नेभिगेशन
प्रदेश

चन्दाले तंग्रियो कास्की प्रहरी, सरकारलाई छैन वास्ता

पोखरा । गत भदौ २४ गते जेनजीका नाममा भएको विध्वंशले ध्वस्त भएका अधिकांश सरकारी कार्यालय अझै पनि छोपिएर राखिएको छ । तर कास्की जिल्ला प्रहरी कार्यालय भने पुरानै अवस्थामा फर्किएको छ । तर यसमा सरकारको एक रुपैयाँ पनि लगानी छैन । बिना सरकारी बजेट कसरी तंग्रियो त कास्की प्रहरी ?

टेवल हेर्‍यो सौजन्य, कुर्सी हेर्‍यो सौजन्य, दराजमा पनि लेखिएको छ, सौजन्य । कम्प्युटर होस् या प्रिन्टर, त्यसमा पनि सौजन्य नै लेखिएको छ । कार्यालयमा भएका हरेक समानमा सौजन्य लेखिएको यो भाग्यमानी सरकारी कार्यालय हो जिल्ला प्रहरी कार्यालय कास्की । गत भदौ २४ गते जेनजीका नाममा भएको विध्वंशले खण्डहर बनेको जिल्ला प्रहरी कार्यालयको भवन अहिले पुरानै लयमा फर्किएको छ ।

कास्कीका अन्य सरकारी कार्यालयको खण्डहर भने हरिया पालले छोपेर राखिएको छ । अन्य कार्यालयको अवस्था खण्डहर भए पनि कास्की प्रहरीको कार्यालय कसरी लयमा फर्कियो भन्ने लाग्ला ।

सुरक्षा निकायको कार्यालय अति आवश्यक भनेर सरकारले बजेट पठाएर तंग्रिएको भने हैन । कास्की प्रहरी कार्यालय पुरानै अवस्थामा फर्कनुमा कस्केली संघसंस्था र जनताको चन्दाको भूमिका छ ।

त्यसैले त कार्यालयका हरेक फर्निचरदेखि सबैजसो सामग्रीहरूमा सौजन्य लेखिएको छ । हुन त प्रहरीले कार्यालयमा भएको सबै क्षति विवरण गृह मन्त्रालयमा पठाइसकेको छ । तर कार्यालय पुनर्निर्माण गरी संचालन गर्न कत्ति पनि बजेट पठाएको छैन । त्यसैले बरु जनताले नै सहयोग गरेर जिल्ला प्रहरी कार्यालयलाई पुरानै अवस्थामा फर्काइदिएका छन् ।

कार्यालयको भवन, फर्निचर र अन्य आवस्यक सामान जनताको सहयोगले प्राप्त गरेर कार्यालय संचालन भए पनि प्रहरीको लागि आवश्यक हात–हतियार, सवारी र उपकरणको भने अझै अभाव रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरि बहादुर बस्नेत बताउँछन् । सामग्री अभावका कारण कार्यालयबाट हुने कामबाहेक अन्य शान्ति सुरक्षाका काम भने पुरानै अवस्थामा फर्किन सकेको छैन । देशको प्रमुख निकाय हो, प्रहरी प्रशासन । तर त्यही निकायको पुनर्निर्माण गरी संचालन गर्न नसक्नु सरकारको लाचारीपन भएको नागरिक अभियन्ता मोती भुजेलको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला