नेभिगेशन
अर्थतन्त्र

क्यासिनोमाथि थप कानूनी कडाइ

काठमाडौं । देशभर सञ्चालनमा रहेका क्यासिनोलाई थप पारदर्शी, व्यवस्थित र कानूनी दायरामा ल्याउन सरकारले निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले १२ बुँदे कडा निर्देशन जारी गर्दै क्यासिनोहरूमा वैधानिक अनुशासन सुनिश्चित गर्न आग्रह गरेको छ ।

निर्देशनअनुसार सबै क्यासिनोले सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी कानूनी प्रावधानलाई पूर्णरुपमा पालना गर्नुपर्नेछ । विदेशी मुद्रा कारोबारमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई कुनै पनि रूपमा कारोबार नगर्न चेतावनी दिएको छ ।

क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी भएको निर्देशन बमोजिमको विवरण नियमित रुपमा बुझाउन पनि विभागले भनेको छ । साथै, क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्रिक विवरणहरू तोकेअनुसार अद्यावधिक गरी विभागले माग गरेको अवस्थामा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरेको छ ।

यस्तै, क्यासिनो परिसरका सबै गतिविधि अनिवार्य रूपमा सीसीटीभीमा रेकर्ड गर्नुपर्ने र ती अभिलेख कम्तीमा छ महिना सुरक्षित राख्न भनेको छ । तेस्रो पक्षमार्फत क्यासिनो सञ्चालन गर्ने, वा अनुमति पाएको स्थान बाहेक अन्यत्र क्यासिनो सञ्चालन गर्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

खेलाडीले जितेको रकम वितरण गर्नुअघि प्रचलित कानुनअनुसार आकस्मिक लाभ कर अग्रिम कट्टी गर्नुपर्नेछ । कट्टी गरिएको करको प्रमाणपत्र खेलाडीलाई उपलब्ध गराई तत्काल सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा विवरण पठाउने र त्यसको प्रतिवेदन विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । इन्टरनेट तथा अनलाइनमार्फत जुवातास खेलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । क्यासिनो तथा होटल परिसरभित्र र बाहिर पर्याप्त सुरक्षाको व्यवस्था गर्नुपर्ने विभागले स्पष्ट पारेको छ । साथै, नेपाललाई ग्रे लिस्टबाट हटाउन आवश्यक सुधारात्मक गतिविधिको कार्यान्वयनमा कडाइ हुने र अनुगमनका क्रममा कमी कमजोरी फेला परेमा तत्काल कानुनअनुसार कारवाही गरिने चेतावनी समेत दिइएको छ ।

सरकारको यो कदमले क्यासिनो व्यवसायलाई व्यवस्थित बनाउने, अवैध वित्तीय गतिविधि रोकथाम गर्ने र समग्र पर्यटन क्षेत्रको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्