नेभिगेशन
अर्थतन्त्र

कर्णालीका दुर्गम क्षेत्रमा इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट बस्तीहरूमा टुजी र फोरजी सेवा विस्तार गरेको छ । टेलिकमले हुम्ला, दैलेख, जाजरकोट र डोल्पाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।

हुम्लाको सर्केगाड गाउँपालिकामा टुजी र फोरजी सेवा सञ्चालनमा आएसँगै उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा र सर्केदेउ गाउँ पहिलो पटक आधुनिक दूरसञ्चार सेवामा जोडिएका छन् । यसैगरी, अदानचुली वडा नम्बर ६ मा सेवा विस्तार भएपछि सर्केगाड वडा नम्बर २ र अदानचुली गाउँपालिकाका वडा २ देखि ६ सम्मका विभिन्न बस्ती, पानचौर र कालिका क्षेत्रमा पनि इन्टरनेट सेवा उपलब्ध भएको छ ।

दैलेखको गुराँस गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएपछि गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला तथा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ को बयलकाँडा र बराहताल वडा नम्बर ९ को लेकगाउँ पनि सञ्चार सुविधामा जोडिएका छन् ।

जाजरकोटको जुनीचांदे गाउँपालिकाको कोत्राङमा टुजी र फोरजी सेवा सुरु भएपछि त्यस क्षेत्रका बस्तीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस्तै, डोल्पामा मिदग्ती लेकस्थित फोरजी टावर सञ्चालनमा आएसँगै फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारी तथा शे– फोक्सुन्डो निकुञ्ज कार्यालय क्षेत्र पनि अब दूरसञ्चार सेवामा पहुँचका साथ जोडिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र