्यक्तिगत यात्रा आवेदकहरूको प्रक्रिया नै रोकिएको जनाएको छ। शाङ्घाइस्थित सरकारी प्रकाशन संस्थाका एक कर्मचारीका अनुसार, ‘अलि लुकाएर भए पनि जापान गएमा पनि परिणाम भोग्नुपर्ने’ चेतावनी दिइएको छ ।

पर्यटन र मनोरञ्जन क्षेत्रमा पनि प्रभाव देखिन थालेको छ । एउटा लोकप्रिय अनलाइन फिल्म ट्र्याकिङ प्लेटफर्मका अनुसार आगामी तीन हप्तामा रिलिज हुनुपर्ने दुई जापानी एनिमेसन फिल्महरू ‘क्रेयोन शिन–चान द मुभीः सुपर हट !’ ‘द स्पाइसी कासुकाबे डान्सर्स’ र ‘सेल्स एट वर्क !’ जस्ता फिल्मको प्रदर्शन स्थगन गरिएको छ ।

यी निर्णयहरूको प्रभाव जनस्तरमा मात्र सीमित छैन । चीन–जापानबीचको शैक्षिक तथा कूटनीतिक संवादको प्रमुख मञ्च मानिने बेइजिङ–टोक्यो फोरम पहिलोपटक सन् २००५ यता स्थगित भएको छ । यो स्थगनले दुई देशबीचको सम्बन्ध कति तल झरेको छ भन्ने संकेतका रूपमा हेर्न थालिएको छ ।

यो भूराजनीतिक तनावको ऐतिहासिक पृष्ठभूमि झनै गहिरो छ । दोस्रो विश्वयुद्धपछि जापानले अमेरिकासँग सुरक्षा साझेदारी बनाएको र ताइवानलाई रणनीतिक बफर क्षेत्रका रूपमा हेर्ने जापानी नीतिले चीनलाई सधैं शंकालु बनाइरह्यो । सन् १९७२ पछि दुई देशले कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेका भए पनि सेनकाकु/दियाओयू द्वीपसमूह विवाद, क्षेत्रीय शक्ति प्रतिस्पर्धा र ताइवानको भविष्य जस्ता संवेदनशील विषयहरूले सम्बन्धलाई सधैं गर्माउने गरेको छ । हालै जापानी राजनीतिक नेतृत्वले ताइवान सन्दर्भमा ‘स्पष्ट सुरक्षा संलग्नता’को संकेत दिन थालेपछि चीनले यसलाई आफ्नो क्षेत्रीय प्रभुत्वमा चुनौतीका रूपमा बुझ्दै कडा प्रतिक्रिया दिइरहेको छ । बेइजिङले बारम्बार ताइवानको प्रश्न ‘आन्तरिक मामला’ भएको बताइरहेको छ भने कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताइरहेको छ ।

यात्रा प्रतिबन्ध, सांस्कृतिक अवरोध, फिल्म रोक्का र कूटनीतिक संवाद स्थगनजस्ता कदमले चीन–जापान सम्बन्ध सन् २०२० को दशकमा पुनः सबैभन्दा तनावपूर्ण मोडमा पुगेको संकेत गरिरहेको विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्