नेभिगेशन
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सरेको सर्‍यै

महाधिवेशनको मितिकै गोलचक्कर

काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नै महाधिवेशनको मिति तय गर्ने विषयमा महिना बितिसक्दा पनि अनिर्णीत हुन पुगेको छ । जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिका कारण कांग्रेसका करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । तर, उक्त हस्ताक्षरबारे बैठक कुनै निर्णयमा पुग्न सकेको छैन ।

केन्द्रीय समिति बैठक सुरु भएको ३७ दिनसम्म बैठक कुनै निष्कर्षमा पुग्न नसक्दा पार्टीभित्र आन्तरिक कलह चुलिएको छ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ गते निर्वाचनको घोषित मितिभन्दा अगाडि नै पार्टीको १५औं महाधिवेशन हुनुपर्ने माग राखिरहेका छन् । सके नियमित र सम्भव नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्नेमा उनीहरूले जोड दिँदै आएका छन् ।

संस्थापन पक्ष भने सकभर टार्ने प्रयासमा छ । केन्द्रीय समिति अनिर्णीत भइरहँदा पार्टीका विभिन्न समूह र गुटहरू सक्रिय भएका छन् । छुट्टाछुट्टै भेला र बैठक गरिरहेका छन् ।

सर्तसहित नियमित महाधिवेशनको प्रस्ताव

केन्द्रीय समिति बैठक निरन्तर अनिर्णीत भएपछि सभापति शेरबहादुर देउवाले चासो राखेका छन् । देउवाले आफू पक्षका नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिमार्फत महामन्त्री थापा र शर्मासँग पुसमै नियमित महाधिवेशन गर्नेगरी प्रस्ताव पठाएका छन् । जसमा पुस मसान्तभित्रै महाधिवेशन गर्ने गरि मिति तोक्ने तर, त्यसअघि केही सर्त अघि सारिएको महामन्त्री निकट स्रोतले बतायो ।

विशेष महाधिवेशनका लागि दर्ता भएको निवेदन फिर्ता लिनुपर्ने, निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन गर्न बन्ने समितिको संयोजक र बहुमत सदस्य संस्थापन पक्षबाट हुनुपर्ने, क्रियाशील सदस्यता वितरण समितिमा अरू सदस्यहरू समेत थपिनुपर्ने मागमा महामन्त्रीहरू सहमत नहुँदा बिहीबारको केन्द्रीय समिति बैठक बस्न सकेन । कांग्रेसका महामन्त्रीको सचिवालयले भन्यो, ‘सर्तसहितको प्रस्तावले नियमित महाधिवेशन गर्ने नदेखिएपछि त्यस्तो प्रस्तावमा महामन्त्रीहरू सहमत हुनभएन । विशेष महाधिवेशनमै जाऔं भन्ने महामन्त्रीहरूको अडान रह्यो ।’ वार्ता जारी रहेकाले नियमित महाधिवेशनको च्याप्टर नै क्लोज नभए पनि चुनाव अघि नियमित महाधिवेशनको सम्भावना टर्दै गएको उनले बताए ।

चुनावअघि महाधिवेशन नगर्ने र अलमलाउने खेल भएको भन्दै महामन्त्री पक्षधर अब विशेष महाधिवेशनमा जानुपर्ने बताउँछन् । ‘५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाइसकेकाले अहिले केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशन गर्दा नै उपयुक्त हुन्छ ।

अहिले बैठक लम्बाउने र मिति तोके पनि चुनाव अघि महाधिवेशन हुन नसक्नेगरी तोक्न खोजिएको आशंका छ,’ महामन्त्री निकट रहेकी केन्द्रीय सदस्य प्रतिमा गौतमले भनिन् ।

सभापति निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने सहमति जुटाउने प्रयास भइरहेको बताए । प्रचार विभाग प्रमुखसमेत रहेका संस्थापन निकट केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वसम्मतरूपमा केन्द्रीय समितिबाट महाधिवेशनको निर्णयका लागि छलफल जारी राख्नुभएको छ ।’

बैठक सरेको सरेकै

कांग्रेसको केन्द्रीय समिति बैठक ३७ दिनदेखि जारी छ । असोज २७ गतेबाट सुरु भएको बैठक पटक–पटक मिति तोक्दै र स्थगन गर्दै चलिरहेको छ । कात्तिक २७ गतेपछि बैठक बसेको छैन । कात्तिक २ ९ गते दिउँसो २ बजे बस्नेगरी सकिएको बैठक बिहीबार पनि बसेन ।

कात्तिक २९ गते बस्ने भनिएको बैठक मंसिर १ गतेका लागि सारिएको थियो । पुनः मंसिर १ को बैठक कात्तिक ३० गते सूचना जारी गर्दै मंसिर ४ मा बस्ने भन्दै सूचना जारी भयो । तर, मंसिर ४ गते पनि बैठक बस्न सकेन । मंसिर ६ गते शनिबार १ बजे बस्नेगरी नयाँ मिति तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा गगनको घुर्की

कांग्रेसमा गगनको घुर्की

मुठभेडतर्फ एमाले

मुठभेडतर्फ एमाले